अहिले ‘राष्ट्रवाद’का विषयमा दुई किसिमले बहस चलिरहेको छ । एकथरीले हामी राष्ट्रवादी हाैँ, अरु गैरराष्ट्रवादी, अराष्ट्रवादी भन्दै ‘राष्ट्रघाती’सम्म भन्ने गरेका छन् । यद्यपि, ‘राष्ट्रघात’ कसरी हुन्छ भन्ने भनेका छैनन् ।
राष्ट्रवादको एउटा विशुद्ध सैद्धान्तिक पाटो हुन्छ । राष्ट्रवादका नाममा बडे बडे ‘थेसिस’हरु लेखिएका छन् । विश्वविद्यालयमा पढाइ हुन्छ । मकहाँ मात्रै पनि करिब सय डेढसय राष्ट्रवादकै बारेमा लेखिएका किताबहरु होलान् । त्यो सैद्धान्तिक बहस, प्राज्ञिक बहसमा राष्ट्रवाद के हो ? के होइन ? यसका आधारभूत तत्त्वहरु के हुन् ? भन्नेजस्ता कुराको सैद्धान्तिक परम्परा निक्कै लामो छ ।
राष्ट्रवादको सैद्धान्तिक धरोहर विशुद्ध सैद्धान्तिक वा प्राज्ञिक बहसबाट उब्जिएको भने होइन । राष्ट्रवाद, राष्ट्रियता, राष्ट्रभक्ति, राष्ट्रप्रेम विभिन्न शब्द प्रयोग भए पनि यसको व्यावहारिक पक्ष र धरातलीय आधारहरु पनि छन् । राष्ट्रवाद विभिन्न परिवेशमा, विभिन्न देशमा कसरी उत्पन्न भयो ? त्यसलाई मानिसहरुले कसरी लिए ? कसरी अभ्यास गरे ? राष्ट्रवाद भन्नाले के बुझे ? कस्तो बुझे ? भन्ने पक्ष छ ।
‘नेसनालिज्म’ (इज्म भनेको हुनाले वाद भयो) आधुनिक अवधारणा हो । अहिलेको युरोपमा युद्ध भयो र त्यसलाई शान्तिमा परिणत गर्न सन् १६४८ मा एउटा सन्धि भएको छ । त्यसलाई ‘ट्रिटी अफ वेस्टफेलिया’ भनिन्छ । त्यसले १६१८ देखि सुरु भएको ३० वर्ष लामो युद्ध र १५६८बाट सुरु भएको ८० वर्ष पुरानो युद्ध दुवैलाई शान्तिममा परिणत गरेका थियो । यो सन्धिपछि राष्ट्रहरुको क्रमिक विकास भएर गयो ।
त्यसभन्दा अघि कि त इम्पाएरहरु (साम्राज्यहरु) थिए कि चाहिँ गणराज्यहरु थिए । कि चाहिँ ससाना कबिलाहरुको सांस्कृतिक÷जातीय संरचनाहरु थियो । राज्यहरु भनेको ग्रिक रोमन समयमा साना साना ‘सिटी स्टेट’ राज्यका रुपमा थिए । अहिले हामीले देखिरहेका राज्यहरुको स्वरुप त्यो ‘ट्रिटी अफ वेस्टफेलिया’ पछिको हो ।
युरोपमा रोमन साम्राज्य भक्तिएपछि ट्रिटी अफ वेस्टफेलियाले के गरिदियो भने साना साना नगरराज्यभन्दा अलिक ठूलो क्षेत्र र समुदाय राज्यको स्वरुपमा आए ।
हुन त युरोपमा जम्मा एउटै रिलिजन थियो । एक्टर्नल रिलिजन भनेको इस्लाम थियो । अरु सबै क्रिस्टियन भित्रकै प्रोटेस्टेन, क्याथोलिक अर्थोडक्स, प्यागन भनिने धर्म नमान्ने समूह पनि थिया । एब्रामिक रिलिजन भन्छन् सबै त्यो इजरायलबाट, जेरुसेलमबाट निस्किएको क्षेत्रको वरपरका धर्महरु थिए ।
त्यसभन्दा अघि धेरै लामो समयसम्म चर्चको प्रभुत्व हुने कि, धर्मको हुने कि ? राजा ठूलो हो कि धर्म गुरु ठूलो हो ? राज्यमा धर्मका कत्रो भूमिका छ भनेर द्वन्द्व त भएको थियो । तर, ट्रिटी अफ वेस्टफेलियामा आउँदा धर्म कुनै प्रश्न बनेन । किनभने उनीहरु प्रायः धर्मको एउटै शाखा प्रशाखाबाट निस्किएका कारण प्रोटेस्टेन र क्याथोलिकबीच सामान्य द्वन्द्व भए पनि त्यसले प्रमु्ख मुद्दाको रुपमा असर गरेन । त्यसरी राज्यहरु बन्दा त्यहाँ एउटै प्रकारको जातका र भाषाका मानिसहरु परे ।
हुन त युरोपमा थुप्रै भाषाभाषी छन् । तर, समग्रमा ल्याटिनबाट निस्किएका भाषाहरु, स्ल्याबिकबाट निस्किएका भाषाहरु, डेनमार्क, स्विडेनका भाषाहरु भए, स्ल्याबबाट निस्किएको जर्मन पोलिसहरु आए । यी राज्यहरु बन्दा जातीय नस्ल पनि एउटै खालको, भाषिक आधार पनि एकै खालको र धर्म पनि एउटै खालको भएपछि राष्ट्रहरु निर्माण भएका हुन् ।
