site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफगानिस्तानमा २७ शान्ति अभियन्ता तालिवानको अपहरणमा 

काबुल ।  शान्तिको कामना गर्दै पश्चिमी अफगानिस्तानको यात्रामा निस्केको  शान्ति सम्बन्धी अभियन्ताको २७ सदस्यीय एक टोली तालिबान समूहको अपहरणमा परेको छ ।

स्थानीय अधिकारीहरुका अनुसार ती मानिसको अपहरण उनीहरु शान्ति मार्च गर्दै पश्चिमी भूभागतर्फ अघि बढिरहेको बेलामा भएको हो ।  पिपुल्स पिस मुभमेन्टको नाममा शान्ति स्थापना र युद्धविरामको माग गर्दै सो टोलीले करिब दुई साता पहिला हेरात प्रान्तबाट आफ्नो यात्रा शुरु गरेको थियो ।

तर, फाराह प्रान्तमा प्रवेश गरेपछि उनीहरुको बारेमा कुनैपनि जानकारी नमिलेको अधिकारीहरुले बताएका छन्  । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तालिवानको तर्फबाट पनि उनीहरुको बारेमा कुनै टिप्पणी भएको छैन । 

तालिबान अमेरिकासँग शान्तिवार्ताको प्रयास गरिरहेका बेलामा उसले अर्कोतर्फ अफगान तथा अन्तर्राष्ट्रिय सेनामाथि पनि आक्रमणको घटना गराएको जानकारी सार्वजनिक भइरहेका छन् । 

फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरका अनुसार ६ वटा कारमा रहेका ती शान्ति अभियन्तालाई तालिवानले मुख्य सडकमा रोकेका थिए । 

त्यसपछि उनीहरुलाई एक अज्ञात स्थानमा लगिएको थियो । यी अभियन्ताले सन् २०१८मा पनि हेल्मण्ड प्रान्तबाट आफ्नो अभियान शुरु गरेका थिए ।

त्यतिबेलाको  यात्रा दक्षिण प्रान्तको एक स्टेडियममा कार बम धमाकामा १७ मानिसको मृत्यु भएपछि शुरु भएको थियो । 

घटनामा ५० भन्दा बढी घाइते भएका थिए । सो समूहले यस अघि तालिबानको नियन्त्रण भएको क्षेत्रमा पनि यात्रा गरेको थियो ।

तर, यसपालि तालिबानले  यो शान्ति अभियन्ताको टोलीलाई सरकारले आर्थिक सहयोग दिएको आरोप लगाएको थियो । सन् २००१देखि जारी अफगान हिंसाका क्रममा अहिलेसम्म ३ हजार भन्दा बढी अन्तर्राष्ट्रिय सुरक्षाकर्मी तथा  दशौं हजार अफगान नागरिक र सुरक्षाकर्मीको समेत मृत्यु भइसकेको छ  ।(बीबीसी)

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  ०७:३३
प्रतिक्रिया दिनुहोस्