राजेन्द्र खनाल ‘क्षितिज’
लमतन्न छन् हाम्रा कुम्भकर्णहरू
थाहा छैन, मस्त निन्द्रामा छन् वा
निदाएको झैँ नाटकमा
त्रेतायुगका ती विशालकाय कुम्भकर्ण
छ महिना सुत्थे
अनि
एक दिन उठ्थे
भकुरेर लाखौँले खाने खाना
एक्लै खान्थे
अनि फेरि सुत्थे
विचरा, वर माग्ने बेलामा मुख चिप्लियो
भन्न चाहेका थिए ‘इन्द्रासन’, भनियो ‘निन्द्रासन’ ।
यता कलियुगका कुम्भकर्णहरू
असंख्यक कुम्भकर्णहरू
ढ्याउ आउने गरी भकुर्नु भकुरेर
सधैँ लम्पसार र लमतन्न देखिन्छन्
देशको भूगोल साँघुरिँदा पनि
तुइन काटिएर अकालमा ज्यान गए पनि
बुल्डोजर चलाएर आमाको छाती चिरिए पनि
चुइँक्क बोली फुट्दैन
न नेता चुइँकिन्छन्
न त जनता नै चुइँकिन्छन्
धन्न देशको नक्साचैँ
अलिकति भए पनि च्वास्स चुइँकिएको छ !
उठ कुम्भकर्णहरू उठ
जुर्मुराएर उठ
हातमा खुकुरी र खुँडा
तिखारेर उठ
बुलन्द आवाज बोकेर उठ
यो देश अति कष्टसहित
हाम्रै पुर्खाले आर्जेको
तिम्रो, हाम्रो अनि भावी पुस्ताको हो
हामीले पनि सग्लो चिरारहित
स्वच्छ, कञ्चन, पुण्य यो शान्तिभूमि
हाम्रा भावी पुस्तालाई सुम्पिनु छ ।
त्यसैले हे लमतन्न र लम्पसार परेका कुम्भकर्णहरू
अब त डकार आउन पनि छोडिसक्यो होला
समयले डाँडा नकाट्दै उठ
होस्टेमा हैँसै गर्दै जुर्मुराएर उठ
बुलन्द आवाज गर्जाउँदै उठ ।
(विजयपुर, धरान । हाल : मालीगाँउ)