नेसन जसलाई हामी राष्ट्र भन्छौ । राष्ट्र भनेको जनता (पिपुल) हुन् । नेस्वँबाट नेसन आएको हो । नेस्वँ भनेको जनता । सीमा, क्षेत्र र शक्ति भएको एकैखालका मानिसहरु बस्ने, एकैखालको धर्म मान्नेहरुबाट राष्ट्रराज्यको अवधारणा आयो । ती मानिसहरु अलिअलि भाषाबाट बाँधिए, अलिअलि धर्मबाट बाँधिए, सांस्कृतिक एकरुपता पनि थियो । त्यसबाट राज्य राष्ट्र (नेसन स्टेट)को अवधारणा आयो ।
त्यो अवधारणाको ‘फास्ट फर्वार्ड’ गर्दा एसिया, अफ्रिकाका विभिन्न मुलुक जब उपनिवेश बने त्यसपछि स्वतन्त्रताको परिकल्पना भयो । पश्चिमाको उपनिवेशबाट उम्कन पनि उनीहरुले एक्लै लड्न सक्ने ताकत निर्माणका लागि हामी एक छौँ भन्ने भावना निर्माण गर्नुपर्यो । स्वतन्त्रताका लागि हामी पश्चिमाभन्दा अलग हाैँ भन्ने भयो । त्यसपछि हामी अफ्रिकीहरु एक हौँ, हामी भारतीयहरु एक हौँ भन्ने भयो । तर, भारतीयहरु एक थिएनन् । केरला भिन्नै थियो, युपीमा हिन्दी भाषीहरु भिन्नै थिए, महाराष्ट्र भिन्नै थियो । यी सबैलाई एक सूत्रमा बाध्न ‘भारतीय राष्ट्रवाद’ संरचित भयो । उपनिवेशका कारण हामी जोडिन आवश्यक छ भनेर राजनीतिक राष्ट्रवाद ‘पोलेटिकल नेसनालिज्म’को निर्माण भयो ।
गान्धी वा नेहरुले भनेको राष्ट्रवाद सांस्कृतिक वा धार्मिक राष्ट्रवाद थिएन । त्यो राजनीतिक राष्ट्रवाद हो । राजनीतिक राष्ट्रवादमा के हुृन्छ भने तपाईँ जुन, भाषा वा धर्मको भए पनि त्यो देशमा बस्नुभएका कारण तपाई त्यसको सदस्य हुनुहुन्छ । उदाहरणका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हेर्यो भने थारुले बोल्ने भाषा भिन्नै छ । नेवारले बोल्ने भाषा भिन्नै छ । पहाडीले बोल्ने भिन्नै किसिमको खस नेपाली भाषा छ । त, हामी एउटै नेपाल राज्यभित्र अटेका छौँ । हामी विभिन्न राष्ट्रहरु छौँ यो भित्र । हामी सबै यो राज्यभित्र किन समेटियौँ भने राजनीतिक राष्ट्रवादभित्र समेटियौँ । हामीसँग संविधान छ, संविधानबाट सबै नागरिकलाई समान संरक्षण छ । हामीसँग एउटा शासन व्यवस्था छ । हामी फरक हौँ भन्ने भावना पनि हराउँदै गएको छ । किनभने हामी लामो समयदेखि सँगै बस्दाबस्दै फरक हौँ भन्ने भावना हटेको छ ।
यसकारण राष्ट्रवाद भनेको के हो भने यो ‘पोलिटिकल कन्स्ट्रक्ट’ (राजनीतिबाट संरचित) हो । यो सबैलाई एकठाउँमा ल्याउन बनाइएको हो । यद्यपि, हामीमा विभिन्न भाषाभाषीका कारणले फरकफरक हुन खोज्छौँ । तर, राजनीतिक रूपमा एकाकार छौँ । हामीलाई हाम्रो राष्ट्रियताको आधार के भनेर पनि संकट आउँछ कहिलेकाहीँ । हाम्रो भाषा छुट्टै छ, भेष छुट्टै छ । त्यसकारण राजनीतिक राष्ट्रवादले हामीलाई एक बनाउँछ । राज्यले हामीलाई समान व्यवहार गर्छ, नेपाल हाम्रो राज्य हो, हामी नेपालका नागरिक हौँ भन्ने भावनाले हामीलाई एक बनाएको छ । प्रकारान्तरले राज्य बन्ने क्रममा भाषाले हामीलाई जोड्न थाल्यो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने नेपाली भाषा छ । रहँदा बस्दा हामी एक अर्काको संस्कृतिबाट सिकिरहेका छौँ ।
(अहिले त मोमो नेपाली राष्ट्रियताको पहिचान भइरहेको छ । आजभन्दा २० वर्ष अघिसम्म धौलागिरी क्षेत्रमा गाइने दोहोरी गीत देशभरको पहिचान भएर अर्को राष्ट्रियता बनिरहेको छ । आजभन्दा २० वर्षअघि त गण्डकीमा मात्र दोहोरी गाइन्थ्यो । अहिले केहीले नाक खुम्च्याउलान् तर अधिकांशले दोहोरी गीतलाई आफ्नो मान्छन् । त्यसकारण बजारले, हाम्रा अन्तक्रियाले, केही विम्बहरुको निर्माण गर्छ जसले हामीलाई जोड्दै लिएर जान्छ ।)
