प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस अहिले महाधिवेसनको तयारीमा जुटेको छ । सरकार स्वेच्छाचारी हुँदासमेत कांग्रेस नेतृत्व सरकारविरुद्ध बोल्न नसकेको आरोप लगातार लागिरहेको छ । तर कांग्रेसका केही युवा नेताहरु सरकारसहित आफ्नै नेतृत्वको समेत आलोचना गर्न पछि परेका छैनन् । त्यसमध्येका एक हुन् डा. चन्द्र भण्डारी ।
उनले कम्युनिष्ट पार्टीले जनमतको कदर गर्न नसकेको, कांग्रेसले पनि सरकारलाई घचघच्याउन नसकेकोलगायतका विषय निरन्तर उठाइरहेका छन् । आगामी महाधिवेशनमा युवा समूहको तयारी, कांग्रेसको अवस्थालगायतका विषयमा डा. भण्डारीसँग बाह्रखरीका केशव सावदले गरेको कुराकानीः
नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवाद समाधान भइसकेको हो ?
नेपाली कांग्रसभित्र आशन्न महाधिवेशनका सम्बन्धमा, सरकारका सम्बन्धमा, अन्तराष्ट्रिय–राष्ट्रिय सम्बन्धका विषयमा विभिन्न नेताहरुका आ–आफृनै दृष्टिकोणहरु छन् । एउटामात्र धु्रवसत्य कुरा परिवर्तन हो तर हाम्रा धेरै नेताहरुले ‘रकेटिङ स्पिड’ को परिवर्तनलाई अंगिकार गर्न सकिराख्नुभएको छैन । विज्ञान र प्रविधिको विकासले हामी नचाहँदा नचाहँदै पनि विश्व दौडमा आफूलाई उभ्याउन बाध्य छौं ।
हाम्रा धेरैजसो नेताहरुका दृष्टिकोणहरु ‘डेट एक्सपायर’ भएको औषधि जस्ता छन् । अहिलेको ‘डिजिटलाइज्ड’, ‘टेक्नो फ्रेन्ड्ली’, ‘ग्लोबलाइज्ड’ विश्वमा हामी कहाँ छौं र हामी आफ्नो स्वाभिमानका साथ उभिनका लागि कुन–कुरा आवश्यक पर्दछ भन्ने बुझ्नु जरुरी छ ।
एउटा सानो ‘ब्लेड’ ले दाह्री काट्छ भने त्यसका लागि बन्चरोको खोजी गर्नु र प्रयोग गर्नु दुबै मुर्खता हो । अर्को कुरा गए–मरेका कुराहरुमा अल्झिराख्नु भनेको गाडेका मुर्दाहरु उखेल्नु हो ।
हामी कांग्रेसभित्रका विवादहरु मिलाउन छ दिनसम्म लगातार सभापतिको निवासमा बस्यौं । जहाँ कतिपय बहस यि दुबै कुराका वरिपरि केन्द्रित भए । २० मिनेटको कामको लागि छ दिन खर्च गर्नु के उचित हो र ? एक ‘क्लिक’ मा सबै काम हुने बानी परेको समयमा नेतृत्वले कति समय खर्च गर्यो भन्दा पनि निष्कर्ष के निक्ल्यो भन्ने महत्वपूर्ण हुन्छ ।
हामीले पनि हाम्रा नेताहरुलाई ‘वान क्लिक’ मा नै आफ्नो विचार व्यक्त गर्ने र बहसलाई तन्काउने भन्दा पनि समाधान खोज्नुपर्नेमा जोड दिएका छौं । अन्तमा अनेक प्रयास गरेर हामी समाधान खोज्न सफल भएका छौं । नेपाली राजनीतिमा नीतिगत झगडा भन्दा पनि नेतागण झगडाले प्रश्रय पाउँदै आएको छ जसले गर्दा कार्यकर्ता र जनता पनि नीति भन्दा नेताका पिछलग्गु जस्तै देखिन्छन् ।
