काठमाडौं । काठमान्डू मलको सातौं तल्लामा पुग्नेबित्तिकै ०६२/६३ सालको जनआन्दोलनको फोटोहरु तथा पत्रिकाको कटिङहरु देख्न पाइन्छ। यस्तो लाग्छ कि सहरमा ऐतिहासिक जनआन्दोलनताकाको यादहरुको बृहत प्रदर्शनी चलिरहेको छ। नाटक 'आन्दोलन'का निर्देशक सुदाम सिके भन्छन्- "यो बाहिर राखिएको तस्वीर तथा कटिङहरु प्रदर्शनीमात्र नभएर नाटकको मञ्च नै हो। नाटकको सुरुवात यहीँबाट भइसकेको छ।" हुन पनि त्यस्तै छ, थिएटर मलमा पुग्ने बित्तिकै देखिने चित्रहरू तथा भित्र प्रवेश गर्नुभन्दा अगाडि ढोका छेवैमा देखाइने आन्दोलनका समाचारको फुटेजहरु देख्दा जनआन्दोलनको भरपुर याद आउँछ। यसले गर्दा मान्छेहरु नाटक हेर्नुअगाडि मानसिक रुपमा आन्दोलनको लागि तयार हुन्छन्।
काठमान्डूको प्रत्येक थिएटर चहारिसकेको हुनाले मलाई नाटक सुरु हुनु अगाडि बोलिने वाक्य- "हाम्रो नाटक राम्रो लागे अरुलाई भन्नुस् र नराम्रो लागे हामीलाई भन्नुस्" कण्ठस्थ भइसकेको थियो। तर, नाटक 'आन्दोलन' सुरु हुने बेलामा त्यस्तो केही सुनिएन। नाटकका प्रमुख पात्र आउछन्, अनि आन्दोलनको नियमहरु सुनाउँछन्। उनले नाटकको बारेमा याचना गर्दैनन् बरु धम्काउँछन्। आन्दोलन भनेको एउटा तपस्या हो भन्दै तपस्याको नियमहरु सम्झाउँछन्।
पट्यारलाग्दो तासको दृश्यबाट सुरु भएको नाटक 'आन्दोलन' ढिलो अगाडि बढ्छ। नाटकले कथानकमा प्रवेश गर्न अलिकति समय लगाउँछ। तर, कथामा प्रवेश गरिसकेपछि नाटकले एउटा रफ्तार लिन्छ। नाटक आफ्नै गतिमा अघि बढ्छ। कतै गएर अड्किन्न। पात्र, मञ्च, ध्वनि र प्रकाशको मिल्दोजुल्दो संयोजनले नाटक 'आन्दोलन'लाई अब्बल श्रेणीमा लगेर उभ्याउँछ। नाटक हेर्दै जाँदा प्रत्येक दर्शकले एकचोटि सोच्छन्- आखिर त्यो सबै आन्दोलन केका लागि थियो ? एकचोटि इतिहासमा फर्किएर प्रत्येक दर्शकले आन्दोलनको औचित्यको बारेमा अवश्य पनि सोच्छन्।
नाटक सुरु हुँदै गएपछि आन्दोलनको बारेमा विचार विमर्श हुन थाल्छ। आन्दोलन ठिक कि बेठिक भनेर वादविवाद नै हुन्छ। आज आएर त्यो १० वर्ष अगाडिको जनआन्दोलनको बारेमा तयार पारिएको नाटक हेर्दा सबै दर्शक एकपटक अतीतमा पुग्छन्। हामी कुन अवस्थामा पुगेर आन्दोलन गर्न बाध्य भयौं अनि आन्दोलन भएपछि हामीले पाएको उपलब्धिको हामीले कसरी सदुपयोग गर्यौं, एकचोटि सबैले सोच्छन्। एकचोटि आफ्नो इतिहासमा फर्केर हेर्न अनि स्वविवेचना गर्नको लागि भए पनि प्रत्येक नेपालीले 'आन्दोलन' हेर्नैपर्छ। 'आन्दोलन'को प्रदर्शन हुने समय पनि ठ्याक्कै १९ दिनको छ, जनआन्दोलनजस्तै। जनआन्दोलनको सुरुवात भएको दिनदेखि अन्त्य भएको दिनसम्म आन्दोलन प्रदर्शन हुन्छ, त्यसप्रकारको व्यवस्थापनको लागि थिएटर मललाई साधुवाद नदिइ बस्न सकिँदैन।
