site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
सरकार भन्छ– ‘स्वास्थ्यकर्मी र चिकित्सकका लागि आवश्यक पीपीई छ’

काठमाडौं । सरकारले चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) पर्याप्त रहेको जनाएको छ । 

तर, स्वास्थ्यकर्मीहरू भने मास्क, स्यानिटाइजर, ग्लब्स, गगल्सजस्ता सुरक्षा कवच नरहेको दाबी गर्दै आएका छन् । उनीहरूले कोरोना संक्रमणको आशंका गरिएका बिरामीका लागि अति आवश्यक सामग्री तथा उपकरण सरकारले उपलब्ध नगराएको बताएका छन् । 

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा पाँच सय थान पीपीई स्टकमा रहेको दाबी गर्छन् । “अहिलेको अवस्थामा पुग्छ यदि संक्रमण संख्या बढ्न थाले यतिले पुग्दैन,” उनले भने, “२४ हजार पीपीई मागको टेन्डर आह्वान गरिएको करिब एक महिना भयो तर अहिलेसम्म कसैले पनि टेन्डर हाल्नुभएको छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले चीनबाट कोरोना उपचारमा आवश्यक उपकरण ल्याउने तयारी रहेको पनि बताए । अहिले केही स्थानीय स्तरबाट विश्व स्वास्थ्य संगठनमा मापदण्डअनुसार पीपीई बनिरहेको छ । केही दिनमै मन्त्रालयलाई हस्तान्तरण गर्ने तयारी रहेको देवकोटाले जानकारी दिए । सबै मानिस होम क्वारेन्टाइनमा बसे महामारीको जोखिम नबढ्ने उनको दाबी छ ।

एन ९५ मास्क २० हजार थान, पोर्टेबल भेन्टिलेटर सय थान, पीपीई २० हजार थान, मोनिटर २ हजार थान एबीजी मेसिन २० वटा मागिएको छ । यस्तै पीसीआर मेसिन २० वटा, अक्सिजन प्लान्ट ५ वटा, कोरोना भाइरस परीक्षण गर्ने (रिएजेन्ट) १० हजार, थर्मल स्क्यानर १० थान, पीसीआर २ हजार थर्मल थर्मोमिटर एक हजार र मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स ५ र इन्फेक्सन डिजिजका लागि मोवाइल एम्बुलेन्स ७ थानलगायत सामग्री स्वास्थ्य मन्त्रालयले चीनसँग माग गरेको छ । यसका लागि पराष्ट्र मन्त्रालयमा लेखी पठाएको पनि प्रवक्ता देवकोटाले बताए ।

स्वास्थ्य सेवा विभागको, व्यवस्थापन महाशाखा प्रमुख भोगेद्र डोटेलले पीपीई अहिलेसम्म नेपालमा नबनेको बताउँछन । “यो चीनबाट खरिद गरेर ल्याइन्थ्यो, नेपालमा बन्दैन, अहिले तत्कालका लागि व्यवस्था गरेको सामग्री हो,” उनले बाह्रखरीसँग भने, “यस्तो प्रकारको महामारी हाम्रो देशमा देखिएको थिएन र हामी तयार थिएनौं, तर अब हामीले तयारी गर्न ढिलो पनि गर्नु हुँदैन ।”

अहिलेकै अवस्थामा तयारीमा रहन २० हजार पीपीई आवश्यक पर्ने देखिएको उनले बताए । सामान्य बिरामीको जाँच गर्न पीपीई लगाउनु नपर्ने उनको तर्क छ । उनले भने, “भारतबाट ठूलो संख्याबाट नेपाली भित्रिएका छन् त्यस कारण गाउँमा रहेकाहरू बढी सतर्कत हुनुपर्ने देखिएको छ ।”

मन्त्रालय स्रोतका अनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेसँगै १५ सय पीपीई खरिद गर्न करिब एक महिनाअघि नै सुझाव दिएको थियो । तर अहिलेसम्म खरिद गरेको छैन ।
मन्त्रालयले आजै कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनका लागि अति आवश्यक सामग्रीहरू सार्वजनिक खरिद निमावली १४५ को विशेष परिस्थितमा खरिद गने व्यवस्थासम्बन्धी प्रावधानबमोजिम तत्काल खरिद गर्न आपूर्तिकर्तालाई सूचनामार्फत भनेको छ  ।

सरकारले आइसोलेसन बनाउन ध्यान दिएको छ तर उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई चाहिने मास्क, स्यानिटाइजर, ग्लब्स, गगल्सजस्ता सुरक्षा कवच नदिएको डा. पवन अग्रहरी बताउँछन् । उनले भने, “कोरोना आशंका गरिएका बिरामीको उपचारमा स्वास्थ्यकर्मीलाई पीपीईलगायत सुरक्षाा कवच छैन, तर अझै किन्ने तयारीमा छ ।” कामका दौरान स्वास्थ्यकर्मी र चिकित्सकमा संक्रमण देखिए अरूमा पनि सर्ने जोखिम पनि उत्तिकै रहने अग्रहरीको भनाइ छ ।

विदेशबाट आए होम क्वारेन्टाइनमा बस्छु भनेर फाराम भरेका ५० हजारको विवरण कम्प्युटरमा अध्यावधिक गर्ने मात्र काम भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । उनले भने, “ती क्वारेन्टाइनमा बसेको नबसेको निगरानी गर्ने तयारी भइरहेको छ ।”
 

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १२:१८
प्रतिक्रिया दिनुहोस्