त्यसकारण राष्ट्रवाद प्राकृतिक होइन । यो आफैँ निर्माण हुँदैन । यसलाई संरचित (कन्स्ट्रक्ट) गरिन्छ । राजनीतिकरुपमा संरचित गरिन्छ । समाजिकरुपमा संरचित गरिन्छ । सांस्कृतिकरुपमा संरचित हुन्छ । यथार्थ के हो भने हाम्रो पोलटिकल कन्स्ट्रक्ट सबैभन्दा बलियो छ । कसरी बलियो छ भने तपाईँ हामी यो मुलुक र यस भूमिप्रति सबैको बराबर दायित्व छ । कसैको कम, कसैको बढी भन्दैनौ । किनभने राजनीतिकरुपमा हामी बराबर छौँ । यस मुलुकमा भीम रावलले म खस हुँ, टोपी लगाउँछु अरु मधेसी हुन् भन्न पाएनन् किनभने उनीहरुको पनि बराबर हक अधिकार र सम्मान छ । जो मानिस वर्षौंदेखि यहाँ आएर बसेको छ, जो भूमिसँग जाडिएको छ ।
राष्ट्रवादको नाममा देशभित्र जन्मेर बसेर पनि कोही मानिस अपहेलित हुन्छ, परपर सारिन्छ । त्यस्तो किन हुन्छ भने राजनीतिक राष्ट्रवादको संचनामा उनीहरु पर्दैनन् । मुलुक वा भूभागमा सबै मानिस बहुसंख्यक त हुँदैनन् । तर, राष्ट्रवादका विम्बको निर्माण गर्ने काम बहुसंख्यकहरुले गरेका हुन्छन् । बहुसंख्यकले नै कानुनी र नैतिक आधार निर्माण गर्छन् । त्यसकारण अल्पसंख्यकहरु कहिलेकाहीँ पर पारिन्छन् ।
बीपी कोइरालाले के भन्नुभयो भने प्रजातन्त्र र राष्ट्रियता जोडिन्छ । जहाँ मानिसहरुले यो मेरो मुलुक हो, यहाँ मेरो भविष्य छ, म यसको साझेदार हुँ भन्दैन राष्ट्रियता बलियो हुन सक्दैन । विपीले राष्ट्रियता लोकतन्त्रसँग लगेर जोडेको कारण त्यो हो । जहाँ स्वतन्त्रता हुँदैन त्यहा राष्ट्र बलियो हुँदैन ।
विडम्बनामा बाँचेका छौँ हामी । लाखौं मानिसहरु डीभी भरेर देश छोड्न तयार छन् । देशै छोड्न तयार हुने ठाउँमा केही मानिसहरु बुरुकबुरुक उफ्रिन्छन् । उसमा देशको माया त छ । तर, मानिसको स्वतन्त्र छनौट हुन्छ । राष्ट्रियताभन्दा माथि मानिसको जीवन हुन्छ । देशको अवस्था हेर्यो भने उसले त जीउन (सर्भाइवल) रोजेको हो नि !
त्यसकारण राष्ट्रियता दोधारे तरवार पनि बन्छ कहिलेकाहीँ । नेपाली भाषीहरुले सिक्किम भारतमा विलय गराए । जनमत संग्रह नै गराएको हो गराउन त । क्रिमियामा (यद्यपि, त्यो जबर्जस्ती थियो) केही रसियन भाषीहरुले हामी युक्रेनमा बस्दैनौ भनेपछि जनमत संग्रहबाट स्वतन्त्र भएको हो । त्यसकारण कहिलेकाहीँ राष्ट्रवादले स्वतन्त्रतालाई समस्या देख्छ । राष्ट्रवाद विस्तारै के भएको छ भने राज्यमा जसको शक्ति छ, जो बहुसंख्यामा छ, त्यसले अल्पसंख्यकहरुलाई बिस्तारकै आफ्नो सर्तमा समाहित गर्न खोज्छ ।
भारतमा त्यत्रो ठूलो स्वतन्त्रता आन्दोलन भयो । बीस प्रतिशतभन्दा बढी मुस्लिमहरुका नाममा पाकिस्तान बन्यो भनेर अहिले त ‘पाकिस्तान जा’ भनिरहेका छन् नि त । त्यसकारण यो राष्ट्रवादले भारतलाई बलियो बनायो कि कमजोर बनायो त । यो राष्ट्रवादले हिन्दु राष्ट्रवादलाई बलियो बनायो तर समग्रतामा राष्ट्रलाई त बलियो बनाएन । त्यसकारण अहिलेको समयमा बहअुसंख्यकले परिभाषित गर्ने राष्ट्रवादमा अल्पसंख्यकका लागि ठाउँ हुँन्छ कि हुँदैन भन्ने विषय बहुत महत्त्वपूर्ण छ ।
लोकतन्त्रसँग राष्ट्रवादको सम्बन्ध चाहिँ स्वतन्त्रता, छनोट, आफ्नो पनका निम्ति हो । यो मेरो देश हो, यो मेरो भूमि हो, यो मेरो समुदाय हो भन्ने भावनाले राष्ट्रवादलाई थप बलियो बनाउँछ । तर, ‘चुनावी लोकतन्त्र जहाँ भोटको राजनीति हुन्छ – त्यो ठाउँ बहुसंख्यामय हुन्छ । मैले भोट लिनुपर्छ, मैले शासन गर्नुपर्छ भन्ने मान्यताले काम गर्छ । यस्तोमा बहुसंख्यकले अल्पसंख्यकलाई मैले भनेअनुरुप तैले बस्नुपर्छ भनेपछि समस्या आउँछन् । बहुमतले अल्पसंख्यकलाई अपहेलित गरेपछि त्यसले राष्ट्रलाई पनि कमजोर पारिरहेको हुन्छ ।
हाम्रोजस्तो विविधता भएको मुलुकमा एकोहोरोरुपमा सबैलाई बाँधेर लिएर जाने माध्यम पनि राष्ट्रियता नै हो भनेर त्यस्ता मान्छेहरुलाई लाग्छ जो बहुसंख्यक हुन् । बहुमतको समाज, संख्यात्मकरुपमा जातीय, भाषिक वा धार्मिकरुपमा बढी भएकाहरुले आफ्नोअनुरुप समेटेर लैजाने कुरा गर्छन् र अल्पसंख्यकलाई चुनौतीका रुपमा देख्छन् ।
बहुमत र अल्पसंख्यकमात्र नभएर निर्णय प्रक्रियामा, नीति निर्माण तहमा नसमेटिएका कमजोरहरुलाई पनि संकीर्ण राष्ट्रवादले चुनौती देखिरहेको हुन्छ । जस्तो तपाइँ हाम्रा आमा दिदी, बहिनी, छोरीलाई पनि राष्ट्रवादले सुरक्षाको जोखिम मानिरहेको हुन्छ ।
यो संकीर्ण राष्ट्रवाद हो । उनीहरुले विदेशीसँग विवाह गरेर विदेशीलाई यहाँ ल्याए भने राष्ट्रियता कमजोर हुन्छ भन्ने ठान्छ ।
यद्यपि, पुरुषले विदेशी महिला विवाह गरेर ल्याउँदा यो राष्ट्र कमजोर हुन्छ भन्ने मानिदैन । स्त्रीलाई राष्ट्रियताको चुनौती देख्ने को हो त्यो ? कसै कसैले यसलाई ‘भाले राष्ट्रवाद’ पनि भन्ने गर्छन् । यो अल्पसंख्यकले बहुसंख्यकले भनेअनुरुप चल्नुपर्छ भन्ने ठान्ने भावना हो ।
अहिले विदेश जानको विषयमा विवाद चलिरहेको छ । मानिसहरुले आफ्नो जीवन यापनका लागि स्वतन्त्र छनोट गर्न सकुन् भनेर राज्यले राहदानीको प्रयोग खुल्ला गरेको हो । तर, स्वतन्त्र छनोट गर्न पाउँछ, स्वतन्त्ररुपमा हिडडुल गर्न पाउँछ भन्ने कुरालाई समेत निर्देशित गर्नेगरी जुन निर्णय र बहसहरु आएको छ – यो पनि संकीर्ण राष्ट्रवादको द्योतक हो ।
राष्ट्रवाद कुनै समयमा मुलुकलाई एकै ठाउँमा जोड्ने, बाँध्ने विविधतामा एकता खोज्ने प्रयास थियो भने अहिले विविधतामा एकता भनिएका र जबर्जस्ती लादिएका बिम्बहरुलाई प्रयोग गरेर हिजो जोडिन आएका मान्छेहरुलाई धकेल्ने काम भएको छ ।
नेपालमा ठूला लगानी आए पनि राष्ट्रवाद असुरक्षित भएको ठान्ने, ठूला परियोजना बन्नु हुँदैन भन्नेहरुले राष्ट्रवादको दुरुपयोगको प्रयास गरेका छन् । नेपाल आज बनेको त होइन । यसको धेरै लामो इतिहास छ । यसको ऐतिहासिकतामा थुप्रै आरोहअवरोह भेटिन्छन् । तर पनि यसले राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आएको छ । त्यसमा कसैले प्रश्न उठाउन सक्दैन ।
नेपालको राष्ट्रियतामा कसले प्रश्न उठाइरहेको छ त ? हामी हीन छौँ, हामी कमजोर छौँ, हामीलाई खाइदिन्छ, हामीलाई सिध्याइदिन्छ भनेर डरको राजनीति गर्नेहरुले अहिले राष्ट्रवादको कुरा उठाइरहेका छन् । जतिसुकै सानो देश भए पनि मानिस जतिसुकै सानो भए पनि उसले आफ्नो विवेक, आफ्नो स्वायत्ततामामा प्रश्न उठाउँदैन । मुलुकमा भय उत्पन्न गरेर राजनीति गर्नेहरुले यस्तो कुरा उठाइरहेका छन् ।
आजसम्म हामी अलगै बसेका थियौँ त ? यति सानो मुलुक हाम्रो आर्थिक र भौगोलिक अवस्थाका कारण हाम्रा छिमेक र छिमेकभन्दा परका मित्रहरू, र्बहत्तर छिमेकीहरुबिनै बाँचेका हौँला त ? कुन मुलुक अलग्गै भएर बाँचेको छ ? आज ‘ग्लोबलाइजेसन’ले जोडिएका चर्चा हुन्छन् । तर, त्यसभन्दा अघि पनि त देशको सीमा त अर्को देशसँग जोडिएकै छ । जहाँ मेरो मुलुकको सीमा समाप्त हुन्छ, त्यहाँ अर्को देशको सीमा सुरु हुन्छ, जहाँ अर्को देशको सीमा सकिन्छ, फेरि अर्को देशको सीमा सुरु हुुन्छ । सीमा अन्त्य विन्दु त होइन नि ।
