
वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगको बारेमा उनको पार्टी रिपब्लिकनले लिएको अडानका कारण आफू विचलित भएको सोही पार्टीका एकजना सिनेटरले बताएकी छन् ।
ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदन कंग्रेसमा पास भइसकेको छ । तर, माथिल्लो सदन सिनेटले त्यसबारेमा आउँदो जनवरीमा काम थाल्ने अनुमान गरिएको बेलामा ट्रम्पकै पार्टीका एक जना सिनेटरले त्यसरी विचलित भएको बताएकी हुन् ।
यस्तो धारणा राख्ने रिपब्लिकन सिनेटर लिजा मुर्कोव्स्की हुन् । ट्रम्पविरुद्ध यसैमहिना विपक्षी डेमोक्रेटिक पार्टी नियन्त्रित कंग्रेसले महाअभियोग पास गरेको थियो । कंग्रेसले राष्ट्रपतिलाई शक्तिको दुरुपयोग र कंग्रेसको काममा अवरोधसमेतका दुई अभियोग लगाएको थियो ।
ट्रम्पको जाँच अब रिपब्लिकनको नेतृत्व रहेको सिनेटमा हुँदैछ । त्यसका सदस्यहरु निष्पक्ष हुने ठानिन्छ ।
यद्यपि सिनेटका बहुमत पक्षका नेता मिच म्याककोनेलले पूर्ण रुपमा ह्वाइट हाउससँग ‘कोअर्डिनेसन’ गरेर काम गरिरहेको हालै जनाएका थिए । महाअभियोगको अभियोग लागेका अमेरिकी इतिहासमा नै ट्रम्प तेस्रो व्यक्ति हुन् । सिनेटमा रिपब्लिकनको बहुमत रहेकोले उनी पदबाट हट्नुपर्ने अवस्था नआउने सम्भावना बढी रहेको छ ।
रिपब्लिकन पार्टीका सिनेटर मुर्कोव्स्कीले एउटा न्यूज च्यानलसँगको कुराकानीमा बहुमत पक्षका नेताले ह्वाइट हाउससँग पूर्णरुपमा कोअर्डिनेसनमा रहेर काम गरेको भन्ने कमेन्ट दिएकोमा आफूलाई असजिलो लागेको बताएकी छन् ।
‘‘जब मैले यो सुनेँ, म विचलित भएँ,” उनले भनेकी छन् ।
उनले महाअभियोगको मामिलामा सिनेट र ह्वाइट हाउसको दूरी हुनुपर्ने जनाएकी छन् । उनले महाअभियोग प्रक्रियालाई हतार गरिएको समेत बताएकी छन् । (बीबीसी)