site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
मधेस कि मिथिला ?

अचेल प्रदेश नम्बर–२ को नामकरण मधेस प्रदेश चर्चाको विषय बनेको छ । मधेस नामका पक्षधरहरूले प्रदेशले पहिचान पाएको भनी गर्व गर्न थालेका छन् भने असन्तुष्ट पक्षले मिथिलाको पहिचान अपहरण गरी ‘मधेस’ थुपारिएको आरोप लगाएका छन् । त्यसैले प्रदेशको नाम घोषणा भएकै दिन प्रदेशमा एकातिर दीपावली मनाइयो, अर्कोतिर जनकपुरधामको जानकीचोकमा पुतला दहन समेत भयो । सामाजिक सञ्जालमा नामको पक्ष र विपक्षमा स्ट्याटस लेख्ने क्रम जारी नै छ ।

अहिलेसम्म नामांकित प्रदेशहरूको नामहरूमाथि दृष्टिपात गर्दा कुनै पनि प्रदेशको नाम पहिचानको आधारमा राखिएको पाइँदैन । नामकरणमा नदीनाला, ठाउँ, पूर्वनामको आधार मात्र लिएको देखिन्छ । किन प्रदेशहरूले पहिचानको स्थान पाएन त ? मधेस आन्दोलन, आदिवासी, जनजाति, थारु, मुस्लिम, दलित, मिथिला आन्दोलन सबैका ‘म्यान्डेट’ थिए– अधिकार, सम्मान र पहिचान । पहिलो संविधानसभा अवधिमा गठित राज्य पुनर्संरचना आयोगले सामर्थ्य र पहिचानको आधारमा एघारवटा प्रदेश बनाउने सिफारिस गरेको थियो– किरात, मगरात, ताम्सालिङ, नेवा, तमुवान, लिम्बुवान, कर्णाली–खप्तड, लुम्बिनी–अवध, थारुवान, मिथिला–भोजपुरा–कोच–मधेस, दलित प्रदेश । संविधानसभाअन्तर्गत रहेको राज्य पुनर्संरचना समितिले पनि त्यसलाई स्वीकार गरेको थियो । पहिलो संविधानसभाको अवसान भएको दिन नै अधिकारवादी–पहिचानवादी जनताको सपनामा ग्रहण लागेको थियो ।

दोस्रो संविधानसभा र त्यसपछिको सरकारमा परिस्थिति फरक भयो । संविधानसभा र राज्य पुनर्संरचनाका निम्ति दशवर्षे सशस्त्र संघर्ष गर्ने नेकपा माओवादी तथा पहिचानवादी मधेसी, मैथिल, आदिवासी, जनजातिहरूको प्रतिनिधित्व कमजोर भयो । वामपन्थी–लोकतान्त्रिक शक्तिको बहुमत भए पनि महेन्द्रवादी सोच हावी भयो । संघीयता मन नपराउने शक्तिहरूको नेतृत्वमा पहिचानवादीहरूलाई पाखा लगाई ‘फास्ट ट्रयाक’मा संविधान जारी गरियो । फलस्वरूप, नेपालको संविधानमा गणतन्त्र, संघीयता, मौलिक हक, समानुपातिक–समावेशी सिद्धान्त र समाजवादको प्रत्याभूति गरिए पनि राज्य पुनर्संरचनाको गाईजात्रा नै भयो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हजारौँ बहस–अन्तरक्रिया, लाखौँ नागरिकको सुझाव, राज्य पुनर्संरचना आयोगको सिफारिस, पहिचानवादीहरूको सडकमा घन्केको स्वरलाई बेवास्ता गरी अवैज्ञानिक ढंगले संविधानमा सात प्रदेशको स्थापना गरियो । प्रदेश–२ बाहेक लगभग पुरानै संरचनाअनुसार हिमाल, पहाड, तराईका जिल्लाहरू मिलाई सबै प्रदेशको सीमांकन गरियो । तराईलाई टुक्रा–टुक्रा पारियो । नामांकनचाहिं प्रदेशसभाको जिम्मा लगाइयो । यसरी प्रदेशको सीमांकन र नामांकनसम्बन्धी द्वन्द्वको बीजारोपण संविधानमा नै भएको देखिन्छ ।

नामांकित पाँच प्रदेशहरूको चर्चा गर्दा केन्द्रीय संसद्, सरकार र प्रदेशसभाहरूमा पहिचानविरोधी वामपन्थी शक्तिको हालीमुहाली भएकोले नामांकन प्रक्रियामा गणितीय तमासा भयो । पहिचानसहितको नामांकनको लागि पुनः भएको नेवा, मगरात, ताम्सालिङ, थारुवानका आन्दोलनलाई बेवास्ता गरी चुरे–भावर र सुदूरपश्चिमको नाउँमा प्रतिक्रियावादी संघर्ष गराएका शक्तिहरूले पूर्वअञ्चल तथा विकास क्षेत्रका नामहरू नवीकृत गरेर प्रदेशहरूको नामकरण गराए— वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश । झ्वाट्ट हेर्दा लुम्बिनी शब्द पहिचानबोधकजस्तो लाग्छ, तर यो कुनै सभ्यता, भाषा, संस्कृति होइन, ठूलो भूखण्ड पनि होइन । लुम्बिनी एउटा विभूतिको जन्मस्थान मात्र हो । बरु, विभूतिको नाउँ पहिचानबोधक हुनसक्छ ।

Royal Enfield Island Ad

जहाँसम्म प्रदेश नम्बर–२ को नामांकनको प्रश्न छ, सीमांकनसँग जोडिएको छ । यसमा तराईका आठ जिल्ला गाभिएका छन्— सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा । यो भूभाग मधेस हो कि मिथिला ?