प्रथम विश्वयुद्धमा सानो अल्पविकसित मुलुक हुँदाहुँदै हामीले किन भाग लियौँ ? हुनत, राणाले आफूलाई खर्च तचाउन पठाएको भन्ने पनि गरिन्छ । तर, हामीले विश्व शान्तिको निम्ति, विश्व राजनीतिक परिदृश्यमा हाम्रो भूमिकाको निम्ति त्यो कदम उठाइएको थियो भन्न सकिने ठाउँ छैन र ? त्यस कदमले नेपाललाई कति फाइदा बेफाइदा गर्यो भन्ने पनि फरक बहस र चर्चा छँदैछन् – तर, नेपालाई विश्वले चिनेको त हो नि त । त्यो बेला हाम्रा मान्छेहरु गएर हंगेरी, पोल्यान्डको सीमामा मरेको प्रिमेट्ररिजममा देखिन्छ । हामी कहिल्यै पनि एक्लिएका थिएनौ ।
राजनीतिकरुपमा एक्लै थियौँ होला तर आर्थिक र मानवीय संसर्गको हिसाबले अलगथलग थिएनौ । नभए दुईसय/तीनसय वर्ष पहिले हाम्रा पुर्खा बर्मामा, आसाममा गएर किन बस्र्थे ? त्यहाँ पनि नेपाली भाषी छन् । नेपाल भन्नेहरु त्यहाँ पनि छन् । आसाममा गएर बसेका छन्, मेघालयमा बसेका छन्, बर्मामा छन् फिजीमा समेत नेपालीहरु गएर बसेका पाइएको छ । मानवीय अन्तक्र्रियाको सन्दर्भमा, सामाजिक अन्तक्र्रियाको सन्दर्भमा र आर्थिके सन्दर्भमा । राज्य भए पनि नभए पनि आर्थिक व्यवस्था त कुनै न कुनै रुपमा चलिरहेकै थियो ।
अहिलेको राष्ट्रवादको बहमा मलाई लागिरहेको कुरा के हो भने यहाँ यस्तो नेतृत्वहरु राजनीतिक व्यक्तिहरु, पक्षहरु, विचारहरु छन् जोे जनताको भय दोहन गर्न हामीहरु केही गर्न सक्दैनौ, कमजोर छौं, यसको फाइदा अरुले उठाउँछन् भनेर गुमराहमा राखेर शासन गर्ने प्रवृत्तिका छन् । गत ७० वर्षदेखिको कुनै मित्र राष्टसँगको सम्बन्धमा त्यही भय देखाएर जनमत भड्काउने प्रयास भएको छ । एमसीसीको नाममा पनि त्यही प्रयास भएको हो ।
चीनकै नाममा पनि राजनीति गर्ने प्रयास भएकै छ । चीनमा माओ त्सेतुङ आउनुभयो । त्यत्रो ठूलो सांस्कृतिक क्रान्ति भयो । हामी त सँगै छौ नि । उनीहरुबाट हामीलाई पर्ने प्रभाव परेकै छ । हामीहरुको प्रभाव पनि उनीहरुमा छ । उनीहरुको शान्ति, स्थायित्व र भौगोलिक एकतामा हाम्रो पनि भूमिका होला ।
भारतसँग विशेष परिवेशका साथ बसिरहेका छौँ हामीहरु । उनीहरुको शान्ति सुरक्षामा हामीले सहयोग गरिरहेका छौँ । उनीहरुको बांग्लादेशको वार भन्नुस् वा १९६० को युद्ध हाम्रा मान्छेहरुले लडिदिएका छन् भाइचारा र उनीहरुको सुरक्षाका निम्ति । हुनत, ठूलो सानो, सन्धिका कुराहरु पनि चलिरहेकै छन् ।
तर, अहिले चलिरहेको राष्ट्रवादको बहस हामी सानो छौँ, हामी कमजोर छौँ भनेर भय र हीनताबोधको राजनीतिमार्फत शासन गर्ने लघुताभाषी सोचसहितको नियतका साथ आएको छ । यसकारण त्यो राष्ट्रवाद जसले लोकतन्त्रको परिकल्पना गर्छ, त्यो राष्ट्रवाद जसले एकताको सूत्रमा बाँध्ने कुरा गर्छ, त्यही राष्ट्रवाद अहिले विभाजनको रेखा बनिरहेको छ रे अल्पसंख्यकलाई आँखाको कसिंगर देखिरहेको छ । अर्को भाषाभाषीलाई कसिंगर देख्छ । यहाँसम्म कि आफ्नै घरका आमा, दिदी बहिनीहरुलाई पनि चुनौती देखिरहेको छ । यसकारण अहिलेको यो किसिमको राष्ट्रवाद संकीर्ण राष्ट्रवाद हो ।
अहिले त हामीलाई अर्को किसिमको चुनौती पनि राष्ट्रवादको नाममा आइरहेको छ । धार्मिकरुपमा बहुसंख्यक हामी छौँ भनेर भारतमा ‘धर्मान्ध’ राष्ट्रवाद जुन उब्जिरहेको छ त्यो पनि बहुल पहिचान, बहुल भाषा, बहुल संस्कृतिका लागि चुनौतीका रुपमा आएको छ । नेपालमा हिन्दुहरुको बहुलता हुँदाहुँदै पनि हामी सनातन हिन्दुहरु हौँ । जहाँ हिन्दुहरुभित्रै फरकफरक परम्परा छन् । दसैंको टीका पनि कसैले रातो लगाउँछन् कसैले सेतो लगाउँछन् ।
