site stats
देश
करारका कर्मचारी हटाइँदा केन्द्रदेखि स्थानीय तहसम्मै स्वास्थ्य सेवा प्रभावित 
फाइल तस्बिर ।

काठमाडौं । नयाँ आर्थिक वर्षसँगै स्वास्थ्य संस्थाहरूमा करारका जनशक्ति हटाइँदा देशभरको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

विशेषगरी ग्रामीण क्षेत्रमा सञ्चालित स्वास्थ्य संस्थाहरूमा कर्मचारी हटाइँदा नागरिक सेवाबाट वञ्चित भएका छन् । काठमाडौंभित्रकै अस्पतालहरूमा समेत स्थायी जनशक्तिको व्यवस्थापन नगरी करारका कर्मचारी हटाइँदा महत्वपूर्ण सेवाहरू समेत बन्द भएका छन् । 

करारका कर्मचारी हटाइँदा धमाधम बन्द हुँदै स्वास्थ्य संस्था

S.A.U
Agani Group

गत असार ३१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ६४९ स्थानीय तहमा सञ्चालित कोभिड १९ अस्थायी अस्पतालहरूमा करारका कर्मचारी हटाउने निर्णय गर्‍याे । सो निर्णयसँगै साउन १ गतेदेखि अस्थायी अस्पतालहरूमा कार्यरत कर्मचारीका लागि पारिश्रमिक नपठाउने समेत स्थनीय तहहरूलाई पत्राचार गर्‍याे । 

मन्त्रालयको यो निर्णयको असर अहिले केन्द्रदेखि स्थानीय तहसम्म नै परेको छ । 

Global bank

कोभिडकालमा कुर्सीमा समेत राखेर संक्रमितको उपचार गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साउन १ गतेदेखि ६८ जना करारका कर्मचारी कटौती गरिएसँगै पुरानो २४ वटा आईसीयू बेडमध्ये २१ बेड र रेबिजविरुद्धको इमुनोग्लोबुलिन खोप सेवा रोकिएको छ । 

अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार ७४ जनाको कोभिड दरबन्दीमा ६८ जना कार्यरत थिए, ती कर्मचारी आईसीयू, पीसीआर परीक्षणसम्म खटाइएको थियो । 

पूर्वी नेपालको सबैभन्दा ठूलो विराटनगरस्थित कोशी अस्पतालको एचडीयू वार्ड बन्द भएको छ । अस्पतालमा कार्यरत करारका ३१ जना स्वास्थ्यकर्मीको म्याद थप नगरेपछि अस्पतालको एचडीयू वार्ड बन्द भएको हो । 

यता गोरखाको गण्डकी गाउँपालिकामा करारका सबै कर्मचारी हटाएपछि पालिकाभित्रका स्वास्थ्य ईकाइहरू बन्द भएका छन् ।

कर्मचारी अभावमा पालिकाभित्रका आठवटै वडाका १५ वटा स्वास्थ्यचौकी साउन १ देखि बन्द रहेको प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले बताए । २५ वटा स्वास्थ्य संस्थामा ६८ जना कर्मचारी कार्यरत रहेकोमा अहिले २८ जना मात्रै छन् । ४० जना कर्मचारीको करार सम्झौता नवीकरण नभएपछि पालिकाभरी स्वास्थ्य सेवा प्रभावित भएको हो । 

प्युठानको स्वर्गद्वारी नगरापालिका र माण्डवी गाउँपालिकामा पनि करारका स्वास्थ्यकर्मी हटाइएपछि पालिकाभित्रका सहरी स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरू बन्द भएका छन् । 

करारका कर्मचारी हटाइनु र स्थायी दरबन्दी नहुनुले अहिले अधिकांश स्थानीय तहहरूले यस्तै नियति भोग्नुपरेको छ । 

के भन्छ स्वास्थ्य मन्त्रालय ?

कराका कर्मचारी हटाइँदा आईसीयू सेवासमेत प्रभावित भएपछि स्वास्थ्य मन्त्रालयले सम्बन्धित अस्पतालहरूलाई छलफलमा बोलाएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतातका सूचना अधिकारी नवराज गौतमका अनुसार सोमबार मन्त्रालयमा सचिवस्तरीय छलफल भएको छ ।  

छलफलमा करारका कर्मचारीको म्याद थप गरी सेवा प्रभावित नगर्ने विषयमा मन्त्रालय सकारात्मक भएपनि ठोस निर्णय भने आइसकेको छैन । 

यता स्वास्थ्य सेवा विभागले भने आवश्यक विधि र प्रक्रिया पूरा गरी स्वास्थ्यकर्मीलाई यथाशीघ्र करारमा राख्नुपर्ने जनाएको छ । अर्को व्यवस्था नहुँदासम्मको लागि स्वास्थ्य सेवा अवरुद्ध गर्न नहुने विभागको आशय छ । 

करार अवधि सकिनासाथ महत्वपूर्ण सेवा सेवा रोकिने भएकाले करारमा भन्दा स्थायी दरबन्दी सिर्जना गरेर समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने सरोकारवालाहरूको सुझाव छ ।  
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय