
अहिलेसम्म एक्सन हिरो र पारंगत डान्सरको भूमिकामा देखिँदै आएका टाइगर श्रफ यसपटक करण जोहरको निर्माणमा बनेको ‘स्टुडेन्ट अफ दि इयर–२’मा विद्यार्थी बन्दै छन् । कुनै समयका सुपरस्टार ज्याकी श्रफका छोरा टाइगर युवायुवतीका रोजाइमा पर्ने कलाकार हुन् । करण आफैंले निर्देशन गरेको पहिलो संस्करण ‘स्टुडेन्ट अफ दि इयर’मा देखिएका आलिया भट्ट, बरुण धवन र सिद्धार्थ मल्होत्रा अहिलेका नामी र बिकाउ कलाकार भएका छन् । उनीहरूले यही फिल्मबाट फिल्म फिल्मी करिअर शुरुवात गरेका हुन् । यसको दोस्रो संस्करणमा आइपुग्दा टाइगरको क्रेजले कत्तिको प्रभाव पार्छ, त्यो हेर्न बाँकी छ । ‘नवभारत टाइम्स’सँगको कुराकानीमा टाइगरले आफ्ना फिल्म, करिअर, एक्सनको डर, बुवा–आमा र दिशा पटनीको बारेमा कुराकानी गरेका छन्—
१) अहिलेसम्म तपाईंले गर्नुभएका फिल्मका कारण तपाईंको इमेज एक्सन हिरोको छ । तर ‘स्टुडेन्ट अफ दि इयर–२’मा विद्यार्थी बन्नुभएको छ । यो भूमिकाका लागि तपाईंले आफूमा के परिवर्तन ल्याउनुभयो ?
विद्यार्थीको भूमिकाका लागि करण (जोहर) सर, निर्देशक पुनित मल्होत्रा र वेशभूषाका मनीष मल्होत्राले मेरो आवरणमा धेरै मेहनत गर्नुभएको छ । उहाँहरूलाई थाहा छ कि अचेलका केटाहरू कसरी डेनिमको जिन्स र टिसर्ट लगाउँछन् । धर्मा प्रोडक्सन हुनुका कारण उहाँहरूलाई ग्ल्यामर र चमक पनि राख्नु थियो । उहाँहरूले ‘बडी ल्यांग्वेज’मा पनि काम गर्नुभयो । मैले आफ्नो व्यायामवाला शरीरलाई डायटमार्फत पातलो बनाएँ । यसमा मैले धेरै नै काम गरें । मलाई ‘माचो म्यान’ होइन, साधारण केटो देखिनु थियो । मैले आफ्नो मांशपेसीलाई हलुका बनाएँ । म कहिल्यै कलेज गएको छैन । स्कुल सक्नेबित्तिकै ‘हिरोपन्थी’ फिल्म पाइहालें । कलेजै नगएको मान्छेलाई कलेजबारे कसरी थाहा होस् र ! त्यसैले मैले आफूलाई सम्पूर्ण रूपमा पुनित सरको जिम्मा लगाइदिएँ । यो फिल्ममार्फत मैले आफ्नो कलेज जीवन जिउन पाएँ ।
२) यो फिल्मलाई ‘स्टुडेन्ट अफ दि इयर’सँग तुलना गरिनेछ । यो विषयमा तपाईंले आफूलाई कसरी तयार पार्नुभएको छ ?
म पूर्ण रूपमा तयार छु । यो असाध्यै हिट फिल्मको फ्रेन्चाइज हो । साथै तीन स्टारको डेब्यु पनि यसैबाट भएको हो । त्यसैले मलाई तुलना पक्कै हुन्छ भनेर थाहा छ । म नर्भस पनि छु किनकि म धर्मा प्रोडक्सनका लागि ‘आउटसाइडर’ हुँ । पहिलो फिल्म ब्लकबस्टर भएको थियो । त्यो सफलतालाई अगाडि बढाउने जिम्मेवारी अहिले मेरो काँधमा छ । सँगसँगै म खुशी पनि छु कि मैले नयाँ तरिकाको फिल्म गर्ने मौका पाएँ । यसको सम्पूर्ण श्रेय पुनित र करण सरलाई जान्छ ।
मैले ‘बागी’ फिल्म गर्दा करण सरले मलाई आफ्नो अफिस बोलाउनुभएको थियो । पहिलो भेटमै उहाँले सोध्नुभयो कि मलाई कस्तो खाले फिल्म मन पर्छ । दोस्रो भेटमा उहाँले ‘स्टुडेन्ट अफ दि इयर–२’मा काम गर्ने÷नगर्नेबारे मेरो राय बुझ्नुभयो । यो प्रस्तावले म अचम्भितसँगै खुशी पनि भएँ । मैले करण सरलाई प्रतिप्रश्न गर्दै ‘यो प्रस्तावमा तपाईं पक्का हो ?’ भनेर सोधें । किनकि, ‘स्टुडेन्ट अफ दि इयर’ बरुण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्राको फिल्म हो । करण सरले भन्नुभयो, “बिलकुल । बरुण, आलिया र सिद्धार्थले फिल्म गरिसके र उनीहरू ग्य्राजुयट पनि भइसके ।”
३) तपाईं स्कुले विद्यार्थी हुँदा कहिल्यै ‘स्टुडेन्ट अफ दि इयर’ हुनुभयो ?
सानोमा त म साह्रै चकचके थिएँ । स्कुले जीवनमा हुँदा रिस उठेका बेला मान्छेलाई टोक्थें । तर, म खेलकुदमा अगाडि थिएँ । खेलकुदकै कारण म स्कुल जान्थें । यही कारण म स्कुलमा हिरो हुन्थें । हरेक वर्षजस्तो मैले स्कुलमा ‘स्पोर्ट्सम्यान अफ दि इयर’ अवार्ड पाउँथें । यही कारणले पनि होला— मैले आफूलाई यो फिल्मसँग जोड्न सकें । किनकि, यो फिल्ममा मेरो चरित्र कबड्डीको ट्रफीका लागि प्रतिस्पर्धा गरिरहेको हुन्छ ।
४) यो फिल्म कबड्डीजस्तो खेलकुदमा आधारित छ । तपाईंले कहिल्यै कबड्डीको प्रशिक्षण लिनुभएको छ ?
मैले माथि नै भनें— म खेलकुदको जबर्जस्त प्रेमी हुँ । यो फिल्ममा मलाई कबड्डी खेल्ने मौका मिल्यो । कबड्डीजस्तो खेलमा ‘अथेन्टिक बडी ल्यांग्वेज’का लागि मैले खुब तयारी गरें । हेर्दा कबड्डी साधारणजस्तो लाग्छ तर त्यसमा असाध्यै शारीरिक परिश्रम लाग्छ । शारीरिक र प्राविधिक दुवै हिसाबमा कबड्डी मेरो लागि चुनौतीपूर्ण थियो । तर, यो फिल्म मेरो लागि आरामदायी भयो । किनकि, ‘बागी’जस्तो फिल्म गर्दा भरमार एक्सनका कारण शारीरिक र मानसिक बोझ धेरै हुन्छ । यसमा त्यस्तो भएन ।
५) केही समयअघि एक्सन सिन शुटिङ गर्दा विक्की कौशल गम्भीर घाइते भए । त्योभन्दा अघि रणवीर सिंह घाइते भएका थिए । तपाईं एक्सन हिरो हुनुका नाताले आमा (आयशा श्रफ) कति डराउनुहुन्छ ?
मैले स्टन्ट वा एक्सन सिन गर्ने बेला आमा र बुवा दुवै डराउनुहुन्छ । उहाँहरू भन्नुहुन्छ— यदि आवश्यक छैन भने यस्तो सिन आफैं गर्नु हुँदैन । अचेल प्रविधि यति परिस्कृत भइसक्यो कि पर्दामा हामी सजिलै दर्शक झुक्याउन सक्छौं । तर, सधैं मेरो प्रयास भने एक्सन सिन गर्दा झुट नदेखियोस् भन्नेमै हुन्छ । यस्ता सिन गर्दा मैले जति कम सोच्छु, मेरो लागि त्यत्ति नै बढी फाइदाजनक हुन्छ । चिन्ता लिन थालें भने म ती सिन गर्नै सक्दिनँ । धेरै सोचियो भने मनमा डरले घर बनाउन थाल्छ । त्यो डरले कलाकारको ऊर्जा शिथिल बनाउँछ । त्यो डर पर्दामा देखिन्छ । अचेलका दर्शकको दृष्टि तेजिलो छ । मैले जति पनि एक्सन सिन वा स्टन्ट गर्नु, आफ्नो इच्छा र ऊर्जाले गर्छु । मलाई थाहा हुन्छ— सेटमा मेरो सुरक्षाका लागि सम्पूर्ण बन्दोबस्त गरिएको छ, त्यसैले मैले काम गर्नु छ ।
६) तपाईंकी आमाले सामाजिक सञ्जालमा लगातार तपाईंका पोस्ट सेयर गर्नुहुन्छ । सामाजिक सञ्जालमा मात्रै हो कि वास्तविक जीवनमा पनि आमा–छोराको प्रेम यस्तै छ ?
आमा मेरो जीवनको महत्वपूर्ण ‘सपोर्टिभ सिस्टम’ हुनुहुन्छ । मैले जे गरे पनि उहाँलाई राम्रो लाग्छ । म उहाँको प्रतिक्रिया लिन्छु । मलाई थाहा छ कि आमा मलाई धेरै प्रेम गर्नुहुन्छ तर मैले बहिनी कृष्णाका प्रतिक्रिया अलि गम्भीर रूपले लिन्छु । किनकि उसले मलाई सधैं इमान्दर प्रतिक्रिया दिन्छे । ‘स्टुडेन्ट अफ दि इयर’को लुक उसलाई खुब राम्रो लागेको छ । उसले भनेकी छ, “आशा गरेभन्दा फिल्म राम्रो हुनेवाला छ । यसै पनि यो फिल्मको फ्यानबेस राम्रो छ । तपाईंको फ्यानबेसले यसलाई झनै तिख्खर बनाउनेछ ।”
७) जेठो छोरो हुनुको नाताले परिवारमा तपाईंको योगदान के छ ?
मैले घरका सबै बिल तिर्न थालेको छु । सबै कर्मचारीको तलब म आफैं दिन्छु । भनौं, सबै कर्मचारीको जिम्मा मेरै छ । बुवा–आमाका लागि मैले एउटा घर पनि किनेको छु । मैले घर किन्दा आमा–बुवाका आँखा रसाएका थिए । उहाँलाई लाग्यो— जीवनको एउटा चक्र पूरा भयो । मैले उहाँहरूका लागि जे–जति गरे पनि त्यो कमै हुन्छ । किनकि उहाँहरूले मलाई जसरी हुर्काउनुभयो, त्यसको सानो अंश पनि मैले फिर्ता गर्न सक्दिनँ । म भाग्यमानी हुँ कि मैले यस्ता आमा–बुवा पाएँ । म आफ्ना लागि नभएर उहाँहरूका लागि कामप्रति इमानदार हुन खोज्छु । म चाहन्छु— मैले हरेक फिल्ममा उहाँहरूलाई गर्व हुने काम गर्न सकूँ ।
८) कलाकारको रूपमा स्थापित भइसकेपछि बुवा (ज्याकी श्रफ)सँगको सम्बन्धमा केही परिवर्तन आएको छ ?
बुवा र मेरो भेट हुँदा जहिल्यै पनि कामभन्दा यताउताका कुरा धेरै हुन्छन् । हामीले जिन्दगी, स्वास्थ्य र घरपरिवारका कुरा गर्छौं । (हाँस्दै) जीवनलाई लिएर उहाँले धेरै भाषण दिनुहुन्छ, ती सबै मैले सुन्नुपर्छ ।
९) तपाईं र दिशा पटनी (अभिनेतृ)ले सामाजिक सञ्जालमा लेखेको देख्दा तपाईंहरू प्रेमी—प्रेमिका भएको अनुभूत हुन्छ । वास्तविकता के हो ?
कुरा त के हो भने अहिले हामी राम्रा साथी हौं । (हाँस्दै) मलाई लाग्छ— यही नै सबैभन्दा राम्रो हो । किनकि हामी सधैं साथी रहन सक्छौं र धेरै कुरा एक–अर्कालाई सेयर गर्न सक्छौं । खासमा मेरो एकदमै कम साथी छन्, जसमा दिशा पनि एक हुन् । उनीसँग समय बिताउन मलाई धेरै मौका मिल्छ किनकि हाम्रा रुचि एकै प्रकारका छन् । हामी धेरै कुरा गर्छौं । एक–अर्कालाई ऊर्जा दिन्छौं । हामीले सँगसँगै धेरै काम गर्छौं । हामी बाहिर जान्छौं र कसैले हामीलाई क्यामरामा कैद गरिहाल्छ । त्यसपछि मान्छेले हामीलाई लिएर कथा बनाउन थाल्छन् ।