जसले गर्दा नेतामा पनि म नै सर्वेसर्वा हुँ भन्ने गलत मनोदशा हुन्छ र ब्रह्मनाल पुग्दासम्म पनि आफू कुर्चीमा बसी राख्न चाहन्छन् । यही मनोदशाको सिन्डिकेटको सिकार नवप्रतिभा र नयाँ पुस्ता भएको छ र जसले गर्दा हामी, हाम्रो समाज, पार्टीहरू र देश नै पछि परेको छ ।
नेतृत्वले सुझबुझपूर्ण रुपमा कुनै पनि निर्णय गर्नुपर्दछ । समय बलवान हुन्छ तसर्थ समयानुसार हिँड्न नसक्नेहरु स्वतः रेसबाट ‘आउट’ हुन्छन् । तर, दुःखको कुरा के हो भने नेपाल यो वा त्यो नाममा सधैं प्रयोगशाला बनी रह्यो र नेताहरु सधैं ‘फ्रेम गेम’ मा रमाइ रहे र जनता निरास भएका छन् ।
कम्युनिस्ट पार्टीले प्राप्त गरेको यति ठूलो जनमतको कदर नगर्ने ? आपसमा आरोप– प्रत्यारोपमा रमाइरहेको हाम्रो नेतृत्व समक्ष अब विश्वासको ठूलो संकट पैदा भएको मैले महसुस गरेको छु । यही परिस्थिति रहे नेता र पार्टीहरूप्रति जनविश्वास नै रहँदैन, जसका झिल्का बेलाबेलामा मन्डलामा देखिने गरेका छन् । यि सबै कुराहरुलाई दृष्टिगत गरी हामी समाधान तर्फ अग्रसर भयौं । अब अरु कुरा सभापतिको कार्यन्वनमा भर पर्दछ ।
केन्द्रीय कार्यसमिति बैठकअघि संस्थापनइतर समूहका अनेक प्रकारका कुराहरु सुनिएका थिए । अनेक प्रकारका असन्तुष्टिहरु छताछुल्ल भएका थिए । तर, कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा त खासै माग सम्बोधन हुने गरी निर्णय भएन छन् नि ?
नेपाली कांग्रेसभित्र देखिएका चारवटा समस्याहरु हुन् । एउटा सक्रिय सदस्यताको व्यवस्था । त्यो हाम्रो विधानमा स्पष्ट गरिएको छ ।
दोस्रो समायोजनको समस्या । जुन केन्द्रीय समितिले बनाएको निर्देशिकाले नै यसको समाधान गरेको छ । तेस्रो हो– भ्रातृ संस्था, शुभेच्छुक संस्था । त्यसका बारेमा पनि विधानमा स्पष्ट व्यवस्था छ कि महाधिवेशन नगरिकन पार्टीको महाधिवेशनमा प्रवेश गर्न नपाइने भनेर । चौथो हो– विभागको गठन । विभागको गठनमा पनि सभापति आफैँ विधान निर्माण गरेको व्यक्ति, उहाँ आफैँ त्यसको समाधान गर्ने कुर्सीमा हुनुहुन्छ ।
यसकारण हाम्रो पार्टीमा कुनै पनि वैधनिक समस्या होइन । छोटो चित्त, छोटो दिल र आफैँले आफूलाई नचिन्दाको समस्या हो कांग्रेसमा ।
भनेपछि पार्टी सभापति विधानअनुसार चल्ने शर्तमा सबै समस्या समाधान भएका हुन् ?
