
कजाकस्तान । कजाकस्तानमा शुक्रबार भएको बेक एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । स्थानीय अल्माटी विमानस्थलबाट उड्नासाथै सो विमान दुर्घटना भएको थियो । विमान दुई तले घरमाथि खसेको थियो ।
सरकारले सो घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाएको छ । घटनामा कम्तीमा ६० जना घाइते भएको र त्यसमा केटाकेटी पनि रहेको जनाइएको छ । घाइतेलाई अस्पताल लगिएको छ । फ्लाइट जेड ९२१०० अल्माटीबाट राजधानी नुरसुल्तान जान लागेको थियो । रोयटर्सले जनाएअनुसार सो क्षेत्रमा बाक्लो कुहिरो लागेको थियो ।
अल्माटी विमानस्थलले जनाएअनुसार सो विमानमा ९३ यात्रु र ५ जना चालक दलका सदस्य सहित ९८ जना थिए । यात्रुको पूर्ण विवरण कजाकस्तानको आन्तरिक मामिला मन्त्रालयले प्रकाशित गरेको छ ।
विमानमा ८५ बयस्क, ५ केटाकेटी, तीन जना शिशु थिए । दुर्घटनामा बचेकी यात्रु माराल इर्मानले उड्नासाथै सो बिमान हल्लिएको बताएकी छन् । पहिला यो विमान ल्यान्ड गरेको जस्तो महसुुस भएको थियो । तर, वास्तवमा हामी केहीमा ठोक्किएका रहेछौं ।
कोही पनि नचिच्याएको उनले जनाएकी छन् । चालक दलका सदस्यले विमानबाट बाहिर निस्कनका लागि यात्रुलाई ढोका खोलिदिएका थिए । पछि सो विमान टुक्रिएको आफूले देखेको उनले टेन्ग्री न्युज वेवसाइटलाई बताएकी छन् ।
प्रारम्भिक सूचनाका अनुसार मृत्यु हुनेमा ६ बालबालिका छन् । सो दुर्घटना लगत्तै बेक एयरले आफ्ना सबै उडान रद्द गरेको छ । अल्माटी विमानस्थलले आफूले नियमित जस्तै अन्य विमानको उडान सुरु गरेको जनाएको छ । (बीबीसी)