
नयाँ दिल्ली । बलात्कार आरोपको मुद्दा खेपिरहेका भारतीको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)का सांसद ५१ वर्षीय कुलदीप सेनगार दोषी ठहर भएका छन् । यो वर्षकै एक 'हाइ-प्रोफाइल' मुद्दा भएको जनाइएको छ ।
सन् २०१७ मा उनले एक १७ वर्षीया किशोरीलाई हप्तौसम्म आफूले र केही साथीहरुलाई बोलाएर बलात्कार गरेको पाइएको हो । प्रहरीले आफूमाथिको बलात्कार मुद्दाको अनुसन्धानमा बेवास्ता गरेको आरोपमा ती किशोरीले आफैंलाई जलाउने प्रयास गरेपछि गत वर्ष यस मुद्दाले सिंगो मुलुककै ध्यान तानेको थियो ।
सन् २०१९ को जुलाईमा उनको कार दुर्घटना गराइएको थियो । उक्त दुर्घटनामा ती किशोरी गम्भीर घाइते भइन् । उनीसँगै यात्रा गरिरहेकी उनकी 'अन्टी' को निधन भयो भने उनको वकिल पनि गम्भीर घाइते भएका थिए ।
उनलाई मंगलबार सजाय सुनाइने छ । सम्भवत: उनलाई आजीवन जेलसजाय हुनेछ ।
नाम गोप्य राखिएकी ती किशोरीलाई सेनगरले जागिर लगाइदिने भन्दै बोलाएका थिए । पछि उनलाई अपहरण गरी हप्तौंसम्म बन्धक बनाएर बलात्कार गरेका र उनले आफ्ना साथीहरुलाई बोलाएरसमेत बलात्कार गर्न लगाएको आरोप ती किशोरीले लगाएकी थिइन् । - बीबीसी