जहाँ कुल पूजामा कसैले बोका काट्छन् कसैले खिर पकाउँछन् । हिन्दु भनिए पनि हाम्रो चालचलन, रीतिपरंपरा फरकफरक छन् । कुनै एउटा मठले, कुनै एउटा धार्मिक नेतृत्वले यसो गर्नु हुन्छ यसो गर्नु हुँदैन भनेर भन्दैन । हामीलाई सिकाउने ल्याकत नै राख्दैन किनभने हामी स्वतन्त्र छौँ । यस किसिमको सौन्दर्य छ । यो सुन्दरतामा नयाँ धार्मिक राष्ट्रवादको नजर छ हरेक कुरा पहेलो देख्ने । यो नेपाली समाजका लागि राष्ट्रवादको चुनौती हो ।
यस विषयमा चासो राख्नेहरुले अलिकति अनुसन्धान गर्नुस् । बूढानीलकण्ठको मन्दिरमा बुद्ध धर्मावलम्बीहरुले पूजा गरिरहेका हुन्छन् । लामाले ढ्याङ्ग्रो ठटाउने गरिरहेका हुन्छन् । तर, पछिल्लो समय त्यहाँ पूरै बैष्णवीकरण भइरहेको छ । त्यहाँ जाँदा अहिले दक्षिण भारतको वैष्णव मन्दिर जस्तो लाग्न थालिसक्यो ।
पशुपतिमा वैशाख पूर्णिमामा बुद्धको मुकुट पहिराएर पूजा गरिन्छ । तर, त्यहाँ पनि धर्मान्धहरुले पशुपतिनाथमा बुद्धको मुकुट पहिराएर पूजा गर्ने होइन भनेर कुनै दिन हल्ला गर्नसक्ने जोखिम देखिन्छ । किनभने जसले धेरै धेरै पैसा दिन्छ, धेरै धेरै चन्दन दिन्छ, धेरै धेरै सुन चढाउँछ । त्यसले प्रभाव नपार्ला भन्न सकिन्न ।
हिन्दु नै भए पनि भारत र हाम्रो फरक छ । हाम्रो धर्म सनातन हिन्दु धर्म हो । यो कुरा मलाई भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयी र हाम्रा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीचको संवादका क्रममा ज्ञान भएको हो ।
दुई नेताबीच कुरा हँदा गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो – आप लोगोँ का हिन्दुत्व हैँ । हम लोगोँ का सनातन हिन्दु हैँ । हमारे बाप, दादा जो परंपरा से कर्ते आ रहे वही हमारे लिए हिन्दुत्व है । आप लोगोँ के लिए हिन्दुत्व ‘पोलिटिकल एजेन्डा’ हैँ । हम लोगोके लिए यह सांस्कृतिक हैँ ।
हाम्रोमा धर्म राजनीतिक मुद्दा होइन । अब जुन दिन राजनीतिक एजेन्डा बन्छ । त्यो बनेका दिन हामी हिन्दु अरुभन्दा फरक छौँ, हामी एक हुनुपर्छ भन्ने राजनीतिक पहिचानमा लिएर जान सक्छ । अहिलेसम्म जुन डरका कारणले अरु कारणले राजनीतिक राष्ट्रवादको कुरा भइरहेको छ भने भोलि धार्मिक राष्ट्रवादले सताउन सक्छ । मैले भनिरहेकै छु – राष्ट्रियता भनेको दोधारे तरबार हो । यसले मानिसलाई एक ठाउँ लिएर पनि आउँछ, राष्ट्रवादका नाममा धेरै मान्छेहरु मारिएका पनि छन् र विभाजनको कारण पनि बनेका छन् । राजनीतिक मतमतान्तर गरेर सम्प्रदायलाई बाँड्ने काम भयो भने त्यो राष्ट्रवादको एउटा नराम्रो पक्ष बन्छ ।
हाम्रोमा ठूला लगानी आउँदा पनि तर्सने र जनता भड्काउने चलन छ । अरुण तेस्रोमा विश्व बैंकले लगानी गर्न खोजे पनि राष्ट्रवाद जोखिममा पर्ने, एमसीसी आए पनि राष्ट्रवाद नै जोखिममा पर्ने जुन प्रवृत्ति देखिँदैछ त त्यो मैले माथि भनेजस्तो संकीर्ण र लघुताभाषी राष्ट्रवाद हो । जति जति नेपालको राजनीतिमा कम्युनिस्टहरुका बीचमा संशयहरु बढ्दै जान्छ, उनीहरुको संगठनको सिद्धान्त भनेको कुनैपनि मुद्दामा ‘एन्टिपोलिटिक्स’ खडा गर्ने हो । कुनैपनि मुद्दामा शत्रु उत्पन्न गर्ने हो ।
कम्युनिस्ट राजनीतिमा उनीहरु शत्रु खडा नगरे उभिनै सक्तैनन् । त्यही भएर उनीहरुले दस्तावेजमै प्रमुख दुस्मनसहितका कुरा लेखेर लिएर आउँछन् । अर्को दक्षिणपन्थी राष्ट्रवादीहरुको अवस्था पनि त्यही नै ठूलो कुरा हो । अल्पसंख्यक दुस्मन हुन् । विदेशी दुस्मन हुन्छन् । कसै न कसैलाई शत्रु मान्ने सूत्र खोज्नुपर्ने हुन्छ । आफ्नो संगठन निर्माण गर्न, आफूलाई संगठित राखिराख्न उग्र कम्युनिष्ट र उग्र दक्षीणपन्थी यी दुवै धारले शत्रु सिर्जना गर्छन् ।
