काठमाडौं । फिलिपिन्सको मनिलाबाट दक्षिणमा कालम्बादेखि उत्तरमा पाम्पाङ्गास्थित क्लार्क अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने झन्डै १५० किमि लामो ‘उत्तर–दक्षिण रेलमार्ग निर्माण’परियोजनामा नेपाली इञ्जिनियर सन्ध्या रेग्मी अनुबन्ध प्रबन्धक (कन्ट्रयाक्ट म्यानेजर) भई विगत साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय विज्ञका रुपमा परियोजना व्यवस्थापनमा योगदान गरिरहेकी छन् ।
विश्वका लगभग २० मुलुकहरुका झन्डै २ हजार विज्ञ, इञ्जिनियर तथा प्राविधिकहरु कार्यरत 'ग्रेटर क्यापिटल रेल्वे' (जी.सी.आर.) कन्सोर्टियम नामक अन्तर्राष्ट्रिय परामर्शदातृ संस्थामा कार्यरत सन्ध्या रेग्मी एक मात्र नेपाली इञ्जिनियर हुन् ।
एशियाली विकास बैंक (ए.डी.बी.) र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) को संयुक्त ऋण सहयोगमा सञ्चालन भइरहेको कूल १५.८ बिलियन अमेरिकी डलर बराबरको यस बृहत् परियोजना एडीबीको आजसम्मकै इतिहासमा सबैभन्दा ठूलो बजेट सहयोग रहेको परियोजना हो ।
जापानी, कोरियाली, थाई, इटालियन, जर्मन तथा स्पेनिश ठेकेदार–संस्थाहरु आबद्ध यस परियोजनाले कोभिड–१९ लकडाउन लगायत कोभिडका अनेकौं लहरहरुसँग मुकाबिला गर्दै सन् २०२४ सम्ममा निर्माण कार्यहरु सम्पन्न गर्न द्रुत गतिमा बढिरहेको सन्ध्या बताउँछिन् ।
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतार्ते सरकारको ‘निर्माण निर्माण निर्माण’नारा अनुरुप देशको पूर्वाधार विकासमा ठोस भूमिका खेल्ने लक्ष्य राखेको यस परियोजनाले फिलिपिन्सका जनतालाई सुपथ मूल्यमा अत्याधुनिक रेल–यातायात सुविधा दिनुका साथै जलवायु प्रदूषण नियन्त्रण, रोजगारीमा अनेकन अवसर प्रदानका साथै महिला सशक्तिकरणमा उल्लेखनीय भूमिका खेल्ने छ ।
परियोजनाका विशेषताहरुमा रेलमार्ग, जापानी अत्याधूनिक प्रविधिका रेल–डिब्बा (रोलिङ स्टक) आकाशे पुलहरु, टनेल, विमानस्थल, भूमिगत रेल्वे स्टेशन लगायत ३३ हेक्टर जमीनमा विशाल डिपो निर्माण साथै सबै भवनहरु र स्टेशनहरुमा अटोमेशन टेक्नोलोजीद्वारा सञ्चालित सुरक्षा–प्रविधि जडित हुनेछन् ।
सबैभन्दा रोचक विशेषता त यसमा एडीबीले निर्धारण गरेको मापदण्ड अनुरुप परियोजना निर्माण, निरीक्षण, सञ्चालन र सम्बर्धन चारै चरणमा वातावरण प्रदुषण न्यूनीकरण र रोकथाम कार्ययोजना, परियोजना–प्रभावित विस्थापित जनताको पुनस्र्थापना कार्ययोजना तथा यी चारै अवधिभर परियोजना मा २० प्रतिशत महिला जनशक्तिको सहभागिता अनिवार्य हुनेछ ।
सन्ध्याले ‘कन्ट्रयाक्ट फाइनान्स र प्लानिङ्ग’विभागमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरी आफ्नो समूहका १० जना इञ्जिनियरहरुको कार्य पर्यवेक्षण गर्दै आफ्नो भागमा परेका २ वटा कन्ट्रयाक्ट प्याकेजहरु क्लार्क अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने रेलमार्ग र भुमिगत रेल्वे स्टेशन निर्माण र ३३ हेक्टर जमीनमा डिपो तथा भवनहरु निर्माणका लागि चुनिएका ठेकेदारहरु ‘एस्सियोना’(स्पेनिश) र ‘पोस्को’ (कोरियाली) को दैनिक कार्य निरीक्षण गरी परामर्श प्रदान तथा परियोजनाका मालिकद्वय–फिलिपिन्स सरकारको यातायात विभाग तथा फिलिपिन्स नेशनल रेल्वेलाई दैनिक प्रतिक्रिया प्रतिवेदन पेश गरिरहेकी छन् ।
