
ओस्लो । क्रिसमसको समयमा नर्वेको राजपरिवार भने शोकमा परेको छ । नर्वेका राजाकी एकमात्र सन्तानको रुपमा रहेकी राजकुमारीका पूर्वपति एरी बेहनले ४७ वर्षको उमेरमा आत्महत्या गरेका छन् । बेहनले केही उपन्यास पनि लेखेका छन् । उनले राजकुमारी मार्था लुइससँग २००२ मा विवाह गरेकोमा सन् २०१७ मा उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो ।
राजकुमारी मार्था नर्वेको राजपरिवारको चौथो सूचीमा रहेकी दाबेदार पनि हुन् । सम्बन्ध विच्छेद भए पनि उनीहरुका तीन छोरीहरु छन् । अर्थात् नर्वेका राजाका तीन नातिनीका लागि उनी पिता थिए । बेहनले आत्महत्या गरेको उनका प्रवक्ताले बताएका छन् । नर्वेका राजा र रानीले एक वक्तव्य जारी गरी लामो समयदेखि बेहन आफूहरुको परिवारको एक महत्वपूर्ण हिस्सा भएको र उनीसँगको न्यानो र असल संझना रहिरहने बताएका छन् ।
डेनमार्कमा जन्मिएका बेहनको राजकुमारीसँगको विवाहको समयमा पनि केही विवाद भएको थियो । किनकी मार्था नर्वेका राजा हराल्ड र रानी सोन्जाकी एक मात्र सन्तान हुन् । बेहनको मार्थासँगको सम्पर्क आफ्नै आमाबाट भएको थियो । बेहनकी आमा राजकुमारीको फिजियोथेरापी गुरु थिइन् । बेहन लागुऔषध सेवनका कारण पछि विवादमा पनि आएका थिए ।
बेहनको आत्महत्याको घटनाका बारेमा राजकुमारी मार्थाले भनेकी छन्,‘‘हामी गल्ति महसुस गर्दछौं, किनकी हामीले हाम्रा केटाकेटीका लागि सुरक्षित आश्रय प्रदान गर्न सकेनौं ।’’ (बीबीसी)