site stats
बाह्रखरी :: Baahrakhari
देश
मुगु हिमपहिरोमा पुरिएकाहरूको उद्धार आजदेखि
फाइल तस्बिर

कर्णाली । कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेकाहरूको खोज उद्धार आजदेखि गर्ने भएको छ । 

हिजो ढिलो भएकाले प्रदेश सरकारले आजबिहान हेलिकोप्टरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको खोज उद्धार टोली घटनास्थलमा पुर्याउने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले घटनाका बारेमा तत्काल जानकारी हुन नसकेकाले खोज उद्धार कार्यमा ढिलाइ भएको बताए । 

Argakhachi Cement Island Ad

“हामीले मुगु प्रशासनबाट त्यहाँको यथार्थ विवरण मागी आइतबार सुरक्षा समितिको बैठक बसेर हेलिकोप्टर तयारी अवस्थामा राखेका छौँ”, उनले भने, “सोमबार सुर्खेतदेखि नेपाली सेनाको हेलिकोप्टरमार्फत औजारसहितको उद्धार टोली सुर्खेतबाट मुगु गमगढी र त्यसपछि घटनास्थलतर्फ जानेछ ।” हेलिकोप्टर आइतबार बेलुकी पठाउँदा राति हुने र उद्धार कार्यमा असहज बन्ने भएकाले सुर्खेतमै अवतरण गरिएको मन्त्री जिसीले जनाए । 

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले घटना वैशाख २२ गते दिउँसो २ बजे भए पनि मृतकसँग गएका प्रत्यक्षदर्शीहरूले शनिबार साँझ मात्र जानकारी दिएकाले उद्धार कार्यका लागि सूचना दिन ढिलाइ भएको बताए । प्रत्यक्षदर्शीहरूको भनाइ उदृत गर्दै प्रजिअ थापाले उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीको हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएको बताए । 

उनका अनुसार जेठ ४ गते यार्सागुम्बा संकलनका लागि त्यहाँको पालिकाले खुला गर्ने भनिए पनि पातारासीबाट १४ र मुगु छायाँनाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेको थियो । शव हिउँमै रहेको बताइएको छ । घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । रासस

 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्