यो क्रिया र प्रक्रिया पनि पूरक रहेछ
जब सपनाले क्रिया देख्छ, अनि सुरु हुन्छ प्रक्रिया
केही आसले बुनेको सपनालाई
क्रियासँग भौँतारिँदै, प्रक्रियासँग जुध्दै
विपनामा परिणत गर्न सकिएला ?
जसरी बुनिन्छ परालले गुन्द्री
सियोले सयपत्री फूलका माला
मच्चिन नाइलनको डोरी
हो,
त्यसैगरी म आज एउटा सपना बुनिरहेको छु ।
कुन दिन टुट्छन् थाहा छैन सपना
कुन दिन फुट्छन् थाहा छैन विपना
नटुटून् र नफुटून् भन्नका निम्ति
म निरन्तर गरिरहेको छु कामना ।
क्रिया पूरा गर्न म आज कोरिया आएको छु
थाहा छैन, कोरियामा को किन आइरहेको छ !
लाग्छ, कुन दिन मैले क्रिया गर्दै गर्दा
न कसैले मेरै कृया त गर्न पर्दैन ?
के हुन्छ भन्ने भरविनाको जीवनमा
केही होस् भन्ने चाहना बटुल्दै
म आएको यो देशमा
मलाई पिरोलिरहेको छ हर साँझ
अनि, गलाइरहेको छ मन–मस्तिष्क
कतै मेरो यही देशमा केस त झर्दैनन् ?
साँच्चै, यो चिन्ता पनि कस्तो !
कुन बेला लाग्छ,
अनि कुन बेला भाग्छ, भरै नहुने !
नचाहँदा नचाहँदै पनि किन चिन्ता लाग्छ ?
जवाफ म आफैँलाई आफैँले सोधिरहेको छु
खोजिरहेको छु चिन्ताबिनाको बाटो,
किनकि मलाई त्यहाँ पुग्नुछ
जहाँ कोही चिन्तित नहोस्
आफू आफैँमा हन्डर खाँदै
आफैँलाई सान्त्वना दिँदै
न थाक्दै न गल्दै
बस्, चल्दै ।
गन्तव्यका गल्लीहरू खोल्दै
छुट्टिएर परिवारसँग
टाढिएर स्वदेशसँग
भौँतारिँदै परदेशमा
आज खोजिरहेछु मेरा सपना
सम्झिरहेछु बितेका बाल्यकाल
अनि, आतुर छन्
पाउन सफलता ।