
बीबीसी । स्पेनकी एक टिभी रिपोर्टरले चिट्ठा जितेपछि प्रत्यक्ष प्रशारणकै क्रममा अधिक उत्साहित हुँदै आफ्ना सबै सहकर्मीलाई भोलिदेखि काममा नआउने बताएकी थिइन् ।
उनको अचानकको घोषणाले त्यतिबेला सबैलाई अचम्ममा पार्यो । तर वास्तविकता थाहा पाएपछि भने उनले सबै समक्ष माफी माग्दै पुनः काममा फर्किन अनुरोध गर्नुपरेको हो ।
सार्वजनिक प्रशारक आरटीभीईमा कार्यरत नतालिया एस्कुदेरोले पूरै चिट्ठा जितेको भनेर झुक्किएपछि यस्तो शर्मनाक अवस्थाको सामना गर्नुपरेको हो तर उनको भागमा केबल ५,५५० डलर मात्र परेको थाहा पाएपछि भने उनी छाँगाबाट खसेझैँ भएकी हुन् ।
क्रिसमसको अवसरमा सञ्चालन गरिएको उक्त लोट्रीको सबैभन्दा उत्कृष्ट पुरस्कार ४० लाख डलर भन्दा धेरै रहेको थियो तर सो रकम अन्य साना विजेताहरुमा पनि बाँडिने गरिएको छ ।
यस्तोमा उनले आवेगमा आएर प्रत्यक्ष प्रशारणकै समयमा त्यसो भनेकाप्रति सबैसमक्ष माफी मागेकी हुन् ।
पूरै लोट्री जितिसकेको भन्ठानेर भावुक हुँदै दशर्कसामु त्यस किसिमको व्यवहार देखाएकाप्रति अत्यन्तै पछुतो लागेको उनी बताउँछिन् । यसमा आफू कसैबाट ठगिएको जस्तो महसुस भएको पनि उनले बताएकी हुन् ।
यसबीच उनको हर्कत ‘अनप्रोफेसनल’ भएको आरोप लगाउँदै सामाजिक संजालमा सो भिडियो व्यापक शेयर भएको छ । लोट्रीको घोषणा हुनासाथै उनी खुसी भएर उफ्रिँदै गरेको उक्त भिडियोमा देख्न सकिन्छ । दर्शकहरुले पनि उनले सबै लोट्री जितेको जस्तो देखाएर झुक्याउन खोजेको भनि असन्तुष्टि जनाएका हुन् ।
व्यापक विरोधको सामना गर्नुपरेपछि उनले पछिल्ला केही महिना व्यक्तिगत कारणले गर्दा अधिक कठिन रहेको भनि स्पष्टिकरण दिएकी हुन् ।
तर पनि २५ वर्ष कर्मठ पत्रकारका रुपमा काम गरिसकेकाप्रति आफू गर्व रहेको उनी बताउँछिन् । अहिले उनलाई सबैले झुट बोल्ने र धूर्त सञ्चारकर्मी भनेर बोलाइरहेको भनि उनले यसअघि ट्वीट गरेकी थिइन् । तर त्यो समयमा आफूलाई वास्तवमै थाहा नभएको उनले बताएकी हुन् ।