विधानअनुसार चल्ने भनिसकेपछि हाम्रोमा कुनै विवाद नै हुँदैन । कम्युनिस्टहरु जस्तो मिटिङ गरेर भन्ने कुरा भएन । हामीले मिटिङ बारम्बार गरेका छौं । सभापतिले चासो दिनुभएन भन्ने कुरा होइन । सभापतिले पनि यसको बारेमा चासो दिनुभएको छ । यत्रो बहस गराउनुनै ठूलो कुरा हो । उहाँलाई लागेका आरोपको पनि उहाँले बहस गराउनुभयो । यो अत्यन्त सुन्दर पक्ष हो । हाम्रो अर्को पक्ष के हो भने– अधिवेशन आउँदा अलिअलि एकअर्कामा वादविवाद हुनु ‘नेचुरल’ कुराका रुपमा मात्र लिनुपर्छ ।
केन्द्रीय कार्यसमितिबाट बहुमत प्रयोग गरेर सभापतिले थप गर्नुभएको र विस्तार गर्नुभएको विभागहरु अब मान्य हो तपाईंहरुलाई ?
विधानतः हाम्रो पार्टीभित्र सभापतिको केन्द्रीय समितिमा बहुमत छ, । तथापि, विधानलाई मिच्न पाउनु हुन्न । सभापतिको सोचाई पद दिए पछि आफ्नो हुन्छ भन्ने छ, जुन मानव समाजमा गलत प्रमाणित भइसकेको छ । तर, राजनीतिमा कति मुद्दाहरु यस्ता हुन्छन् ति नाराका रुपमा उठी रहन्छन समाधान हुँदैन । विभागको जुन मुद्दा छ, यो विधानतहः सभापतिजीले दुई महिनाभित्र गर्ने कुरालाई पछि गर्नुभएको छ भन्ने हो । एउटा नेता जुन विधान अनुसार सभापति बन्दछ जो संरक्षक हो उसले विधान पालना गर्दिन भन्न नैतिक रूपले मिल्दैन ।
पार्टीभित्रका विवादहरु त मिलेछन्, के अब नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति अर्थात आगामी फागुनमै हुन्छ त ?
मंसिर मसान्तसम्म हामीले क्रियाशील सदस्यता वितरण र नवीकरणको समयावधि सिमांकन गरिसकेपछि बाँकी रहेको अवधिमा अहिलेको ‘टेक्नोलोजी’ को प्रयोग गर्ने हो भने महाधिवेशन नहुने भन्ने कुरा सम्भव नै छैन । मैले पहिलै पनि भनेको छु, हामीसँग असम्भव भन्ने शब्द छैन ।
तथापि, महाधिवेशनका निम्ति नेताहरुका बीचमा सर्वसम्मति हुनुप¥यो । सहमति नभएर एकले अर्कालाई छोडेर महाधिवेशनमा जानु भएन । यस कारणले फागनुमा भएन भने पनि हामी अहिलेको महामारीले गर्दा, वा क्रियाशील सदस्यताको समस्या आयो भने पनि केही समय सर्ला । तर, पनि सर्वसहमति गरेर महाधिवेशनको मिती सर्न सक्दछ? कति नेताहरुले आगामी जेठमा पनि भन्नुभएको छ । कति नेताहरुले त्यो भन्दा अगाडि पनि भन्नुभएको छ । अब निर्धारण हुने मितिका निम्ति हाम्रा बीचमा त्यति धेरै मतभिन्नता हुँदैन ।
नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहस जोडतोडका साथ चलेको छ । तपाईं लगायतका केही युवा नेताहरु त्यसका लागि कस्सिनु पनि भएको छ । कांग्रेसका सबै गुटका युवाहरु एकजुट भएर पुरानो पुस्ताका नेताहरु विस्थापन गर्न तयार हुनुहुन्छ ?
