दुःखमाथि दुःखकै कुरा थपेर किन अझै दुःखाउनु आफूलाई ? अत्यासमाथि झन् अत्यास थपेर किन अन्याय गर्नु आफैंप्रति ? ‘गर्न नहुने काम’ पो गर्नु भएन त ! गर्नै नपर्ने काम गरेर किन नदुःखेको कपाल डोरी लगाइलगाइ दुःखाउन खोज्नु बित्थामा ? परिस्थितिहरू कस्ताकस्ता मूल्यवान् पाठहरू बोकेर टक्रिएका हुन्छन्, पाठ टिप्न बिर्सेर जहिल्यै परिस्थितिलाई मात्र सरापी बस्न रुचाउने कस्तो दुःखी स्वभाव यो मान्छे जातको ? प्रतिकूलताहरू परीक्षण गर्न आएका हुन्छन् हाम्रो मनको प्रतिरोधी शक्तिको, मनको त्यो शक्ति अजमाएर आफूलाई अघिभन्दा अझै दरोसित उभ्याउनु पर्ने यो घडी पिलपिले कुरा गरिबस्नु कहाँ सुहाउँछ र साइँली ?
महामारीको यो घडी निराशा, हतासा, उदासी र अत्यासका कुरा त उच्चारणै गर्न हुन्न । मनको ब्याट्री स्वाट्टै डाउन हुन्छ । विपतको यस्तो बेला मनलाई पूरा चार्चमा राख्नु पर्छ । यसलाई मुक्त उडानमा टहलिन दिनुपर्छ । तिमी सोध्लाउ, ‘यस्तो अस्वेच्छिक एकान्तवासमा थल्लिनुपरेको बेला मनलाई मुक्त उडानमा टहलाउन कसरी सकिएला र ?’ यस्तो प्रश्न उठाउनुकोे कुनै औचित्य छैन यो बेला । ‘सक्नु पर्छ’ बस् ! यत्ति हो अहिले तिमीले जान्नु पर्ने कुरा, मैले जान्नु पर्ने कुरा, हामी सबैले जान्नु पर्ने कुरा ।
अवश्य नै, दुःखको घडीबाट गुज्रिरहेका छौं हामी । सन्त्रासमा छ सिङ्गो मानव समाज, सङ्कटमा छ सिङ्गो मनुष्य अस्तित्व । तर पनि दुःखको कुरा सम्झी बस्ने बेला होइन यो । तिमीलाई थाहै छ नि, दुःख दुःख्नलाई मात्र हो, देखाउनलाई होइन । दुःख भोग्नलाई मात्र हो भन्नलाई होइन । बढाई चढाई व्याख्या गर्ने कुरा त झन् त्यो पटक्कै हुँदै होइन । दुःखलाई जति बढी सुमसुमायो त्यत्ति नै बढी पुलपुलिन्छ । जति बढी महसुस गर्याे त्यत्ति नै बढी बल्झिन्छ त्यो । दुःखमाथि झन् दुःख थपिन्छ । विपद्को यो घडीमा मनलाई दुःखको भार धेरै बोकाउनु हुँदैन । मनलाई धेरै किच्न हुँदैन । मनलाई धेरै थिच्न हुँदैन ।
उसै पनि अहिले आइलागेको यो विपद् मात्र हो र हाम्रो दुःख ? अरू पनि कति छन् कति दुःख ! जीवन दुःख्नलाई अरू पनि हजार कारण छन, हजार बहाना छन् । दुःखका कुरा गरेर के साद्दे ? दुःखका कुरा सम्झेर के साद्दे ? त्यसैले दुःखका कुरा गर्दिन आज म तिमीसित । दुःखको यो बखत दुःखीबस्नु भन्दा देखीबस्नुको रमाइलो नै अर्कै छ ! म त्यही रमाइलोमा डुब्न चाहन्छु । तिमीलाई पनि त्यही रमाइलोमा डो¥याउन चाहन्छु ।
