
इस्लामाबाद । एकताका दक्षिण एसियाका चतुर राजनीतिक खेलाडीका रूपमा परिचित पाकिस्तानी पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई त्यहाँको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
सैनिक शासक भएर पनि उनले दुई दशकअघि विश्वको पुरानो लोकतन्त्र अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुससँग हात मिलाएको चर्चा त्यसबेला भएको थियो । जतिबेला भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले भने उनीसँग हात मिलाउनसमेत मानेका थिएनन् । अमेरिकाले हात मिलाउनुको कारण सेप्टेम्बर ११ को घटनापछि उसले चालेको आतंकवादविरोधी अभियानमा मुसर्रफको साथ नै थियो । यही साथले उनीमाथि ज्यानै लिने गरी धेरैपटक हमला हुँदै आए पनि जोगिएकै थिए ।
तत्कालीन बेलायती उपनिवेशका बेला भारतको नयाँदिल्लीमा सन् १९४३ मा जन्मिएका ७६ वर्षीय मुसर्रफलाई पाकिस्तानको विशेष अदालतले मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो । यद्यपि उनले यो आदेशविरुद्ध अझै पनि सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । जसलाई पाकिस्तानी पूर्व–महान्यायाधिवक्ता अस्तर अउसफले ब्लुमबर्ग अनलाइनसँगको कुराकानीमा पनि बताएका छन् । उनी सन् २०१६ देखि उपचारका क्रममा दुबईमै छन् ।
पेसावर हाइकोर्टका प्रमुख न्यायाधीश वाकर अहमद सेठ नेतृत्वको ३ सदस्यीय इजलासले यस्तो फैसला सुनाएको हो । उनलाई पछिल्लोपटक औषधोपचारका सिलसिलामा विदेश जान दिइएको थियो । तर, अदालतमा नफर्किएकाले उनी पछिल्लो समयमा फरार अपराधी (वान्टेड) को सूचीमा थिए ।
उनीमाथि संविधानको अवहेलना र गम्भीर देशद्रोहको मामिलामा अदालतले बयान लिन खोजे पनि अदालतमा उपस्थित हुन सकेका थिएनन् । संविधानको अवहेलना र देशद्रोहको मुद्दा उनीमाथि थियो । उनले भनेका थिए, ‘यो अभियोग पुरै निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त देशको सेवा निकै गरेको छु । लडेको छु ।’
उनीविरुद्धको अभियोगमा सुनुवाइ गरिरहेको विशेष अदालतले २८ नोभेम्बरमा बयान दर्ताका लागि ५ डिसेम्बरसम्मको समय दिएको थियो । त्यसपछि अदालतले कुनै निवेदन नलिने जनाएको थियो ।
मुसर्रफले भने संविधान अवहेलनाको विषयमा सुनुवाइ नभएको जनाएका थिए । न्यायलयले आफ्ना वकिल सफदरको पनि सुनुवाइ नगरेको उनको आरोप थियो । उनले त्यसलाई ज्यादति भनेका छन् । साथै आफ्नो सन्दर्भमा अन्याय भएको प्रतिक्रिया जनाएका छन् ।
उनले आफ्नो स्वास्थ्यबारे जानकारी लिन र निर्णय गर्न अनुरोध गरेका थिए । ५ डिसेम्बरदेखि उनको मुद्दाको सुनुवाइ नियमित भइरहेको थियो । यसअघि इस्लामाबाद उच्च अदालतमा पनि उनको सुनुवाइ भएको थियो । सन् २०१३ को चुनावमा विजयी भएसँगै पाकिस्तानको मुस्लिम लिग पार्टी सरकारमा आएको थियो । जसको सरकारलाई अपदस्थ गरी उनी सन् १९९९ मा सत्तामा उदाएका थिए । त्यसैले मुस्लिम लिगको सरकारले उनीमाथि पालोको पैंचो तिर्नु अस्वाभाविक थिएन ।