नेतृत्व परिवर्तन भनेको वास्तविक रुपमा अहिले हामीले व्यक्तिका रुपमा कुरा गरेका छौं । हामीले नेपालमा उमेरका कुरा गरेका छौं । यि दुईटै गलत चिन्तन हुन् । नेतृत्व भनेको दृष्टिकोण हो । दृष्टिकोण के हो भने जसरी हाम्री आमाले हामीलाई आप्mनो सन्तानका रुपमा हुर्काउनुभयो, त्यसैगरी आमालगायत हामीलाई नेपाल माताले हुर्काइन् । उनीलाई आघात पर्दा हामी मौन बस्ने कि नबस्ने भन्ने कुरा हो ।
त्यसकारणले सबैभन्दा ठूलो कुरा देश हो, जनता हो । देश र जनतालाई आपत्–विपत् पर्दा नबोल्ने नेतृत्वबाट भोलिको चुनौती समाधान हुन सक्दैन भन्ने हाम्रो दृष्टिकोण हो । त्यसकारण यसमा उमेर पनि छैन, वर्तमान नेताहरुलाई भन्नु पनि केही छैन । अहिलेसम्म सत्तामा बसेका नेताहरुलाई भन्नु के छ भने चाहे प्रतिपक्षमा होउन, चाहे सत्ता पक्षमा ।
उहाँहरुलाई सोधौं अन्तराष्ट्रिय क्षेत्रमा मेरो पासपोर्टको मूल्य कति हो ? प्रचण्डको पासपोर्टमा भिसा लाग्ला, केपी ओलीको लाग्ला, शेरबहादुरजीको लाग्ला । अरु पूर्वप्रधानमन्त्रीहरुको लाग्ला । तर, अन्तर्राष्ट्रिय क्षेत्रमा जनताको पासपोर्टको मूल्य कति हो ? कुन स्तरमा उहाँहरुले राख्नु भएको छ ?
मेरो देश हिमाल, पहाड, तराई मिलेर बनेको छ । विभिन्न धर्म, संस्कृतिहरु छन। विभिन्न पोसाकहरु छ । चाहे गम्बु होस्, चाहे टोपी होस्, चाहे धोती होस् । त्यसको मूल्य कति हो ? लुम्बिनी भने पछि शान्ति भनेर बुझिन्छ, त्यो मेरो लुम्बिनीको पिस (शान्ति) को मूल्य कति हो ? मेरो सगरमाथाको मूल्य कति हो ? जसले दोस्रो विश्वयुद्धमा वीर गोर्खाली उपाधि प्राप्त गरे, ती गोर्खालीको मूल्य कति हो ? त्यो वीर गोर्खाली भनाउने मेरो कोदोको मूल्य कति हो ?
सवाल यही हो । यसको आधारमा वर्तमान नेताहरुले जवाफ दिनपर्छ, नेपाली जनतालाई । जुनसुकै पार्टीमा विभाजन भए पनि । त्यसको आधारमा उहाँहरु रहने–नरहने ‘डिटरमाइन’ गर्नुपर्छ कार्यकर्ताहरुले पनि । कार्यकर्ताको ‘ल्याप’ पनि ठीक हुनुप¥यो । ग्रुपको आधारमा, स्वार्थको आधारमा लाग्नुभएन । यत्तिमात्रै छ मेरो यसमा भन्नु ।
तपाईंहरु पहिलो पंक्तिमा रहनुभएका नेताहरुबाट अब नेपाली कांग्रेस चल्न सक्दैन भन्ने निष्कर्षमा पुग्नुभएको हो ?
चल्छ कि चल्दैन भन्ने कुरामा ‘डाइरेक्ट्ली’ चल्दैन भन्यो भने उहाँहरुले पीर मान्नुहोला । तर, चल्छ कि चल्दैन भन्ने कुरा त संसारमा कम्युनिस्टहरु छैनन्, चुनावबाट आएका छैनन् । अहिले पनि भारतको बिहारमा भएको चुनावमा देखिहाल्नुभयो, कम्युनिस्टहरु कहाँ छन् । हाम्रोमा दुई तिहाइ कम्युनिस्ट आएपछि उहाँहरुबाट चल्दो त रहेन छ भन्ने पुष्टि भएन र ? यस्तो अवस्था छ जनताको, यस्तो दुःख पाइरहेका छन् । अहिले कांग्रेसले उठाउनुपर्ने यत्रो राजनीतिक मुद्दाहरु छन् । यस्ता मुद्दालाई छोडेर सानसाना कुरामा लाग्ने नेताबाट चल्छ ? चल्दैन ।
पहिलो पंक्तिका नेताहरुबाट अब पार्टी चल्दैन भन्ने निष्कर्षमा पुग्नुभएको हो भने अनेक गुट–उपगुटमा रहेका तपाईं युवा भनिने नेताहरु एक ठाउँमा उभिन सक्नुहुन्छ ?