तर नसोच्नु तिमीले, म यहाँ आज मुख्य विषयलाई भन्दा अरू नै कुनै विषयलाई महत्व दिन खोज्दैछु । नसोच्नु, मुख्य कुरा बिर्सेर म अर्कैअर्कै कुरामा बत्तिन खोज्दै छु भनेर । नसोच्नु तिमीले, म विषयान्तर हुन खोज्दै छु भनेर । म मुख्य विषयमै छु । विषयान्तर भएकी छैन । जुन छटपटीमा यतिबेला तिमी परेकी छौ, त्यही छटपटीभित्रै छु म पनि । थाहा छ, यतिबेला सबैको छटपटी एउटै हो, उस्तै हो, उही हो । कोरोना भाइरस (कोभिड–१९) यतिबेलाको मुख्य विषय हो । यही भाइरसको महामारी यतिबेलाको विश्वव्यापी मुख्य मुद्दा हो । आकार न अनुहारको यो दुष्ट भाइरसले सिङ्गै विश्वलाई आफ्नो मुट्ठीमा अँठ्याएर इन्तु न चिन्तु पारिरहेको अवस्था हो आजको । समयको वर्तमान घडी पूरै मात्रामा कोरोना कब्जामा परेको छ । क्यालेण्डरहरू भित्ताभित्तामा झुण्डिरहेका छन् बस् ! तर तिथि, मिति, बार, गते सबै पुरिएको छ अहिले । समय कोरोनामय बन्न पुगेको छ । हामीले अहिले भोगिरहेको यो समय भविष्यमा गएर ‘कोरोना समय’ नामले इतिहासमा दर्ज हुने निश्चित छ । पाँच महिनाअघि आरम्भमा चाइनाको वुहान सहरमा देखापरेको कोरोना आतङ्कले छोटै समयको अन्तरालमा महामारीको रूप धारण गरी यतिबेला विश्वभरि नै मृत्युको ताण्डव मच्चाइरहेको छ । संसारभरिबाट मान्छेको मृत्युको खबर आएकोे सुन्नु परिरहेको छ हामीले । यसको सङ्क्रमणमा परेर अहिलेसम्म दुई लाख भन्दा बढी मानिसको ज्यान गुमिसकेको छ । सङ्क्रमणमा पर्नेहरूको सङ्ख्या पनि ३२ लाख नाघिसकेको छ भन्ने थाहा पाइएको छ । यद्यपि सङ्क्रमितहरूलाई जोगाउन सुरुदेखि नै विश्वभरि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरू खटिइरहेका छन्, तर पनि मर्ने क्रम रोकिएको छैन । सङ्क्रमित हुने मान्छेहरूको सङ्ख्या उसैगरी बढेकै छ । विडम्बनाको कुरा त के भने, बिरामीलाई जोगाउन लागिपरिरहेका कयौं स्वास्थ्यकर्मीहरू पनि भाइरसको सङ्क्रमणमा परेका छन्, कयौंले प्राण गुमाइसकेका छन् । साँच्चै नै, यतिबेला स्थिति भयावह छ । आक्रान्त छ । अशान्त छ । परिस्थितिजन्य बिमारी अवस्थामा छौं हामी तमाम मनुष्य प्राणी यो पल, यो घडी ।
त्यसैले त भनेको हो नि, यस्तो बेला मनलाई अघिअघिको बेलामा भन्दा अझै दरो बनाउन बल गर्नु आवश्यक छ भनेर ! सामान्यतया यस्तो बेला मानिसहरू आत्तिन्छन्, अत्ताल्लिन्छन् । तर आत्तिएर–अत्ताल्लिएर केही पनि हात लाग्दैन, सिवाय मन कमजोर हुनु । मन कमजोर भयो भने अवस्था झनै भयावह हुन पुग्छ । भनाई नै छ ः आधा औषधिले निको हुन्छ बिरामी– आधा आत्मबलले । तसर्थ मनको बल कुनै हालतमा पनि गल्न दिनु हुन्न यो घडी । उसै पनि यही एउटा मन त छ मान्छेसँग आफ्नो स्थायी सम्पत्ति भन्नु, यसलाई त्यत्तिकै दुर्बल बनाइराख्न कहाँ भयो र ?
