site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजलासमा प्रश्न– कानुन त सबैलाई बराबर होला नि !

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अभियुक्तहरुको तर्फबाट थुनछेक बहसको पाँचौँ दिन हो । पाँचौँ दिनसम्म कानुन व्यवसायीले आफ्नो पक्षको प्रतिरक्षा गर्दै बहस गरेका छन् । बहसमा आफ्नो पक्षको प्रतिरक्षामा लगभग सबै कानुन व्यवसायीले उठाएको विषय हो– बयानको क्रममा पोलिएका अन्य व्यक्तिका नाम ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस भइरहेको छ ।

गत सोमबार अभियुक्तमध्येका पूर्वगृहसचिव टेकनारायण पाण्डेका तर्फबाट रमण श्रेष्ठले बहस गरेका थिए । उनले अर्का अभियुक्त केशव दुलालको बयानकै आधारमा पाण्डेलाई पक्राउ गरी मुद्दा चलाइएको तर अन्य व्यक्तिहरुको सम्बन्धमा भने बयानमा पोले पनि कुनै कारबाही अगाडि नबढेको बताएका हुन् ।

सहअभियुक्तको बयानकै आधारमा मुद्दा चलाउनु पर्ने भए बयानमा पोलिएका अन्यलाई मुद्दा नचलाइनुको कारण के हो भन्दै श्रेष्ठले प्रश्न उठाए । उनले केशव दुलालको बयानमा केपी ओलीका स्वकीय सचिव राजेश बज्रचार्य र अजयक्रान्ति शाक्यको नाम पनि आएको बताए । उनले ‘दुलालले बयानमा उल्लेख गरेको राजेश बज्राचार्य, अजयक्रान्ति शाक्य, प्रेम राईविरुद्ध किन मुद्दा चलेन ? कानुन त सबैलाई समान होला नि ?’ भन्दै प्रश्न गरे ।

केशव दुलालले सरकारी वकिलसमक्ष दोस्रो बयानमा पाण्डेलाई पोलेका थिए । त्यस्तै, तेस्रोपटकको बयानमा रामबहादुर थापा ‘बादल’, प्रेमकुमार राई,  राजेश बज्राचार्य, अजयक्रान्ति शाक्यलाई समेतलाई पोलेका थिए । तर दुलालले तेस्रोपटकको बयानमा पोलेका व्यक्तिहरुलाई भने अनुसन्धान वा कारबाहीको दायरामा ल्याइएको छैन ।

पूर्वमहान्यायाधिवक्ता समेत रहेका श्रेष्ठले आफ्ना पक्ष पाण्डेलाई पनि पोलिएकै आधारमा मुद्दा चलाउनु नपर्ने तर्क राखेका हुन् ।

त्यस्तै, अभियुक्तमध्येका रामशरण केसीको तर्फबाट प्रस्तुत भएका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भने बयानका क्रममा पोलिएका व्यक्तिहरुलाई अदालतबाट प्रतिवादी कायम गराउन माग गरेका थिए ।

केसीको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता न्यौपानेले यस मुद्दाको आफै पीडित भएको जिकिर लिएका थिए । न्यौपानेले केसी आफै भुटानी शरणार्थी बनी अमेरिका जान तयार भएर रकम बुझाएको दाबी गरेका छन् । 

उनले यस प्रकरणमा बयानको क्रममा पोलिएका व्यक्तिविरुद्ध भने मुद्दा नचलाउने तर आफ्ना पक्ष, जो आफै पीडित हुन्, उनीहरुमाथि मुद्दा चलाउने प्रवृत्तिलाई कटाक्ष गरे । “मुद्दामा मुछिएका हाई–प्रोफाइललाई छाड्ने, तर साना व्यक्तिहरुलाई अनाहक मुद्दा चलाउनाले ‘जो होचो, उसकै मुखमा घोचो’ भएको छ,” न्यौपानेले भने ।

उनले इजलासबाटै प्रतिवादी कायम गर्न मिल्ने हुँदा एक महिनाभित्र पोलिएका व्यक्तिहरुलाई अभियोजन दायर गराउन माग गरेका हुन् । न्यौपानेले अभियुक्तमध्येका टेकनाथ रिजालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतलाई उल्लेख गरेको बताउँदै पोलिएका सबै व्यक्तिलाई यस मुद्दामा अभियोजन गर्न माग गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro