site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हिरोसिमामा आणविक बमबाट बचेका भवनहरु भत्काइँदै 

बीबीसी । जापानी शहर हिरोसिमाले १९४५ को आणविक हमलाबाट बच्न सफल दुई ऐतिहासिक भवनहरु भत्काउने बताएको छ । केही स्थानीयहरुले ऐतिहासिक महत्वका कारण यिनको संरक्षण गर्नुपर्ने भनिरहेपनि स्थानीय निकायले शक्तिशाली भूकम्प आएमा ती भवनहरु भत्किने जोखिम रहेकाले समय अगावै व्यवस्थित गर्नुपर्ने बताउँदै आएको छ । 

१९१३ मा निर्माण गरिएका ती दुई भवन पहिले त सैन्य पहिरनको उद्योगका रुपमा प्रयोग हुने गर्दथ्यो र पछि युनिभर्सिटीका विद्यार्थीहरुको वासस्थानमा परिणत भएको हो । बम बिस्फोटपछि ती भवन अस्पतालका रुपमा पनि प्रयोगमा आएको थियो । घटनाका एक जिवित स्थानीय भन्छन्, “यसलाई आणविक हतियार हटाउन प्रचार गर्ने संस्था बनाउन सकिन्छ । ” बमको प्रत्यक्ष असरका कारण त्यतिेबला ८० हजारको मृत्यु भएको थियो भने अन्य ३५ हजार घाइते भएका थिए । सो हमलाले शहरका अधिकांश भूभाग तहसनहस पारिदिएको थियो । यसमा बम खसालिएको स्थल भन्दा पाँच किलोमिटरको दुरीमा रहेका केबल ८५ भवनहरु मात्र बाँकी रहेका थिए । यस्तोमा बमले पुर्याएको क्षति अझै केही झ्याल र ढोकामा देख्न सकिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यी दुई बाहेक त्यसै क्षेत्रमा रहेको तेस्रो भवन भने कुनै प्रयोगमा ल्याइएको छैन र सर्वसाधारणका लागि बन्द गरिएको छ । त्यसलाई भूकम्पबाट बचाउनका लागि २०२२ सम्ममा भत्काइ पुनःनिर्माण गर्न सरकारको निर्देशन रहेको छ । ८९ वर्षीया इवाओ नाकानिसी बम हमला हुँदा तीमध्ये एक भवनमा थिए र उनी अहिले ती भवनहरु संरक्षण गर्न माग गर्ने समुहका प्रमुख हुन् । उनले मेनचि पत्रिका दैनिकसँग भनेका छन्, “ती भवनले भविष्यका सबै आगामी पीढीलाई त्यो दुःखद् घटनाका बारेमा बताउने हुनाले पनि यसको ऐतिहासिक महत्व रहेको छ । यसकारण हामी कुनैपनि हालतमा यसलाई भत्काउने पक्षमा छैनौँ । यसमा हामी सबैको कडा विरोध छ । ” 

हिरोसिमा घटनाः 

सन् १९४५ मा जर्मनीले आत्मसमर्पण गरिसकेपछि पनि जापानले एसियाबाट लडाईँ जारी राखेको थियो । यसबीच जापानले शान्तिका लागि गरिएको अपील बारम्बार अस्वीकार गरेपछि अमेरिकाले आफ्नो क्षति जोगाइ जापानबाट हार प्राप्त गर्न हिरोसिमामा बम खसालेको थियो । त्यो पहिलो बमको, पछिसम्मको असरले कूल १ लाख ४० हजारको मृत्यु भएको थियो । यसरी विश्वमा पहिलोपटक युद्धको समय आणविक हतियार प्रयोग गरिएको हो । तर हमलाको तीन दिनपछि पनि जापानबाट आत्मसमर्पणको कुनै खबर नआएपछि अमेरिकाले दोस्रो बम नागासाकि शहरमा खसालेको थियो । यसको ६ दिन पश्चात् जापानले हार स्वीकार गर्यो जसले नै दोस्रो विश्व युद्ध अन्त्य गराएको हो । 
 

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  ०५:४६
प्रतिक्रिया दिनुहोस्