अहिल चरम दक्षिणपन्थी र उग्र कम्युनिस्ट दुवैले ‘इमेजरी पोलिटिक्स’ गरिरहेका छन् । उनीहरु दुवै मुलुकमा शत्रु लागेको छ भनेर जनतालाई आफूतर्फ आकर्षित गर्ने प्रयासमा छन् । शत्रु खडा गर्नु उनीहरुको संगठनको टेक्स्टबुक÷गाइडेन्स हो, त्यो पूरा भएको छैन कि जस्तो मलाई लागिरहेको छ । त्यसो हुँदैनथ्यो भने बीसौँ वर्ष राजनीति गरिसकेका मान्छेहरू यो किसिमको लाञ्छनाको राजनीतिमा उत्रिँदैनथिए । एक अर्कामै पनि लाञ्छित त गरिरहेकै छन् उनीहरु । यसमा उदार लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस पनि कता कता तानिएकै छ । ऊ विभिन्न पछिल्ला प्रकरणहरुमा भने जोगिएको छ ।
नेपाली कांग्रेस उदार लोकतान्त्रिक पार्टी हो । तर, उसलाई पनि अरूले बहसमा तानिरहेका छन् । तिमीहरुको राष्ट्रियता के हो भन्दै प्रश्नहरु आउँछन् । अहिले भर्खरै गगनजीको भनाइ आएको छ । जसमा राष्ट्रवाद होइन देशभक्ति भनिएको छ । यो त्यति सजिलै त छैन । देशभक्ति पनि त्यति नै संकीर्ण हुनसक्छ जति राष्ट्रवाद हुन्छ ।
उदार राष्ट्रवाद र संकीर्ण राष्ट्रवादबीचको लडाइँ हो यो । उदार राष्ट्रवाद सबैलाई समेट्ने हो । राजनीतिक उत्पत्ति छ । अर्को अस्ति जनकपुर ‘साहित्य महोत्सव’मा बोल्ने क्रममा गगनले नेपालको देशभक्ति ‘पोस्ट कन्स्टिट्युसनल’ हो भन्दै थिए । युरोपमा हवरमासको ‘पोस्ट कन्स्टिट्युस्नल नेसनालिज्म’ भन्ने सिद्धान्त छ ।
युरोपिएन युनिएनको कन्स्टट्युसन बनिसकेपछि युरोपिएन राष्ट्रवाद छ कि छैन भन्दा कन्स्टिट्युसनल फ्रेमवर्क बनेको छ त्यसमा केही आधारभूत प्रत्याभूति छन् । मान्छेको मर्यादा, आवागमन र संगठनको स्वतन्त्रता, आधारभूत मौलिक अधिकारहरू युरोपिएनहरुको‘बन्डल अफ राइटस’ यरोपिएन युनिएनको विधानले गरेको छ । त्यो उपभोग गर्ने व्यक्तिहरु युरोपिएन हुन्छन् र त्यो प्रयोग गरेबापत हामी युरोपिएन भन्ने भावना जो आउँछ त्यो युरोपिएन कन्स्टिट्युसनको जगमा निर्माण गरेको युरोपिएन नराष्ट्रवाद भएकाले हवरमासले ‘पोस्ट कन्स्टिट्युसनल नेसनालिज्म’ भनेका हुन् ।
नेपालमा २०७२ को संविधानले पनि नेपालमा विविधता छ, जातीय, धार्मिक, सांस्कृतिक विविधताको स्वीकार गर्दै नेपाली नागरिक भन्नाले यी सारा अधिकारको उपभोग गर्ने, त्यसप्रति उसको दाबी गर्ने अधिकार भएको व्यक्ति मानेको छ । हाम्रो चुनौती कहाँ हो भने ०६२/६३को जनआन्दोलन जसको आधार समाजिक छ त्यही सामाजिक परिवेशलाई संविधानले परिभाषित गर्न खोजेको छ । त्यो परिभाषित गर्ने क्रममा त्यसबाट उत्पन्न राजनीतिबाट आत्तिएका मानिसहरुले फेरि पुरातनपन्थी राष्ट्रवादको कुरा गर्दैछन् । जसले संविधानलाई नै जोखिम देखिरहेको छ ।
विसं ०६२/६३को जनआन्दोलनमा राष्ट्रवादको आधार सामाजिक पहिचान थियो । यो देशमा अल्पसंख्यक समुदायहरु छन्, बहुसंख्यकहरु पनि छन् । त्यसबीचको राजनीतिक समन्वय खोज्ने, संविधानको सही कार्यान्वयन गर्ने र सही मार्गदर्शनमा हिँड्नुको साटो सुतिसकेका भूतलाई जगाउने प्रयास भएको छ ।
नेपालको सन्दर्भमा विकास निर्माण, वैदेशिक लगानीमा मात्र ‘राष्ट्रवाद’ छैन –उपलब्धिहरुलाई होच्याउने, त्यसलाई सिध्याउने नाममा पनि राष्ट्रवादको खाँडो जगाइँदै छ ।