कोरोनाको महामारी धुमधामसित मच्चिरा’छ त के भयो ? यसलाई निस्तेज पार्न, निर्मुल पार्न औषधिको खोजी पनि भइरहेकै छ सुरुदेखि नै । संसारभरिका वैज्ञानिकहरू यस कार्यमा रातदिन नभनेर जुटिरहेकै छन् । स्वास्थ्यकर्मीहरू पनि सबैतिर नै बिरामीको उपचारमा मरेर लागिरहेकै छन् । यो कहरबाट कसो मुक्ति नपाइएला त ? विश्वास गरौंं बस् ! ‘यो अत्यासको आयु धेरै लामो छैन’ भनेर । विश्वासले कत्रो कत्रो लडाइँ जित्न सकिन्छ, जाबो यो कोरोना भाइरसको त के कुरा भयो र ? असतर्क बेहोरा देखाउन भएन बस् ! बन्दाबन्दीको नियम पालना गर्नु पर्ने आफ्नो कर्तव्यमा हरेक व्यक्ति चुस्त हुनुप¥यो, दुरुस्त हुनु पर्यो ।
सङ्क्रमणबाट जोगिनका लागि सामाजिक दूरीमा बस्नु अपरिहार्य भएका कारण बन्दाबन्दीमा बस्नु परेको हो भनेर मनलाई बुझाऔं । बन्दाबन्दीको यो बाध्यतालाई अभिशाप नठानौं, बरु यसलाई ‘बरदान नै हो’ भनेर मानौं भन्छु म त ! यस्तो सकसको बन्धनलाई पनि बरदानको नाम दिन खोज्ने मेरो सोचमा खोट नखुट्याउनु तिमीले । यो आपत्मय परिस्थितिलाई के कसरी अथ्र्याउँदा आफ्नो मनलाई हलुको पार्न सकिन्छ त्यसरी नै अथ्र्याउँ भन्ने मात्र हो मेरो मेरो आशय, मेरो आग्रह । यद्यपि, सामाजिक प्राणी हामी मनुष्यजातिलाई सारा समाजसित एकाएक विच्छेदित भएर घरभित्रको साँघुरो परिवृत्तमा खुम्चिएर बस्न सजिलो अवश्य नै भएको छैन यतिबेला । आफन्तको नजिक पर्नबाट आफूलाई जबरजस्ती रोक्न बाध्य हुनु पर्दा कम्ता गारो भएको छैन । तर के गर्नु, कोरोना सङ्क्रमणबाट जोगिनका लागि सामाजिक दूरीमा नबसी पनि त भा’छैन । आपत्विपत्को यो महामारीमा तत्कालको औषधिका रूपमा यही एउटा उपाय मात्र उपलब्ध भएको छ हामीलाई । औषधि चाहे जतिसुकै तीतो किन नहोस्, सम्बन्धित चिकित्सकले सुझाएपछि बिरामीले त्यो जसरी पनि खानै पर्छ । औषधि नखाए बिमारी घट्दैन, झन्झन् त्यो बढ्दै जान्छ ।
बरू मनलाई बुझाउँ एक्कैछिनलाई अहिलेको स्थिति भन्दा पनि अझै भयावह अवस्थाको कल्पना गरौं । अनि मनमनै गुनौंंं, ‘धन्न त्यस्तो त भएको छैन नि !’ यसरी सोच्दा अहिलेको यो अवस्था स्वीकार्न केही सजिलो हुन्छ हामीलाई । आखिर आफ्नै मन हो ! यसलाई फकाउन फुलाउन आफैंले प्रयास गर्नुपर्छ हरेकले । उसै पनि, अरूले सम्झाएको भन्दा आफैले सम्झाएको कुरा बढी पत्यारिलो लाग्छ हामीलाई ! होइन र ?
