
एजेन्सी । बीबीसीले आफ्ना पत्रकारहरुलाई ट्विटर प्रयोग गर्नमा रोक लगाउने तयारी गरिरहेको बताएको छ ।
यो योजना स्वीकृत भएमा वरिष्ठ सञ्चारकर्मीहरुले समेत ट्विटरलगायत अनलाइन प्लेटफर्ममार्फत समाचार ब्रेक गर्न वा कुनै पनि घटनाबारे तुरुन्त विश्लेषण गर्न पाउने छैनन् ।
चुनाव अभियानका क्रममा बीबीसीका स्टाफहरुले गरेका अनलाइन कमेन्टको व्यापक आलोचना भएपछि नै यस्तो योजना बनाइएको हो ।
राजनीतिक सम्पादक लोरा केउनसबर्ग यसअघि जेरेमी कोर्बिनका समर्थकहरुको कडा विरोधको शिकार बनेकी थिइन् भने उत्तर अमेरिकातर्फका सम्पादक जोन सोपेलमाथि डोनाल्ड ट्रम्प विरुद्ध आलोचनात्मक अडान लिने गरेको आरोप लगाइएको हो ।
त्यस्तै गत सोम्बार मात्र स्याडो क्याबिनेटका सदस्य एन्डि मेकडोनाल्डले लेबर पार्टी पराजित हुनमा बीबीसीको पनि भूमिका रहेको दाबी गरेका थिए ।
यसरी पछिल्लो समय बीबीसीको निष्पक्ष नीतिप्रति प्रश्न उठाउने क्रम बढ्दै गएको पाइएको द गार्जियनले लेखेको समाचारमा उल्लेख छ । यसकारण नै करेन्ट अफेयर्स र समाचारतर्फकी अध्यक्ष फ्रान अनसवर्थले सबै संचारकर्मीहरुलाई राजनीति र करेन्ट अफेयर्सबारे नियमित ट्विट नगर्न आग्रह गरिरहेकी छन् ।
यसबारेमा एक बीबीसी पत्रकार भन्छन्, ”उनले आफूले केही प्रतिरोधको सामना गर्नुपरे पनि यस विषयमा आन्तरिक बहस सुरु गर्न चाहेको बताइन् र अहिले सबै संवाददाताहरुलाई ट्विटर बन्द गर्न सुझाव दिने सोचमा छन् ।”
अन्सवर्थले बीबीसी काउन्सिल च्याम्बरमा भएको एक पार्टीका क्रममा यो योजना सार्वजनिक गरेको बताइएको छ ।
उनका नजिकी मित्रहरुले उनले ट्विटरलाई पूर्ण रुपमा बीबीसीमा प्रतिबन्ध लगाउँछु भन्नु ठट्टा मात्र हुन सक्ने तर कामका बेला सबै स्टाफहरुलाई सोसल मिडिया सम्बन्धी मार्ग निर्देशन गराउने कुरामा चाहिँ उनी अत्यन्तै गम्भीर रहेको बताएका हुन् ।
गतहप्ता मात्र द गार्जियनसँगको कुराकानीमा अन्सवर्थले ट्विटरका कारण पनि पत्रकारिता प्रभावकारी हुने गरेको स्वीकार गर्दै यस्तो भनेकी हुन्, “हामीले यसमा सामाजिक सञ्जाल सम्बन्धी निश्चित नियमहरु कार्यन्वयन गर्नुपर्ने हुन्छ । ”
अघिल्लो हप्ता मात्र बेलायती टेलिभिजन नेटवर्क च्यानल फोरले पनि राजनीतिक सम्बन्धी बिटमा काम नगर्ने स्टाफहरुलाई करेन्ट अफेयर्सबारे ट्विट गर्नबाट निषेध गरेको थियो ।
बीबीसीका पूर्व एडिटोरियल पोलिसी नियन्त्रक फिलि हार्डिङले बीबीसीको यो सम्भावित योजनाबारे सकारात्मक प्रतिक्रिया दिँदै भने, “उनीहरुले यसमा दुई कदम पछाडि हुनैपर्छ र आफूले भनेका कुराहरु कसैको पक्षमा नरहेको र सत्य भएको सुनिश्चित गर्न सबै प्रयास गर्नुपर्छ । किनकि अहिलेको समयमा निस्पक्ष समाचार सेवा नै सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।”
व्यक्तिगत धारणा र सत्य जानकारीबीच सन्तुलन राख्न अत्यन्तै जरुरी रहेको उनको भनाइ छ ।