काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासहितको टोली अहिले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पुगेको छ । टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा निरीक्षण गरिरहेको सो कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिए ।
बुधबार बरामद गरिएको ठूलो परिमाणको सुनका विषयमा बुझ्न टोली त्यहाँ पुगेको हो । रेडी ट्रेडलिंक बूढानीलकण्ठका नाममा हङकङबाट सो सुन ल्याइएको थियो ।
सोही कम्पनीले ल्याइएका अरू केही सामान कार्गो भवनमा रहेको र त्यसबारे बुझ्ने काम भइरहेको प्रवक्ता खनालले बताए ।
राजस्वकै टोलीले सो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । अनुमानित १०० किलो सुन बरामद गरिएको हो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।