
छोरा–बुहारीलाई छुट्टै कोठा बनाएजस्तो,
छोरी–ज्वाइँलाई नयाँ बैठक सजाएजस्तो,
आतिथ्य सत्कार
स्याहार सुसार
केही पनि गर्न पर्दैन मलाई,
म त यसै घाँटीसम्म अघाइसकेकी छु आफ्नै जिन्दगीसँग,
अब बाँकी केही छ भने
तिमीसँगै बाँच्नुको
थोरै भोक मात्रै बाँकी छ
गुनासो त मेरो
यसै पनि छैन उसै पनि छैन
सक्छौ यो भोक मेटाइदेऊ ।
अब त तनक्क खुट्टा तन्काउन सक्ने
शक्ति पनि छैन मसँग
मलखातबाट निस्किएको खुम्रे कीराजस्तै
एकैठाउँमा निदाउन सक्छु,
आफैंसँग हारेर
तिमीलाई जिताउन सक्छु,
कुप्रो परेर सारा दिन बिताउन सक्छु
रातभर मलाई
तिम्रो भर्याङमुनिको
अँधेरो खोपीमा
अँध्यारोले नै छोपिएर
बस्न देऊ
म रातको कालीमासँगै हराउनेछु
र, रातभित्रै छामेर आफूलाई भेटाउनेछु,
तिमीले पानी नसोधेर के भयो र बाबु
म आफ्नै आँसु पिएर तिर्खा मेटाउनेछु ।
सारा समस्याको जड मलाई नै ठान
र पोख तिम्रो मनको नीमको सबै झोल
म त हिउँद–बर्खाले खियाएकी बगरकी ढुंगा,
समयको सय चोट खाएकी पुरानो अचानो,
मलाई केही फरक पर्दैन ।
ताजा भएर आउँछ त्यो याद
मेरो काखमा दूध चुसिरहँदा
आफ्ना कलिला खुट्टीहरूले
मेरो ज्यानमा हानिरहन्थ्यौ,
जति नै जोडले हाने पनि
दुख्दैनथ्यो मलाई
बरु
छिप्पिएको मेरो हड्डीले
तिम्रा कलिला कुर्कुच्चालाई
दुख्यो कि भनेर
पल्टाई पल्टाई हेर्थेँ
र सुम्सुम्याउँथेँ तिम्रा पैतालाहरू,
तर,
हेर न विधिको विडम्बना,
यी आँखा तिनै हुन्
जहाँ आज
आफैँलाई डुबाउला जस्तो
आँसुको पोखरी जमेको छ,
उसो त
उमेरमा रुँदा भेल बगाउने आँखाहरूले
यतिखेर तप्किन मात्रै जान्दा रहेछन्
कसले भन्छ आँसुको वजन हुँदैन
नत्र खसेपछि आँसु
किन हलुको हुन्थ्यो र मन
केही बिर्सेबिर्से जसरी
केही सम्झेसम्झे जसरी
भनिरहेछु तिमीलाई,
अब केही गर्नु पर्दैन मेरा लागि
सक्छौ भने मेरो एउटा इच्छा
पूरा गरिदेऊ,
जसरी
तिमी सानो छँदा निस्फिक्री निदाउँथ्यौ मेरो काखमा,
त्यसरी नै
मलाई तिम्रो छेउमै निदाउन देऊ
सक्दैनौ यदि भने पनि
म कुनै गुनासो गर्ने छैन
बाबु
मलाई वृद्धाश्रम पुर्याइदेऊ