सकात्मक सोचौं । बन्दाबन्दीको बाध्यताले भलै हाम्रो भौतिक गतिशीलता ठप्प रोकिएको छ, कुँजिएर बस्नु परेको छ । तर के यही बन्दी अवस्थाले पर्याप्त फुर्सदको उपलब्धता फोसामा मिलेको छैन र हामीलाई ? सधैंको भागदौड, सधैंको भ्याईनभ्याई, हतारो–चटारो सबैसबै लखेटाइहरूबाट यतिबेला पूरै मुक्त हुन पाइएको छ । मुक्त यो समयलाई आफ्नै मनसित कुरा गर्ने उपयुक्त अवसर किन नबनाउनु ? यो समयलाई मनको आँखा खोल्ने समय हो भनेर किन नमान्नु र ? बन्दाबन्दीको यो बन्द समयलाई आत्मनिरीक्षणको अवसरको रूपमा किन नस्वीकार्नु र ? मान्छे हौं । आफैंले आफैंलाई प्राणीजगत्कै सर्वश्रेष्ठ प्राणी भनी घोषणा गरेका छौं । तर तद्नुरूपको न सोच राख्यौं हामीले, न व्यवहार ग¥यौं । खोइ र हामीले आफू श्रेष्ठ भएको प्रमाण व्यवहारमा पुष्टि गर्न सकेको ? यस प्रश्नमा खोतलिनु जरुरी छ हामीले । सृष्टिका सर्वश्रेष्ठ प्राणी थियौं भने हामीले केवल आफ्नो बारेमा मात्र सोच्नु हुन्नथ्यो, समस्त प्राणीजगत्को सजिलो–सुविधाका लागि पनि सोच्नुपथ्र्यो । यथार्थमा त्यही नसोच्दाको कारणको परिणाम हो आजको यो भयावह स्थिति । बाहिरी आँखामा कोरोना भाइरस दोषी देखिए पनि भित्री आँखा खोलेर हेर्न सक्ने हो भने अहिलेको यो विपतावस्था मान्छेको अन्धअभिमानको पराकाष्ठाको परिणाम हो । यो सत्य बोध गर्न यो खाली समयलाई किन उपयोग नगर्ने र ?
हामी मानिसहरू मात्र होइन, प्रकृतिका सम्पूर्ण सन्तानको साझा घर हो यो पृथ्वी । मानिस, पशुपन्छी, कीटपतङग सबैसबै एउटै पर्यावरणभित्र बसेका छौं हामी । हामीले आफूलाई सर्वश्रेष्ठ प्राणी ठाने तापनि प्रकृतिका लागि सम्पूर्णथरिका जीव उस्तै महत्वका प्राणी हुन् । आमा हुन् प्रकृति । आमालाई आफ्ना सबै सन्तान उत्तिकै प्यारा हुन्छन् । सन्तान चाहे सुन्दर हुन् या कुरुप, सबल हुन् या दुर्बल, जीव हुन् या अर्धजीव, जड हुन् या चेत सबैसबै सुरक्षित भएको हेर्न देख्न खोज्छिन् प्रकृतिले ।
उनले आफ्ना सबै सन्तानको सुरक्षाका लागि मिलाएर बनाएको पर्यावरणीय सन्तुलनलाई हामी मानिसले मनपरीसित बिगार्यौं । प्रकृतिको संवेदनामा खलल पुर्यायौं । भौतिक प्रगति र विकासको नाममा हामी मान्छेहरूले प्रकृतिलाई अचाक्ली कोपर्यौंं । अथाह चिथोर्यौंं । चोक्ट्यायौं । नेप्ट्यायौ । थेप्च्यायौं । गर्न हुने, गर्न नहुने सबै काम जथाभावीसित गर्यौं, अझै गरिरहेका छौं । उनको छातिमाथि पटकपटक युद्ध मच्चायौं । बमबारुद अनेक हुनेनहुने कुराहरू पड्कायौं । मान्छेले मान्छेलाई मार्यौ, सँगसँगै बायुमण्डलको स्वस्थतामा पनि अन्धाधुन्द विष खनायौं । मान्छेको यो उद्दण्डतालाई