धेरैजसो त हामी विचारको दृष्टिकोणले, चुनौतीको सामना गर्नुपर्छ भन्ने दृष्टिकोणले, अन्तर्राष्ट्रिय राजनीतिक दृष्टिकोणले, अहिले विश्वमा उठेका मुद्दाहरुलाई कसरी समाधान गर्ने भन्ने दृष्टिकोणले हामी सबै एकठाउँमै छौं । तर, नेपालमा स्वार्थ भन्ने कुरा संस्कृति भइसक्यो । कुनै गुटमा लागेर स्वार्थ पूरा गर्ने, सांसद बन्ने, मन्त्री बन्ने, पैसा कमाउने, गाडी किन्ने स्वार्थ बनिसकेको कारणले अरु देशमा जस्तो ‘प्mलेक्जिवल’ नेपालमा छैन । नेपालको पार्टीभित्र पनि छैन ।
तथापि, हामी त्यो बनाउनका निम्ति कोसिस गरिरहेका छौं । किन भने अब नेपाली कांग्रेसको आउँदो महाधिवेशनमा जति प्रतिनिधिहरु हुन्छन्, हाम्रो पालामा, हामीले निर्माण गरेका संघसंगठनबाटै आउने कारणले गर्दा हामी एकजुट भएर कांग्रैसलाई निकास दिनपर्छ भन्ने दृष्टिकोण हामी धेरैले बोकेका छौं ।
यस विषयमा तपाईंहरु फरक–फरक समूहमा रहनुभएका युवा नेताहरुले छलफल, अन्तरक्रिया गर्नुभएको छ ?
हामीले यसका बारेमा धेरै पटक छलफल गरेका छौं । बसेका छौं । केही साथीहरुले त सामुहिक ‘डकुमेन्ट’ पनि निकालेका छौं । केही साथीहरुले देशमा परेका समस्याहरुका बारेमा पटक–पटक बोलेका छौं । चाहे आन्तरिक रुपमा होस् चाहे बाह्य रुपमा ।
स्वार्थपूर्तिका लागि गुटमा जाने, गुटको आड लिने नेपालमा संस्कृति नै बनिसकेको भन्नुभयो । १३ औं महाधिवेशनमा तपाईं आफैँ सभापति शेरबहादुर देउवाकै समूहमा हुनुहुन्थ्यो । पछिल्लो अवस्थामा तपाईं उहाँविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आउनुभएको छ । सभापति देउवाबाट स्वार्थ पूर्ति नभएर अर्को गुटमा लाग्नुभएको हो ?
मेरो राजनीतिमा म धेरै वर्ष जेल बसेँ । मेरो कुनै व्यक्तिगत स्वार्थका निम्ति म राजनीतिमा लागेको होइन । मैले यो देश बनाउन सक्छु कि, एउटा प्रजातान्त्रिक पार्टीलाई सैद्धान्तिक र व्यवहारिक बनाउन सकिन्छ कि भनेर राजनीतिमा लागेको हुँ । गुट भनेको विचार हो । त्यो आधारमा कसले कसलाई भोट दिने भन्ने कुरालाई आधार मानेर मुद्दा बनाइराख्न उपयुक्त हुँदैन । ट्रम्प (अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प) हिजो कति मानिसले भोट दिएका थिए ? हिजो मत दिएका पूर्वराष्ट्रपतिका परिवारले समेत जो बाइडेनलाई भोट दिनका निम्ति आह्वान गरे ।
त्यसकारण तपाईंहरु जस्तो पत्रकारले सबै मानिसहरु एकै ठाउँमात्रै बसुन् भन्ने दृष्टिकोणका आधारमा विचार बनाउनुहुन्न्, प्रश्न बनाउनु हुँदैन । किन भने त्यो समयअनुसार मुद्दा र ग्रुपहरु बनेको थियो भन्ने बुझ्नुपर्दछ ।
कुनै राजनीतिक दलभित्र आन्तरिक विवाद चर्किदा कुनै अमुक देशको राजदूतले नेताहरुको घर–घर दौडिने क्रियाकलापलाई नेपाली कांग्रेसले कसरी हेरेको छ ?