सामान्यतया मधेस भन्नाले नेपालको दक्षिणी भूभाग, समतल मैदान, पूर्वदेखि पश्चिमसम्म तराईका बाइस जिल्ला बुझिन्छ । मधेस कुनै सभ्यता वा संस्कृति होइन । मधेस साढे दुई सय वर्षको भूगोल र इतिहास हो । ‘मधेस’मा ईकार थपेर शासकहरूले बोकाएको अपमानजनक शब्द पनि हो । तापनि, मधेसलाई सामान्य पहिचान मान्न सकिन्छ । मधेस प्रदेशको लागि बाइसै जिल्लाका बासिन्दाले तीनपटक आन्दोलन गरे, अमूल्य सहादत दिए । मधेसकेन्द्रित दलहरूले ‘एक मधेस एक प्रदेश’को नारा घन्काएका थिए । पछि ‘एक मधेस दुई प्रदेश’ पाए पनि चित्त बुझाउने मनस्थितिमा पुगेका थिए । तर, संविधानले सिंगो मधेस पनि दिएन, दुई प्रदेश पनि दिएन, आठ जिल्लाको टुक्रा (प्रदेश) दियो, जसलाई मधेसवादीहरूले ‘मधेस’ प्राप्त भएको माने भने मिथिलावादीहरूले मिथिलाको आन्दोलन र सहादतको परिणामस्वरूप ‘मिथिला’ पाएको ठाने ।

मौलिक पहिचानको दृष्टिले उक्त आठ जिल्लाको क्षेत्र शतप्रतिशत मिथिला ठहरिन्छ । भौगोलिक सीमालाई बृहत् विष्णुपुराणले प्रमाणित गरेको छ– 
    कौशिकीन्तु समारभ्य गण्डकीमधिगम्य वै ।
    योजनानी चतुर्विंशद व्यायामः परिकीर्तित: ।।
    गङ्गाप्रवाहमारभ्य यावद्धैमवतं वनम् ।
    विस्तारः षोड़श प्रोक्तो देशस्य कुरुनन्दन ।
    मिथिला नाम नगरी तत्रास्ते लोकविश्रुता ।।

अर्थात्, पूर्वको कोसीदेखि पश्चिमको गण्डकीसम्म तथा दक्षिणको गंगादेखि उत्तरको हिमालयसम्मको ९६ कोस लामो र ६४ कोस चौडा मिथिला देश हो ।
    मिथिला रामायण पनि साक्ष्य हो—
        गंगा बहथि जनिक दक्षिणदिशि,
            पूर्व कौशिकी धारा ।
        पश्चिम बहथि गण्डकी,
            उत्तर हिमवत बल विस्तारा ।।

मिथिलाको वर्णन शतपथ ब्राह्मण, भागवतपुराण, स्कन्दपुराण, रामायण, महाभारत, रघुवंशजस्ता प्राचीन ग्रन्थहरूमा पाइन्छ । मिथिला महात्म्यमा मिथिलाका बाह्रवटा नाम उल्लेख गरिएका छन्–
        मिथिला तीरभुक्तिश्च वैदेही नैमिकाननम् ।
        ज्ञानक्षेत्रं कृपापीठं स्वर्णलांगल पद्धति: ।।
        जानकीजन्मभूमिश्च निरपेक्षा विक्लम्बा ।
        रामानन्दकरी विश्वभाविनी नित्यमंगला ।।

इतिहासकार प्रा. उपेन्द्र ठाकुरका अनुसार मिथिलाको प्रारम्भिक नाम विदेह हो । ऋग्वेदकालदेखि नै विदेह राज्यको अस्तित्व (३००० ई.पू. देखि ६०० ई.पू. सम्म) पाइन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम एवम् तेह्रौँ शताब्दीको तिरहुत (मिथिला) राज्यको राजधानी सिम्रौनगढ यसै प्रदेशमा अवस्थित छन् । यस भूभागमा मैथिली भाषाको बाहुल्य छ । सबै जिल्लाका बासिन्दाहरूले (पहाडे र मुस्लिम समुदायबाहेक) मैथिली संस्कृति–परम्पराअनुसार नै जीवनशैली अपनाएका छन् । तसर्थ, यस प्रदेशको नाम मिथिला वा विदेह वा तिरहुत प्रदेश सर्वोत्तम हुन सक्थ्यो । मिथिला–भोजपुरा, जनक प्रदेश, जानकी प्रदेश, मिथिला–मधेस, मिथिला–भोजपुरा–मधेस नाममध्ये कुनै नाम पाए पनि प्रदेशका पहिचान समर्थक दल, साहित्यकार, विद्वान्, भाषा–संस्कृति अभियन्ता, मिथिलावासी चित्त बुझाउन सक्थे ।

जहाँसम्म मधेस नामकरणको विषय छ, अपेक्षित बाइस जिल्ला पाएको भए मधेस प्रदेश घोषणा गर्दा प्रायः सबैलाई स्वीकार हुन्थ्यो । त्यसभित्र मिथिला, विराट, अवध, थरुहटजस्ता राजनीतिक वा प्रशासनिक इकाइहरू कायम गर्न सकिन्थ्यो । आठ जिल्लाको मधेस बनाएपछि यसभित्रको मिथिलावादी, यसबाहेकका चौध जिल्लावासी र मधेसी सहिदहरू अपमानित भएका छन् । मधेसी दलहरूको पूर्वाग्रह, लेनदेन र गणितीय खेलको कारण मिथिला क्षेत्र मधेस बनेको छ, जुन हरेक दृष्टिले अनुपयुक्त साबित भएको छ । सस्तो लोकप्रियता कमाई आउँदो निर्वाचनमा भोट तान्ने दाउले मधेस प्रदेश घोषित गरिएको छ ।

bidehaprem@gmail.com

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro