site stats
बाह्रखरी :: Baahrakhari
देश
महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई दिने सेवा बढी विश्वासिलो बनाऔं :  खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा संचालित ‘आवश्यकता पहिचान सम्बन्धी तालिम’ को समापन कार्यक्रममा खनालले यस्तो बताएका हुन । 

खनालले तालिममा हासिल गरेका व्यवहारिक ज्ञान, सिप एवम् कौशललाई कार्यक्षेत्रमा दुरुस्त उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै महिला, बालबालिका तथा जेष्ठ नागरिकको मन जित्ने व्यवहार प्रस्तुत गरी पीडितलाई न्याय दिन दिन आग्रह गरे । न्यायपूर्ण काम गर्दै जनमानसमा नेपाल प्रहरी हाम्रो हो, हाम्रा लागि हो भन्ने अनुभव गराउन सफल हुने गरी अगाडि बढ्नुपर्नेमा खनालको जोड छ ।  

Argakhachi Cement Island Ad

कार्यक्रममै प्रहरी महानिरीक्षक खनाल र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा जानकारी पुस्तिकाको संयुक्त रुपमा लोकार्पण समेत गरे । कार्यक्रममा काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनका डिन प्राध्यापक डा महेशनाथ पराजुली र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले तालिमको महत्वमाथि प्रकाश पारेका थिए ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको आयोजना एवम् काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन र यूनिसेफको सहयोगमा संचालित १९ कार्यदिनको तालिममा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ५ जना, प्रहरी निरीक्षक १० जना, प्रहरी नायव निरीक्षक २ जना र प्रहरी सहायक निरीक्षक २ जना गरी कुल २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १७:१९
प्रतिक्रिया दिनुहोस्