site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ट्विटर  र फेसबुकमा लेखेर हुँदैन, प्रतिपक्ष जाग्‍नुपर्छ  : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीले दह्रो ढंगबाट सदन र सडकमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

जीपी कोइराला लोकतन्त्र संवर्धन केन्द्रले मंगलबार काठमाडौंको बत्तीसपुतलीमा आयोजना गरेको ‘लोकतन्त्रको संस्थागत विकासमा देखिएका चुनैतीहरु’ विषयक विचार गोष्ठीमा नेता सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई जागरुक बन्नसमेत सुझाव दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘नेपाली कांग्रेस दह्रो प्रतिपक्षको रुपमा सदन र सडकमा देखिएन । संसदमा संसदीय दलको नेताले आफूसहित पार्टीका साथीहरुलाई एकदमै जागरुक राख्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अहिलेको अवस्थाले एकदमै हुँदैन । कांग्रेसको काँधमा फेरि जिम्मेवारी आएको छ ।’

सरकारका संविधानविरोधी गतिविधि रोक्न पार्टी जाग्नुपर्ने समय आएको आवश्यकता औंल्याउँदै ट्विटर, फेसबुक जस्ता सामाजिक सञ्जाल र वक्तव्यमात्रै जारी गरेर नपुग्ने जिकिर गरे । ‘नेपाली कांग्रेसको मौनताले हुँदैन । एउटा वक्तव्य लेखेर पुग्दैन, एउटा ट्विट हालेर पुग्दैन, फेसबुकमा लेखेर हुँदैन,’ उनले भने, ‘जनताको माझ गएर अवस्था बुझ्न जरुरी छ । धेरै मिहनेत गर्ने बेला हो, धेरै नै कार्यक्रम लिएर उठ्ने बेला हो, जुट्ने बेला हो ।’ 

नेता सिटौलाले पार्टीमा पछिल्लो समय चुलिएको विवाद समाधानका लागि सभापति देउवाले सुरु गरेको संवाद सकारात्मक रहेको बताए । महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर पार्टीमा चुलिएको विवाद सहमतिमै समाधान हुनेमा उनी ढुक्क देखिन्थे । 

‘सभापतिजीले अस्ति नै रामचन्द्रजी र मलाई रामचन्द्रजी आएपछि एक-दुई दिनमै विवाद टुंग्याउन बोलाउनुभयो । उहाँले के सच्याउन सकिन्छ, तपाईंहरुले छलफल गर्दिनुपर्‍यो भन्नुभयो,’ केही दिनअघि देउवा निवास बूढानीलकण्ठमा भएको छलफलबारे जानकारी दिँदै सिटौलले भने ।’ वरिष्ठ नेता रामचन्द्र पौडेल उपचारका लागि भारतको नयाँ दिल्ली गएका छन् । उनी फर्किएपछि थप छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्