वासिंटन । चीन, इरान र रुसले संयुक्त नौसेना अभ्यास गर्ने भएको छ । इरान र अमेरिकाबीच विवाद चर्किरहेका समयमा चीन, इरान र रुसले शुक्रबारदेखि इन्डियन ओसन र सी अफ ओमाननमा संयुक्त सैन्य अभ्यास गर्ने तय भएको चिनियाँ विदेशमन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
उक्त अभ्यासका लागि चीनले सीनिङ (मिसाइल विनाशक टोली) लाई पठाउने भएको छ । "उक्त अभ्यास सोमबारसम्म चल्ने छ । यसले तीनवटै मुलुकबीचको जलसेनाको सम्बन्धलाई थप मजबुत बनाउनेछ," विदेश मन्त्रालयका प्रवक्ता वि क्वानले मासिक बिफ्रिङका क्रममा भने । उनले यो अभ्यास 'सामान्य सैन्य आदानप्रदान' भएको र तीनवटै सैन्य बलले अन्तर्राष्ट्रय कानुन र अभ्यासभित्र रहेर गर्ने बताएका छन् । "यो कुनै क्षेत्रीय मुद्दासँग सम्बन्धित छैन," वील भने ।
ओमनको समुद्र विशेषरुपमा संवेदनशील जलमार्ग हो, जुन स्ट्रेट अफ होर्मुजसँग सम्बन्धित छ । यही जलमार्ग हुँदै विश्वको तल निर्यात हुने गर्छ । इरानसँग अमेरिकाको सम्बन्ध बिग्रिएको समयमा भएको यस किसिमको सैन्य अभ्यासलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सन् २०१५ को परमाणु सम्झौताबाट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एकल रुपमा बाहिरिने निर्णय गरेपछि इरानसँगको सम्बन्धमा थप दरार पैदा भएको हो । अमेरिकाले इरानमाथि प्रतिबन्धसमेत लगाएको छ । जसले गर्दा त्यहाँको अर्थतन्त्र नै धरापमा पर्ने स्थिति सिर्जना भएको छ ।
वाशिङ्टनले अमेरिकी नेतृत्वमा नौसेना मिसन बनाउने प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्ताव सफल हुन सकेको छैन । इरानको परमाणु योजनाका कारण मात्रै सम्बन्ध बिग्रिएको नभई सेप्टेम्बरमा साउदीको तेल कारखानामा भएको आक्रमणका कारण पनि इरानसँगको सम्बन्ध बिग्रिएको हो । अमेरिकाले उक्त आक्रमण इरानले गरेको आरोप लगाए पनि इरानले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
इरानसँग चीनको नजिकको कूटनीतिक, व्यापारिक र ऊर्जा सम्बन्ध छ । त्यस्तै इरानको क्षेत्रीय विवाद सिर्जना भएको मुलुक साउदी अरेबियासँग पनि चीनको राम्रो सम्बन्ध छ । आगामी वर्ष २०२० को जि २० सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरेबियाको भ्रमणमा जाने भएका छन् । -रोयटर्स