site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विश्वकै कान्छी प्रधानमन्त्रीलाई अर्कै देशका मन्त्रीले ‘सेल्स गर्ल’ भन्दाको तरंग

इस्टोनिया । इस्टोनियाका राष्ट्रपतिले आफ्नो देशका आन्तरिक मामिला सम्बन्धी मन्त्रीले विश्वकै सबैभन्दा कान्छी ३४ वर्षीया फिनल्याण्डकी प्रधानमन्त्रीलाई ‘अ सेल्स गर्ल’ भनेकोमा माफी मागेका छन् ।

राष्ट्रपति केस्टी काल्जुलेडले एक्रे पार्टीका ७० वर्षीय नेता मार्ट हेल्मेको सो भनाइबाट आफू लज्जित भएको जनाएकी छन् । फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिन यही डिसेम्बर १० का दिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री भएकी हुन् । मन्त्री हेल्मेले आफ्नो विवादस्पद भनाई रेडियो टक शोका क्रममा राखेका थिए ।
‘‘हामीले अहिले देखेका छौं कसरी एउटी सेल्स गर्ल प्रधानमन्त्री भइन् । र, कसरी अरु केही सडकका अभियन्ता र अशिक्षित मानिस मन्त्रिमण्डलमा सामेल भएका छन्,’’ उनले भनेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मारिन विश्वविद्यालयमा पढ्न जानुअघि एक सेल्स असिस्टेन्टको रुपमा काम गरेकी थिइन् । विपन्न परिवारमा जन्मेकी उनी राजनीतिमा त्यसपछि प्रवेश गरेकी हुन् ।  मारिनले ट्विटरमा जवाफ दिँदै आफू फिनल्याण्डप्रति गौरवान्वित भएको जनाएकी छन् ।  गरिब परिवारमा जन्मेको मानिस पनि शिक्षित भएर आफनो जीवनमा धेरै कुरा पाउन सक्ने जनाउँदै पसलको एक जना क्यासियर प्रधानमन्त्री पनि हुन सक्ने जनाएकी छन् ।

विवादमा आएपछि हेल्मेले भने आफ्नो भनाइलाई गलत रुपमा बुझिएको जनाउँदै फिनल्याण्डका प्रधानमन्त्री समक्ष माफी मागेका छन् ।  इस्टोनियाका राष्ट्रपतिले आफ्ना फिनल्याण्डका समकक्षी साउली निनिस्टोलाई सन्देश पठाएर मारिन र उनको सरकारलाई आफ्नो तर्फबाट क्षमायाचना सुनाइ दिन आग्रह गरेकी छन् । (बीबीसी)
 

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  ०८:५६
प्रतिक्रिया दिनुहोस्