
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि टोखा नगरपालिका काठमाडौंको प्रमुख पदमा रजनी थापा उमेदवार छिन् ।
युवा नेतृ थापा सत्तारूढ दल नेपाली कांग्रेसबाट नगरप्रमुख पदमा उमेदवार बनेकी हुन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा उपप्रमुख पदमा उमेदवार बनेकी उनी ६२ मतको झिनो मतान्तरले एमालेकी ज्ञानमाया डंगोलसँग पराजित भएकी थिइन् ।
पाँच वर्षपश्चात् भने उनले सिंगो पार्टीलाई विश्वासमा लिएर नगरप्रमुखमा उमेदवार बनेकी छन् । पार्टीलाई उनले कसरी विश्वास दिलाउन सकिन्, नगरपालिकामा उनका योजना के–के छन्, युवा पुस्ता नेतृत्वमा आयो भने के बदलाव आउँछ ? यस्तै प्रश्नमा बाह्रखरीका कुञ्जरमणि भट्टराई र रोमन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :–
गएको स्थानीय निर्वाचनमा उपप्रमुखमा पराजित हुनुभयो, यो स्थानीय तहमा भने प्रमुख पदमा उमेदवारी दिनुभयो । तपाईंमा यो लेभलको आत्मविश्वास कसरी आयो ?
‘जहाँ तपाईंले कर्म गरेर मन जित्नुहुन्छ त्यहाँ तपाईं अघि बढ्नुपर्छ’ भन्ने आवाज मैदानबाटै आउँछ । व्यक्तिगत चाहना त हरेका मानिसका हुन्छन् । तर, टोखा नगरपालिकाका हरेक बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरूले तिमी रोकिनु हुँदैन अघि बढ्नुपर्छ भन्ने ऊर्जा प्रदान गरेका कारणले मलाई टोखा नगरपालिका हाक्नुपर्छ भन्ने साहस आएको हो । यो सन्देशसँगै नेपाली कांग्रेसले पनि युवालाई अघि बढाउनुपर्छ टिकट दिनुपर्छ भन्ने नीति बनाएकाले पनि मैले नगरप्रमुख पदमा उमेदवारी दिएकी हुँ ।
देशभरि दलहरूले पुरुषलाई प्राथमिकतामा राखेर प्रमुख पदमा टिकट दिएका छन् । काठमाडौंकै टोखा नगरमा तपाईंलाई कांग्रेसले कसरी पत्यायो ?
मेरो मिहिनेतलाई कदर गरेर पार्टीले ममा सम्भावना देख्यो । मेरो भिजन, कन्सेप्ट तथा प्यानल अफ एक्सन देखेर नेपाली कांग्रेसले युवाहरू परिवर्तनका संवाहक हुन् भन्दै सम्भावना देख्यो । नेपालभरिमै मैले सबैभन्दा कान्छी महिलाको रूपमा नगरप्रमुख पदको टिकट पाएको रहेछु ।
मलाई यो कुरा थाहा पाउँदा भने सोचेजस्तो राम्रो पार्टीमा लागेछु भनेर गर्व पनि लागेको छ । विगत र वर्तमानलाई नियाल्ने हो भने कांग्रेसले यस पालिको नीतिमा सही मान्छेलाई मूल्यांकन गर्छ भन्ने प्रमाण यो पनि हो ।
टिकट लिने क्रममा तपाईंहरूको पालिकाको विवाद सतहमा आयो । निकै संघर्ष गरेर टिकट लिनुभयो । यसले अन्तर्घातको जोखिम हुँदैन तपाईंलाई ?
युवाले भविष्यमा विश्वास राख्ने हो । सबैलाई विश्वास गर्दै आफूमाथि अझ धेरै विश्वास गर्ने हो ।
टोखा नगरपालिकाभित्र नेपाली कांग्रेसको अनुशासित संगठन छ । १६ जना आकांक्षी देखिए पनि पार्टीले निर्णय गरेपछि हामी एकताबद्ध छौँ ।
प्रभावकारी ढंगले विकास अघि बढाइरहेको नगर समितिले नै हो मलाई नगरप्रमुख पदमा अग्रसर गराएको । त्यसैले, यहाँ अन्तर्घात हुन्छ भन्ने मलाई एकरत्ति पनि लाग्दैन ।
सैद्धान्तिक रूपमा जे–जस्तो भनिए किशुनजीजस्ता सन्त नेतालाई हराएका उदाहरण छन् । तपाईंले यो विषयलाई नजरअन्दाज त गरिरहनुभएको छैन ?