परियोजना व्यवस्थापनको मुटु मानिने अनुबन्ध प्रबन्धकले परियोजनाका ५ महत्वपूर्ण कार्यहरु ठेकेदारहरुको कार्यपरिमाणहरु नापी भुक्तानी प्रमाणीकरण गर्ने , कार्यभिन्नता (भेरिएशन) र मूल्य–समायोजन (‘प्राइस एड्जष्टमेन्ट’) निर्धारण गर्ने, कार्यप्रगति मूल्याङ्कन गरी निर्धारित अवधिभित्र परियोजना सम्पन्न गराउने, कार्यहरुको गुणस्तर, वातावरणमा पर्ने प्रभाव र कामदारहरुको सुरक्षामा निर्धारित मापदण्ड कायम गर्ने र ठेकेदारहरु र फिलिपिन्स सरकार बीच पर्ने दावी–विवाद र मुद्दाहरु (‘क्लेम एण्ड डिस्प्यूट’) मा परामर्श र प्रारम्भिक निर्णय प्रदान गरी परियोजनाको कुशल व्यवस्थापन गर्नुपर्दछ ।
पाल्पा तानसेनमा जन्मिएकी सन्ध्या रेग्मीले २०४१ सालको एसएलसी परीक्षामा नेपालभर महिलाहरुमा प्रथम स्थान हासिल गरि रत्न विद्या (स्वर्ण) पदक प्राप्त गरेकी थिइन् । तत्पश्चात उनले सेन्ट मेरिज स्कूलबाट सिनियर क्याम्ब्रिज, अमृत साइन्स कलेज तथा सेन्ट बाड्स कलेज (भारत) बाट आइएस्सी गरी जर्मन सरकारको छात्रवृत्तिमा जर्मनको ड्रेसडेन विश्वविद्यालयबाट ऊर्जा इञ्जिनियरङ्मा स्नातकोत्तर गरी सिंगापुरको नेशनल युनिभर्सिटी अफ सिंगापुरबाट पर्यावरण इञ्जिनियरिङ्मा स्नातकोत्तर गरेकी थिइन् । बौद्ध दर्शनकी ज्ञाता उनी लुम्बिनी बुद्ध विश्वविद्यालयबाट विद्यावारिधी पनि गरिरहेकी छन् ।
उनले कालीगण्डकी ‘ए’जलविद्युत परियोजनामा इञ्जिनियर, यूएनडीपीमा ऊर्जा सल्लाहकार, भियतनामको हो चि मिन्ह शहरको पूर्वपश्चिम राजमार्ग निर्माण परियोजनामा वरिष्ठ इञ्जिनियर, जापानमा योकोहामाको सिटीनेट आइएनजीओमा कार्यक्रम प्रबन्धक, जापानको टोकियो विश्वविद्यालयको वैकल्पिक ऊर्जा विभागमा अनुसन्धानविद् र भियनाको यूएनडब्लूजी (युनाइटेड नेशन वुमेन्स गिल्ड) मा नेपालका विद्यालयहरुको शैक्षिक विकासका लागि कार्यपत्र प्रस्तोता रही विगत २० वर्ष देखि स्वदेश तथा विदेशका संघसंस्थाहरु मार्फत मूलतः जलविद्युत, वैकल्पिक ऊर्जा, राजमार्ग निर्माण, रेलमार्ग निर्माण तथा नेपालका विद्यालयहरुको शैक्षिक गुणस्थर विकासका लागि योगदान पुर्याइरहेकी छन् ।
नेपालमा बृहत् पूर्वाधार निर्माणको प्रचुर सम्भाव्यता देखेकी रेग्मीले अबका दिनहरुमा स्वदेश फर्केर मातृभूमिमै बसी विदेशका परियोजनाहरुबाट आफूले संगालेका यथेष्ठ कार्यानुभवहरु नेपालको पूर्वाधार विकासमा लगाउने दृढता व्यक्त गरेकी छन् ।
विशेष गरी उनका अनुभव, विशेषज्ञता र अन्तर्दृष्टि बहुराष्ट्रिय र द्वीपक्षीय विकास सहयोग अन्तर्गत निर्माण भइरहेका र हुनेवाला बृहत् परियोजनाहरु जस्तो कि जलविद्युत विकास, रेलमार्ग, टनेल, राजमार्ग, हवाईमार्ग र विमानस्थल निर्माणका लागि उपयोगी देखिन्छन् ।
जापानी अत्याधुनिक प्रविधिका एकस्प्रेस ट्रेनहरु भविष्यमा कुनै दिन नेपाली भूमिमा गुडाई नेपाली जनता यातायातका सम्पूर्ण कठिनाईहरुबाट मुक्त भएको सपना देखेको उनी बताउँछिन् ।
सो सपनालाई साकार बनाउन नेपाल सरकारसँग त्यस अनुसारको लगानी गर्ने क्षमताको विकास, जनताको आर्थिक प्रगति र आत्मविश्वास भई नेपाल सरकारले अन्तर्राष्ट्रिय र द्वीपक्षीय दातृ संस्थाहरुबाट ऋण सहयोग र अनुदानका लागि प्रस्तावना पेश गरी प्रारम्भिक चरणको सम्भाव्यता अध्ययनको आवश्यकता रहेको बताउँछिन् ।
नेपाल पूर्व–पश्चिम उत्तर–दक्षिण चारैतर्फ रेलमय भएको देख्ने आफ्नो सपना रहेको उनको धारणा छ ।