site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हरिवंश भन्छन्– दीपक–दीपातिर ढल्किएपनि पछुतो छैन

हरिवंश आचार्य नेपाली हास्यव्यङ्ग्य क्षेत्रका महारथी हुन् । उनका टेलीचलचित्र हुन् अथवा उनी स्टेज चढुन् दर्शक हाँस्छन् नै । ‘बलिदान’, ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ पछि चलचित्रमा नदेखिएका उनी गतवर्षबाट चलचित्रमा देखिन थालेका छन् । गत वर्ष ‘शत्रु गते’ महसञ्चारको ब्यानरमा बन्यो भने यो वर्ष सोही ब्यानरमा ‘दाल भात तरकारी’ निर्माण भयो । ‘शत्रु गते’ले हरिवंश मदनकृष्ण श्रेष्ठको इमेजलाई थप उज्यालो पार्नेभन्दा धमिलो पारेको टिप्पणी भयो । ‘दाल भात तरकारी’को गीत र ट्रेलरलाई लिएर पनि त्यस्तै अड्कलबाजी भइरहेका बेला केही दिन अगाडि बाह्रखरीका नरेश फुयाँलले उनीसँग यसबारे केही जिज्ञासा राख्दै केही आरोप पनि लगाएका थिए । 

महसञ्चारको ब्यानरमा चलचित्र ‘दाल भात तरकारी’ निर्माण भएर प्रदर्शनको तयारीमा छ । यो कस्तो चलचित्र हो ?
‘दाल भात तरकारी’ पारिवारिक चलचित्र हो । मनोरञ्जनात्मक चलचित्र बनाउने प्रयास गरेका छौं । यसमा त्यति धेरै सन्देश राखेका छैनौं । साधारण सन्देश छ । देशमै दालभात तरकारी खाउँ भन्ने सन्देश दिन खोजेका छौं । सन्देश र उपदेश त घरमै बुवा आमाले दिइरहनु हुन्छ । कलेजमा पढ्न गयो भने शिक्षकले पनि दिनुहुन्छ । धेरै सन्देश मात्रै दियो भने पनि मोनोटोनस हुन्छ । त्यसैले हामीले सन्देशभन्दा पनि मनोरञ्जन दिन खोजेका छौं । पारिवारिक चलचित्र हो । हाँसो उठ्ने कुराहरु पनि छन् चलचित्रमा । 

विषयवस्तु निकै गहन छ, तर गीत र ट्रेलर हेर्दा त्यो गहनता छैन कि जस्तो देखिन्छ, स्पष्ट पादिर्नुस् न । 
आ–आफ्नो हेर्ने दृष्टिकोण हो । तपाईंले त्यसो भनिदिँदा चलचित्र हेर्दा होइन रहेछ भने हाम्रो चलचित्रलाई असर गर्छ । जहाँसम्म गीतको कुरा छ, टेक्निकल्ली रुपमा गीत असाध्यै राम्रो भएको छ । हिरो हिरोइन र डान्सरहरुले मेहनत गरिदिनु भएको छ । राम्रो रेस्पोन्स पाएका छौं । ट्रेलरमा पनि राम्रो भएन भन्ने रेस्पोन्स कमै पाएका छौं । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिजिट भिसामा केही प्रश्न उठे, पछिल्लो आइटम गीत सार्वजनिक भयो । यही गीत हेर्दा मह जोडी चलचित्र कसरी हुन्छ चलाउनु पर्छ, हाम्रो ब्यानरमा बनेको चलचित्र चल्नुपर्छ भन्ने मनोविज्ञानमा केन्द्रित भए जस्तो देखिन्छ नि !
त्यस्तो होइन । चलचित्र हेरेपछि स्पष्ट हुन्छ यो कुरा । चलचित्रमा एउटा पात्रले गरेको कल्पनामात्रै हो यो । बाहिर गयो भने पैसा कमाइन्छ, त्यसैले चाँडै जानुपर्ने रहेछ भन्ने पात्रको मनोदशालाई गीतमा उतारिएको हो । चलचित्र हेरेपछि त्यो स्पष्ट हुन्छ । 
आइटम गीतको कुरा गर्दा निर्वस्त्र भएर नाङ्गै बनाएर प्रस्तुत गरेका छैनौं । हामी कोठामा बस्दा पनि भारतीय च्यानलहरु लगाउँछौं । चलचित्रका गीतहरु आउँछन् । हाम्रो गीतलाई भल्गर भन्न मिल्दैन । 