कुनै पनि देशको सरकारले वा कुनै पनि देशको प्रतिपक्षले विदेशी यो कूटनीतिज्ञहरुलाई भेट्नु हुँदैन, कुटनीतिज्ञहरु जानु हुँदैन भन्ने मेरो मान्यता होइन । तर, नेपालमा कस्तो बनाइयो भने भारतीय आयो भने यहाँको मिडियाले पनि खेद्ने, चाइनिज आयो भने मौनधारण गर्ने । भारतले सीमाना मिच्यो भनेर डंका पिट्ने, चीनले गर्यो भने होइन भन्ने । यो प्रवृत्ति दलाली टाइपको देखियो ।
कुरा के हो भने विदेशीसँग गरिने कुरा जनताले थाहा पाउनु पर्दछ साथै विश्वविद्यालयका सम्पत्ति बन्नु पर्दछ । यस विषयमा म चाणक्यको विदेश नीतिलाई उपयुक्त मान्छु जसमा उनले चन्द्रगुप्तको छोराको अन्नप्राशनमा आउँदा पनि विदेशी राजाको पछाडि गुप्तचर खटाएका थिए किनभने उनी चन्द्रगुप्तकाससूरा मात्र नभइ एउटा देशका राजा पनि थिए ।
ज्ञानका लागि त हामी कहीँ धाउन पर्दैन, हाम्रो ईतिहास र धर्म, संस्कृति, रीतिरिवाज साहित्य काफी छ । दूतका रूपमा हनुमानको लंका पुग्नु र लंका दहन गर्नु, अंगदको रावणको दरबारको प्रस्तुति, श्रीकृष्णको शान्तिदूतको रूपमा विदुरको घरमा भोजन र बास बस्नु, पृथ्वीनारायण शाहले एकीकरणका बेला अपनाएको कूटनीति, जंगबहादुरको बेलायत भ्रमण सबैले हाम्रो विदेशनीति र कूटनीतिलाई प्रष्ट पार्छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा राष्ट्रिय स्वार्थ हो ।
मेरो देशको आवश्यकता के हो, मेरो जनताको आवश्यकता के हो, के गरेर समाधान गर्छौ भन्ने मुद्दामा पनि कहिले दिल्लीलाई ताक्ने, कहिले पेकिङलाई ताक्ने, कहिले वासिङटनलाई ताक्ने दलाली प्रवृत्ति यस्ता कुराहरु देखिएका छन् । यसलाई हामीले रोक्न पर्छ ।
किन भने नेपालको सीमानामा एकतिर भारत छ, अर्कोतिर चीन छ । अर्बौँ जनसंख्या भएको चाहे युरोप होस्, चाहे अमेरिका होस् सबैले यिनीहरुसँग सम्बन्ध सुधार्न चाहन्न । किनकी विश्व नाफामा लागेको छ । नेपालबाट त धेरै कुराहरु यिनीहरुले लिनु त छैन नि । परराष्ट्र नीति सडकबाट हुने होइन । वार्ताबाट, संवादबाट, दृष्टिकोणबाट हुने कुरा हो । नेपालमा एउटा विदेश नीति बन्न् सकेन बनाउनेहरुलाई नेपालको गौरवपूर्ण इतिहासको मान र सम्मान गर्नुछैन ।