जीउँदो लाश
यो हो जीउँदो लाश !
यद्यपि कि छ यसमा सास,
सेन्ट र अत्तरले गन्ध लुकाई
छरिरहेछ यो बतास !
यो हो जीउँदो लाश !!
सद्दे जीउँदो लाश !!!
जसलाई बेह्रन
हजारौं यहाँ मिल खुले :
यो प्रगतिको प्रतीक ।
रूस र अमेरिकाले सहायता दिए :
यो प्रेमको प्रतीक !
जसको बेह्राइले तर
यसभित्रका कयौं कहानी
आज त्यसै छिपे ।
छोपिएका छन्,
छिपिएका छन्—
भित्र त्यसमा
वास्तविक जो छन् रूप,
घाम–पानीको पनि
स्पर्शानुभव हुन सकेको छ,
या छैन, भन्न सकिन्न ।
यद्यपि कि छ यसमा सास !
यो हो जीउँदो लाश !!
सद्दे जीउँदो लाश !!!
बाबु यसको विज्ञान,
तर आमा उही प्रकृति,
सत्यानाश !
कृत्रिम प्रजननले जन्माएको यो
आधुनिक सभ्यताको गर्वाभास ?
मिल्क पाउडरले हुर्काएको
हेर, कति उदास !
यद्यपि कि छ यसमा सास !!
यो हो जीउँदो लाश !!!
शरीर यसको विनिर्मित—
ढाली साँचोमा ः
जनमनको निवास ।
आजको सरकार जस्तै
वैयक्तिकताको उपहास ।
कत्रो यसको विकास !
सिद्धान्त यसको—नवनीत,
परिभाषा होइन—अतीत,
कत्रो यसको साहस !
यद्यपि कि छ यो—
बीच यही धरती–आकाश !
यो हो जीउँदो लाश !!
सद्दे जीउँदो लाश !!!
०००
भन्दछ मानिस—जीवन
तर,
भन्दछ मानिस— जीवन !
मलाई त लाग्छ अर्कै—
कि यो त कुनै मुटु भएको सबमेरिन हो ।
हजारन् शेलहरू लिई
यो बढिरहेछ अघि
मायाको सागरभित्र–भित्रै
संहार गर्न कसैलाई ।
तर कसलाई ?
यो आफैं जान्दैन ।
आजसम्म
बनाउनभन्दा यसले
आएको छ बिगार्दै ।
मायाका प्रबल स्रोतहरू,
जो यसलाई पार्न खोजिरहेछन् विध्वस्त
बनाइरहेछन् साधन
उल्टो यसैले त्यसलाई ।
तर हेर,
आफू यो खोक्रो छ !
यदि भरिए यो
अहो ! डुब्छ सधैँलाई ।
डुब्छ सधैँलाई
यसैले त हेर यहाँ,
यो त्यहीदेखि वञ्चित छ;
जसमा निर्भर छ यो ।
तर,
भन्दछ मानिस—जीवन ।
मलाई त लाग्छ अर्कै—
कि यो त कुनै मुटु भएको सबमेरिन हो ।
(प्रा. लक्खीदेवी सुन्दासद्वारा सम्पादित ‘गुमानसिंह चामलिङका केही कविता’ बाट ।)