मुस्लिम लिगको सरकार आएपछि पूर्वसैनिक राष्ट्रपति मुसर्रफविरुद्ध संविधानको अवहेलना मुद्दा दर्ता गरेको थियो । पूर्वसैनिक राष्ट्रपतिविरुद्ध मुद्दा लगाइयो । उनी एकपटक मात्र विशेष अदालतमा उपस्थित भए । स्वास्थ्य बिग्रँदा १८ मार्च २०१६ मा उनी दुबई गए । पाकिस्तानको इतिहासमा मुसर्रफ पहिलो व्यक्ति हुन् जसलाई संविधानको अवहेलनाको मुद्दा लगाइएको थियो ।
त्यतिबेला उनले कम्मर दुख्ने रोगका कारण आफू उपचार बिदेसिएको बताएका थिए । उपचार गरी फर्किएपछि उनले आफूविरुद्धको अभियोग सामना गर्ने बताएका थिए । मार्च २०१६ मा केन्द्र सरकारसँग लिखित स्पष्टीकरण माग्दै विशेष न्यायालयले विदेश जाने अनुमति किन दिइएको भनेर प्रश्न गरेको थियो । न्यायालयले विदेशसचिवलाई आदेश दिँदै भनेको थियो– ‘योबारे लिखित जवाफ पेस गर ।’
यद्यपि तत्कालीन सरकारी वकिल अकरम सेखले सर्वोच्चकै आदेशमा उनलाई अनुमति दिइएको स्पष्टीकरण दिएका थिए । गम्भीर देशद्रोहको अभियोग लागेकाले अप्रिल २०१३ मा उनको नाम विदेश जान नपाउनेको सूचीमा राखिएको थियो । गत मार्चमा सर्वोच्चले मुसर्रफको बयान भिडियो कन्फ्रेन्समार्फत ‘रेकर्ड’ गराउन आदेश दिएको थियो ।
देश फिर्ता ल्याउने पहलबारे पनि सर्वोच्चले सरकारसँग सोधेको थियो । ११ जुनमा सर्वोच्चले पूर्वराष्ट्रपति मुसर्रफको परिचय–पत्र र पासपोर्ट कायमै राख्न आदेश दिएको थियो । तर, मुसर्रफले आफूविरुद्धका सबै मुद्दामा अदालतले जमानत दिए मात्रै स्वदेश फर्किने सर्त राखेका थिए । वर्तमान सरकारले भने मुसर्रफमाथिको अभियोजन टोली नै भंग गरिदिएको थियो । यसको संकेत केही नरम जस्तो थियो । यसबारे अदालतले सरकारसँग प्रश्न पनि उठाएको थियो ।
उदय र पतन
मुसर्रफले सन् १९९९ मा सैन्य विद्रोहबाटै पाकिस्तानको सत्ता आफ्नो हातमा लिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई अपदस्थ गरेका थिए । २००१ जुनमा उनी सैन्य प्रमुख रहेका बेलै आफूलाई राष्ट्रपति घोषणा गरेका थिए ।
२००२ को अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराएर उनी ५ वर्षका लागि राष्ट्रपति भएका थिए । सन् २००७ को अक्टोबर–नोभेम्बरमा भएको चुनावमा उनले पुनः जित हासिल गरेका थिए । तर, उनको चुनावलाई सर्वोच्च अदालतले चुनौती भने दिएको थियो ।
त्यसपछि उनले मुलुकमा संकटकाल घोषणा गरे । मुख्य न्यायाधीश इफ्तिखार चौधरीको स्थानमा अर्का न्यायाधीश नियुक्त गराएर चुनावलाई वैध बनाएका थिए । २००८ अगस्टमा उनले राष्ट्रपति पदबाट राजीनामा दिए । दुई मुख्य पार्टीले महाअभियोग ल्याउन लागेपछि उनले सहमतिमा राजीनामाको घोषणा गरेका थिए ।
पछिल्लोपटक पुलवामा घटनाका कारण भारत–पाकिस्तान तनावका समयमा एक अन्तर्वार्ता दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उनले कडा आलोचना गरेका थिए । यता पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भने प्रशंसा गरेका थिए ।
जीवनका महत्त्वपूर्ण घटनाक्रम
१९४३ जन्म, नयाँदिल्ली, भारत
१९६१ मिलिटरी एकेडेमीमा प्रवेश
१९९९ मा रक्तपातविहीन ‘कू’ र २ वर्षपछि राष्ट्रपति
२००७ मा शक्ति गुम्यो
२००८ मा निर्वाशन
२०१३ देखि २०१६ सम्म स्वदेश फिर्ता
२०१४ मा देशद्रोहको अभियोग
२०१६ मा दुबई प्रस्थान
२०१९ मा मृत्यु दण्डको फैसला