प्रकृतिले कतिसम्म सहिरहुन् ? सहन सक्नुको पनि त एउटा हद हुन्छ ! बाढीपहिरो, आँधीबेरी, भूकम्प, सुनामी, ज्वालामुखी आदि कुन रूपमा मात्र देखाइन् उनले आफ्नो ‘ऐया’ लाई ? तर जति गर्दा पनि मान्छेको चेत पलाएन । केही नलागेपछि यतिबेला प्रकृतिले आफ्नो आक्रोश कोरोना महामारीका रूपमा प्रकट गरेकी हुन् । मान्छेलाई झक्झकाउन, उसलाई उसभित्रको मानवीय गुणप्रति जागृत गराउन प्रकृतिले यो उग्र रूप धारण गरेकी हुन् अहिले । उद्दण्डताको पराकाष्ठमा उक्लिँदै गएको मूर्ख मान्छेलाई उसको वास्तविक साइजमा थचार्न सायद यो विपत् सिर्जना गर्नुको विकल्प थिएन उनीसित । मान्छेभित्र प्रकृतितः विद्यमान करूणा, दया, माया, प्रेम, सद्भाव, सहअस्तित्वचेतलगायतका तमाम सत्संवेदनाहरूप्रति मान्छे ब्युँझियोस् भनेर नै प्रकृतिले यतिबेलाको परिस्थिति सिर्जना गरेकी हुन् । यो कुरा हामी तमाम मान्छेले बुझ्न जरुरी छ । आशा गरौं, यो विपत्को साक्षात्कारले मान्छेमा त्यो चेत ब्युँझाउने छ ।
प्रकृतिविरुद्ध मान्छेले गरेको गल्तीबारे यो घडी यो भन्दा बढी अब नबोलुँ होला साइँली । यस्तो गह्रुँगो कुरा धेरै गरिरह्यो भने मन अतालिन्छ फेरि ! मनलाई अत्तालिनबाट जोगाउनु पर्ने अवस्था जो छ यतिबेला ।
तिमीलाई थाहै छ, मान्छेको मनमा सधंैभरि दुइटा धार समानान्तर रूपमा प्रवाहित भइरहेको हुन्छ । एउटा धार अत्यासको धार, अर्को धार आशाको धार । यो विपत्को बेला अत्यासको धारतिर धेरै आँखा लगाउनु उति बुद्धिमानी हँुदैन । त्यसैले अत्यासमाथि अत्यास थप्ने काम यो बेला नगरौंं । जीवन अत्यासै अत्यासको खेल हो । दुःखैदुःखको झेल हो । यसबारे पछि कुरा गरौंला । यतिबेला कसरी बाँच्ने भन्ने कुरामा मात्र केन्द्रित होऔं । हासौं । रमाऔं । कोेराना कहरको यो बेला मनलाई जसरी पनि हलुका स्थितिमा राख्न बल गरौं । सकारात्मक कुरा गरेर मनलाई चार्ज गर्नु छ । त्यसैले आशाको कुरा गरौं । उषाको कुरा गरौं ।
बन्दाबन्दीको नियम चुस्त दुरुस्तसित पालना गरी आफू र अरूलाई पनि सङ्क्रमित हुनुबाट जोगाउन पूर्ण सतर्कता अपनाउनुपर्ने मुख्य जिम्मेबारी त आफ्नो ठाममा छँदैछ । त्यो जिम्मेबारी निर्वाह गर्न नचुकौंं । बाँकी अरू पूरै पल मनको उन्मुक्त विचरणमा हराऔं, रमाऔं । परिस्थितिले साथमा बोकेर आएको विशिष्ट पाठलाई बोध गर्न यो शून्य समयको भरपूर उपयोग गरौं । सधैं सकारात्मक सोचौं । आफ्नो लागि मात्र होइन सबैका लागि सोचौं । मान्छेका लागि मात्र होइन, समस्त प्राणीका बारेमा पनि सोचौं । उग्र महत्वाकाङ्क्षा विनासको जड हो भन्ने तत्व बोध गरौंं र सादा जीवन उच्च विचारको पथ पक्रिन प्रण गरौं ।