सबैभन्दा ठूलो भनेको मानिसको मन हो । मानिसहरूको सकारात्मक सोचाइ हो । तपाईं यदि साँचो हुनुहुन्छ र डगमगाउनुहुन्न भने कसैले पनि रोक्न सक्दैन । तपाईं झुटको खेती गर्नुहुन्छ भने त्यो छोपेर छोपिन्न ।
डे वानदेखि आफ्नो स्टान्डमा बस्नुहुन्छ भने समकालीन र साथीहरूले पनि यसले काम गर्नसक्छ भनेर साथ दिनुहुन्छ ।
स्थानीय तहमा अधिकारसँगै भ्रष्टाचार पनि पुगेको छ । भोलि तपाईंले जित्नुभयो भने यो प्रश्न त तपाईंमाथि पनि आउँछ, हैन ?
राजनीतिमा लागेर पैसा कमाउनु छैन । म राजनीतिमा सेवा गर्न आएको हुँ । राजनीतिलाई मैले जागिर बनाउन खोजेको होइन । मेरो दैनिकी चलाउन त मेरो आफ्नै व्यापार छ नि ! सिङ्गटी हाइड्रोपावरको म बोर्ड अफ डिरेक्टर छु । मेरो आफ्नै निर्माण कम्पनी पनि छ । स्यानिटरी प्याड बनाउनेदेखि ट्राभल एन्ड टुरिजम कम्पनीसम्म सञ्चालन गरेकी छु ।
राजनीतिमा म नितान्त सेवा भावले आएको हुँ । म नगरप्रमुख भएपछि पाउने सेवा सुविधा तीनवटा क्षेत्रमा लगाउनेछु । महिलाको शिक्षा, वृद्धवृद्धाको स्वास्थ्य र युवाहरूका लागि खेलकुद क्षेत्रमा मेरो सेवा सुविधा खर्च हुनेछ । यो कुरा मैले घोषणा नै गरिसकेकी छु ।
काठमाडौंमा जातीय राजनीतिको पनि प्रभाव छ । तपाईंको टिममा प्रमुख र उपप्रमुख दुवै पदमा नेवार समुदायको उपस्थिति देखिएन नि ?
पार्टीको एउटा निर्णय हुन्छ । कांग्रेसको टिकट दिने एउटा प्रक्रिया छ । टिकट हामीलाई वागमती प्रदेश कार्यसमितिबाट आउने हो । टिकट वितरण गर्दा हाम्रो पार्टीमा ‘एनालाइसिस’ हुन्छ । प्रदेशमा कसले जित्न सक्छ, को दह्रो उमेदवार हो, यसको योगदान कति छ, मत कति छ भन्ने विश्लेषण गरेर नै मलाई टिकट दिएको हो । त्यसकारण यो जातीयतामा जान जरुरी छैन ।
विद्यार्थी राजनीति पत्रकारिकता हुँदै पार्टीमा टोखा नगरपालिकामा प्रमुख पदमा निर्वाचन लड्दै हुनुुहुन्छ । खासमा तपाईंको योगदानचाहिँ के हो ?