राष्ट्रवाद धेरै मानिसहरुलाई एकैपटक आकर्षित गर्नका लागि एजेण्डा हो । त्यो पनि हामी बलिया छौँ भनेर ल्याउने भए एउटा कुरा हो । तर, हामी कमजोर छौँ, हामीलाई सिध्याइदिन्छ भन्ने छायादेखि तर्सने राष्ट्रवाद चाहिँ अहिलेको हो । आफ्नै छायादेखि तर्सने अहिलेको राष्ट्रवादले हामीलाई कमजोर बनाएर लैजान्छ । राष्ट्रवादको खेती गर्नेहरुले नयाँनयाँ मुद्दाको खोजी गर्दै जान्छ । अरुण तेस्रो वा एमसीसी वा अन्य यस्ता मुद्दामा जागेको ‘राष्ट्रवाद’ले हामीलाई फाइदा गर्दैन । बलियो होइन कमजोर बनाएको छ । यी मुद्दाले के कुरा बलियोसँग बुझाएको छ भने राष्ट्रवाद भन्दा महत्त्वपूर्ण कुरा मानिसहरूको दैनिक जीवन हो । यसलाई कसरी सरल बनाउने ? एक अर्काप्रतिको सहिष्णुताको आधार के हो ? एउटा नेपालीले अर्को नेपालीलाई नेपालीभित्रको अल्पसंख्यक पहिचानलाई कसरी स्वीकार गर्न सक्छौँ ? एउटै माटोमा, एउटै ठाउँमा जतिसुकै राष्ट्रभक्तिको झन्डा उठाएपनि आफ्नो बन्धुबान्धव, छिमेक सबैसँर्ग छायाका रुपमा तर्सन थाल्यौँ भने राष्ट्रवाद वा राष्ट्र बलियो हुन सक्दैन ।
राष्ट्रवादका नाममा अहिले विश्वसामु हाम्रो छवि कमजोर भइरहेको छ । आफ्नै छायादेखि तर्सने कुराले राष्ट्रवादलाई बलियो बनाउँदैन । मित्र पनि एउटा छाया हो । घरमा आगलागी भएर दुःख परेको बेला टाढाबाट कोही आउँदैछ भने त्यहाँ मान्छे देख्नुहुन्न हातमा बाल्टी/गाग्रो देख्नुहुन्छ, तपाई आश्वस्त हुनुहुन्छ । मान्छे जो सुकै होस् त्यसले तपाईँलाई आश्वस्त बनाइरहेको हुन्छ । तर, हामी विम्बहरु यस्ता बनाउँदैछौ जसका कारण आफ्र्नै छायादेखि डराउने अवस्था छ । ऐना हेर्दा आफौसँग डराउने अवस्था निर्माण गरिँदैछ ।
भीम रावलले केपी ओली, केपी ओलीले माधव नेपाल, माधव नेपालले प्रचण्ड, प्रचण्डले शेरबहादुर देउवा र देउवाले अर्को छायालाई शत्रु देख्ने र त्यही छाँयादेखि तर्सिने अवस्थाले हामीलाई बलियो बनाउँदैन त । आफूलाई चित्त नबुझेको विषय राख्न सक्ने अवस्था पनि हुनुपर्यो र एक अर्काप्रतिको विश्वास पनि रहनुपर्यो । त्यही भएर लोकतन्त्र एउटा अपरिहार्य तत्त्व हो ।
जतिसुकै राष्ट्रवादको कुरा गरे पनि लोकतन्त्रविना त्यसको सार्थकता कायम हुन सक्दैन । मलाई राष्ट्रवाद र लोकतन्त्र रोज भन्यो भने म लोकतन्त्र रोज्छु । किनभने त्यसले मलाई बताउँछ कि म को हुँ, म कोसँग सम्बन्ध राख्ने हुँ, मेरा को छन् ? तब बल्ल म राष्ट्रको कल्पना गर्न सक्छु ।
अहिले त लोकतन्त्रको जगलाई हिर्काउन गुमराहमा राख्ने काम भइरहेको छ । त्यसैले कहिलेकाहिँ राष्ट्रवाद कालो तुवालो भएर आउँछ । त्यसलाई चिर्न जरुरी छ । त्यसलाई चिर्ने भनेको आखिर लोकतन्त्रले नै हो । जुन ठाउँमा जनताले आफ्नो विवेक प्रयोग गर्दैनन् त्यस ठाउँमा न लोकतन्त्र फस्टाउँछ न त राष्ट्रवाद नै फस्टाउँछ ।
कतिपय ‘विचारभन्दा माथि देश’ भन्नेहरु पनि देखिँदैछन् । विचारभन्दा माथि देश भन्नेका लागि पनि देश भनेको त जनता हुन् ।
अनि जनता भनेको पनि मै भने भने के हुन्छ ? जनताविना देश हुँदैन । देश त अमूर्त हुन्छ । जहाँ जनता हुन्छन् त्यहाँमात्र देश हुन्छ ।
प्यालेस्टाइन छैन तर प्यालेस्टिनी राष्ट्रवाद त छ । प्यालेस्टाइन भन्ने विचार छ र न त्यो राष्ट्रियता पनि छ । प्यालेस्टाइन भन्ने यासिर आराफात मात्रै त होइन रहेछ नि । अनि विनाविचार देश हुन्छ त ? उनले विचार भनेको समाजवाद, कम्युनिज्म भन्नेमात्र बुझेका हुन् भने मैले भन्नु केही छैन । दुनियाँमा यस्ता थुप्रै उदाहरणछन् जहाँ देश नभए पनि राष्ट्रियता छ । त्यसले मानिहरुलाई एकजुट गराइरहेको छ । उग्र वामपन्थ र उग्र दक्षिणपन्थ एउटै फुलिस्केपका दुइवटा पाटा हुन् । जसलाई पट्यायो भने जोडिन पुग्छन् ।
(अध्येता शर्मासँगको कुराकानीमा आधारित)