पात्रहरुले सपना देख्दा आउने सपनाको दृश्यहरुको कलात्मक प्रस्तुतिले जोकोहीको मन जित्छ। प्रत्येक पात्रले प्रत्येक दृश्यमा एकदमै मेहनत गरेको प्रष्ट देखिन्छ। नाटकमा दुइटा कविता वाचन गरिएका छन्- कृष्ण सेन 'ईच्छुक' र श्रवण मुकारुङका। ठ्याक्क विषय सुहाउँदो कविता छन्। ती कविता नभएको भए पनि नाटकलाई केही असर गर्दैनथ्यो। तर, कविताको प्रयोगले गर्दा नाटकमा सुनमा सुगन्ध थपिएजस्तो भएको छ। हुन त नाटकमा केही अश्लील संवादहरु पनि छन्। त्यसलाई पात्र अराजकतावादी भएको हो या यथार्थवादी भएको भनेर प्रशस्त मात्रामा बहस गर्न सकिन्छ।
नाटकको एउटा दृश्यमा रक्सी खाएर विवाद गर्दा चैं कलाकार भन्दा पनि लेखक बढी हाबी हुन्छन्। अनावश्यक दर्शन र गरिबीको चित्रणले गर्दा दर्शकलाई झिंजो लाग्न सक्छ। लेखकले आफ्नो विचार पात्रको मुखबाट ओकल्न लगाउँछन्, जुन त्यति आवश्यक देखिन्न। आफूलाई थाहा भएको सबै कुरा अरुलाई सुनाउनै पर्छ भन्ने छैन, आफूले मान्ने सबै वाद, सबै सिद्धान्तहरु नाटकमार्फत अरुलाई नसुनाए पनि केही बिग्रन्न भनेर लेखकलाई तत्ववोध गराउनु जरुरी देखिन्छ। नाटकको अन्त्य अलिकति अस्पष्ट छ। दर्शकहरू कुनबेला नाटक सक्किन्छ अनि ताली बजाउने हो भनेर एकछिन अलमलमा पर्छन्। आखिर यस्तो किन ? यस्को उत्तरमा लेखक सौरभ कार्की उल्टै प्रतिप्रश्न गर्छन् - "जनआन्दोलनको उपलब्धि स्पष्ट छ र ? आन्दोलनपछिको देशको अवस्था कस्तो छ ?"
समग्रमा भन्नुपर्दा आन्दोलन एउटा नाटक मात्रै होइन, यो त १० वर्षअगाडि भएको ऐतिहासिक जनआन्दोलनको थिएट्रिकल डकुमेन्टेसन पनि हो। यसले आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहभागी भएका सबै जनताहरुको प्रतिनिधित्व गरेको छ। कथाकारको रूपमा सौरभ कार्कीले ऐतिहासिक जनआन्दोलनको एउटा पाटो केलाउने दुस्साहस गरेका छन्। र सफल पनि भएका छन्। कुनै पनि वाद र पार्टीसँग नजोडीईकन जनआन्दोलनको बारेमा देखाउन खोज्नु एउटा ठूलो दुस्साहस हो। निर्देशक सुदाम सिकेले अत्यन्तै मिहिन रुपमा नाटकको प्रत्येक दृश्यको लागि अत्यन्तै मिहेनत गरेका छन्। उनको कल्पनशिलता तथा निर्देशकीय क्षमताको वाह-वाह नगरी बस्न सकिन्न। भविष्यमा नेपाली रङ्गमञ्चले सुदाम सिके माथि गर्व गर्नेछ। प्रमुख कलाकारहरुको रूपमा देखा परेका रियर राईको अबोधपना, संयोग गुरागाइँको उर्जा र सिजन दाहालको सरलता नै नाटकको मेरुदण्ड हो भन्दा कसैको दुईमत नहोला।
तस्बिर निकिता सुनार