जब व्यक्तिले संघर्ष र त्याग गर्छ, ऊ लडेपछि फेरि उठ्न सक्छ, सबैको मनमा अट्न सक्छ । व्यक्तिगत ईच्छा कम, काम गर्ने हौसला र इच्छाशक्ति धेरै भए उसले सबैलाई समेट्न सक्छ । तब, समयले भन्छ कि तपाईं लाग्नुहोस्, कार्यकर्ता आफैँ लाग्छन् तपार्इंलाई जिताउन ।
तपाईंसँग दृढ विश्वास हुनुपर्छ । मैले नेपाल विद्यार्थी संघको तर्फबाट राजनीति गर्दै मेरो व्यवसाय र शिक्षा एकसाथ अघि बढाएँ । अहिले म पीएचडी गरिरहेकी छु । मेरो पढाइ र मैले गर्ने ‘प्रोफेसन’ मेरो पूर्वाधार हो ।
‘रजनी सचेतना फाउन्डेसन’ नामको मेरो अर्गनाइजेसन छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भ्रमण गर्ने क्रममा मैले देखे–भोगेका सम्पूर्ण कुरालाई समेटेर समाजका लागि केही न केही गरेकी छु । चाहे शिक्षामा होस्, चाहे स्वास्थ्य क्षेत्रमा होस्, चाहे महिला सशक्तीकरणको कुरा होस्, हरेक क्षेत्रमा सफलरूपमा काम गरेको छु । यसले ममा परिपक्वता ल्याएको छ ।
म राजनीतिमा त्यसै आएको हैन । मेरो जीवनको भोगाइ र किसान–मजदुरहरूको दुःखलाई परिवर्तन गर्नुपर्छ भनेर राजनीतिमा आएको हुँ ।
काठमाडौंको रजनी थापा र हुम्ला कालिकोटदेखि बाहुनडाँगीसम्मका महिलाहरूले उस्तै सुख भोग्न पाउनुपर्छ भनेर म राजनीतिमा आएकी हुँ । मेरो उमेदवारी नेपालका सम्पूर्ण महिला, अझ युवा जमातका लागि आत्मविश्वास बढाउनका लागि पनि हो । म परिवर्तनको संवाहक बन्न सक्छु भन्ने आत्मविश्वास उमेदवारीपछि अझ बढेको छ ।
उपप्रमुखमा पराजित भएपश्चात् पाँच वर्षको अवधिमा टोखाबासीहरूसँग सँगसँगै हुनुुहन्छ ?
मैले जुन दिन चुनाव हारेँ म भर्याङ ओर्लंदै गर्दा मेरो पराजयको खबर पाएर त्यतिबेला एकजना हजुरबुबाले भित्तामा टाउको ठोक्काएको देखेँ । हजुरबुबा–हजुरआमा रोएको देखेँ । त्यो मैले कमाएको वास्तविक सम्पत्ति रहेछ । मैले प्राविधिकरूपमा चुनाव हारेको थिएँ– तर, वास्तवमा मैले त्यतिबेलै सबैको मन जितेको रहेछु ।
चुनावमा पराजय भोगेको भोलिपल्टदेखि नै महिला सशक्तीकरणको कार्यक्रम अघि बढाएँ । महिला दिदी–बहिनीहरूलाई रोजगारी कसरी दिने, युवाहरूलाई कसरी अघि बढाउने, खेलकुदमा खेलाडीहरूलाई कसरी सक्रिय बनाउने भनेर कार्यक्रमहरू गरिरहेँ । निर्मला पन्तको निर्मम तरिकाले हत्या भएपश्चात् हामीले धनगढीको कभर्डहलमा तीन हजार महिलाहरूलाई आत्मरक्षाको तालिम दिएका थियौँ ।
हामीले यहाँ स्कलरसिप, निःशुल्करूपमा सेनेटरी प्याडहरू बाँडेका छौँ । हेल्थ क्याम्प गरेका छौँ । वृद्धवृद्धाका लागि जाडोमा न्यानो लुगाहरू बाँडेका छौँ । कोभिडको समयमा पहिलोपटक धेरै मात्रामा मास्क, सेनिटाइजर बाँडेका थियौँ । खान नपाएकाहरूलाई खाना खुवायौँ ।
काम त यति धेरै छ कि बिहान उठेदेखि बेलुका नसुतेसम्म मैले टोखा नगरपालिका छोड्नै पाइनँ । मेरो जिन्दगीको पाँच वर्ष यहीँ सेवा गरेर बित्यो ।
टोखा नगरपालिकावासीले आउने जनप्रतिनिधिहरूबाट के अपेक्षा गरेका रहेछन् ?
आज देख्ने भोलि हराउने कामलाईचाहिँ म विकास मान्दिनँ । विकास त तपाईंले देखिरहन पाउनुपर्यो र भएको कुरा उपयोग गर्न पाउनुपर्यो । त्यो विकासले तपाईंको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्यो जनताका समस्याहरू समाधान हुने गरी जनजीवनलाई सहज, बनाउने विकास हुनुपर्यो । जस्तो कि गर्भवती हुँदाको प्रि–किडदेखि मृत्युसंस्कारसम्मका व्यवस्थापन टोखा नगरपालिकाले व्यवस्थान गरिदिनुपर्छ । नगरपालिकाको जिम्मेवारी बालबालिकादेखि वृद्धवृद्धासम्मलाई संविधानमा लेखिएको मौलिक हक अधिकार उपलब्ध र जनताको जीवन सुरक्षित गराउने हो ।
के टोखा नगरपालिकाले फुड बैंकको स्थापना, शिशुदेखि वृद्धवृद्धाका लागि निःशुल्क स्वास्थ्य सेवा हामीले उपलब्ध गराउन सक्दैनौँ र ? हामीले निःशुल्क प्राविधिक शिक्षा दिन सक्दैनौँ र ? सक्छौँ, त्यसका लागि योजना चाहिन्छ, जनसहभागिता चाहिन्छ । त्यो प्रणाली टोखा नगरपालिकामा मेरो नेतृत्वमा शुरुवात हुनेछ ।
तपाईं नगरपालिकामा निर्वाचित हुनुभयो भने तपाईंले गर्ने पहिलो काम के हुनेछ ?
मैले ‘प्लान अफ एक्सन’ बनाएको छु । हामी युवाहरू बोल्दैनौँ हामी लिखित डकुमेन्ट बनाउँछाैँ, योजना बनाउँछौँ र पाइपलाइनमा काम गर्छौ । मेरो पहिलो काम नै संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन हुने छ । गाँस, बास, कपासको व्यवस्थापनको खाका बनाएर काम थाल्ने हुनेछ ।
भोको व्यक्तिलाई कम्प्युटर दिएर, आदर्श सिकाएर काम छैन, खाना नै दिनुपर्छ । सुलभ शुल्कमा उपचार अनि प्राविधिक शिक्षा अहिलेको आवश्यका हो । म सानोबाट शुरु गर्छु र पाँच वर्षमा दूरगामी परिवर्तन गरेर देखाउँछु । त्यो आभास तपाईंहरूले पाउनुहुन्छ ।
तपाईंको कल्पनाको टोखा नगरपालिका कस्तो हो ?
यहाँ कस्तो विकास भइरहेको छ भने बिहान हेर्दा धेरै कुरा भएको देखिन्छ खुसी लाग्छ, तर जब एकहप्तापश्चात् फेरि त्यहीँ पुग्नुहुन्छ त्यो कुरा भताभुंग हुन्छ । मेरो कार्यकालमा म सडक बनाउँदा होस् वा शिक्षा नीति ल्याउँदा अथवा भौतिक संरचना बनाउँदा, म जनसहभागिताबाट मात्र काम गर्नेछु । अबको विकास एक व्यक्तिको योजना वा हचुवाको भरमा हुँदैन । विज्ञ जनशक्ति र प्राविधिक क्षेत्रमा निपूर्ण मानिसहरूको बृहत् छलफलबाट मात्र टोखाको विकास अघि बढ्छ ।
विकास अल्पकालीन हैन दीर्घकालीन हुनुपर्छ । एउटै कामलाई पटक पटक लगानी गर्दा त्यसले अन्य विकासका गतिविधिलाई रोक्छ । मैले त अन्तर्राष्ट्रियस्तरको सडक, शिक्षा, प्रविधिमा प्रोत्साहन र जिल्लास्तरका खेलाडीहरूलाई नियमित अभ्यासका लागि हौसला दिन भत्ताको व्यवस्था गर्ने पनि योजना छ ।