मह सञ्चारका लागि चलचित्र चलाउन आइटम गीत आवश्यक पर्ने हो र ?
कि कमर्सियल चलचित्र बनाउनु नै हुँदैन । बनाइसकेपछि चलचित्रका केही फर्मुला प्रायोग गर्नुपर्छ । हाम्रो चलचित्रबाट नराम्रो सन्देश जाला जस्तो लाग्दैन । 

यो चलचित्र प्रस्तुतिको जुन शैली यहाँहरुले अपनाउनु भयो, यसको ठीक विपरित तपाईंहरुको आफ्नै शैलीले पनि त चलचित्र बनाउन सकिन्थ्यो होला ।
यसमा हाम्रै शैली छ । हाम्रो शैली पनि छ र चलचित्रको फर्मुला पनि मिसाएका छौं । दुईटा शैली मिलाएर बनाएका हौं । 

यहाँहरुले हामीसँगै अघिल्लो अन्तर्वार्तामा भन्नुभएको थियो, वास्तवमा अहिले भनिएका फरक धारका चलचित्र त हामीले ‘१५ गते’, ‘लाल पूर्जा’ जस्ता टेलीचलचलचित्रबाटै सुरुआत भइसकेको रहेछ । त्यसैगरी तपाईहरुबाट शालीन तरिकाले चलचित्रको कथा पो दर्शकले अपेक्षा गरेका थिए कि ?
तपाईंको सोचाइ त्यो होला । तर तपाईंको सोचाइमा म सहमत हुनुपर्छ भन्ने छैन । मेरो विचारमा तपाईं पनि सहमत हुनैपर्छ भन्ने छैन । स्वतन्त्रता पाइन्छ । पाएको स्वतन्त्रता उपयोग गर्न मन लाग्यो । मलाई अहिले यसरी नै चलचित्र बनाउन मन लाग्यो । चलचित्रका आफ्नै फर्मुला हुन्छन्, त्यसमै बनाउन मन लाग्यो । पूरै फर्मुलाभन्दा बाहिर गएर पनि नेपाली चलचित्र बनेका छन् । ती चलचित्र हेर्दा आनन्द आउँछ । तर व्यापार व्यवसायका हिसाबले हेर्दा उसले फेरि अर्को चलचित्र बनाउन सक्छ कि सक्तैन ? यो कुरालाई पनि सोच्नुपर्छ । हामीले व्यावसायिक चलचित्र बनाएका हौं । त्यसकारण पूरै शास्त्रमै केन्द्रित भएर चलचित्र बनाउनुपर्छ भन्ने छैन । 

अर्को आरोप छ, यहाँहरुको ब्यानरमा बनेको ‘शत्रु गते’ प्रदर्शनपछि गहन विषयलाई पनि सतही रुपमा भन्ने छवि बनाएका दीपकराज गिरी र दीपाश्री निरौलालाई मह जोडीले आफ्नो पथमा ल्याउलान् कि भनेको त दीपक दीपाले पो मह जोडीलाई आफ्नो बाटोमा हिँडाएछन् भन्ने समीक्षा आए । त्यो महसुस गर्नुभयो ? 
त्यो सही कुरा हो । त्यो चलचित्रमा ममात्रै हावी थिइन । अरु पनि हुुनुहुन्थ्यो । सुरुमा कथा तयार थियो । त्यो फ्ल्यास भइसकेको थियो त्यसमा चलचित्र बनाउने भनेर । पछि कथामा परिमार्जन गर्नुपर्छ भन्ने भयो । दीपकराज  गिरी र प्रदीप भट्टराईले पनि लेख्नु भयो । कथाको जिस्ट मेरो थियो । त्यसैले कथामा मेरो नाम राख्ने कुरा भयो । त्यो चलचित्रमा खेलियो । पक्कै पनि हो मैले मतिर ल्याउन सकिन, म उतातिर गएको हो ।

अहिले पश्चाताप भएको हो ?
छैन । पश्चाताप महसुस भएको छैन । 

गहन विषयलाई पनि अहिले हाँसो ठट्टा गर्दै चलचित्रमा भन्नुपर्ने समय आएको हो ?
संसारभर नै अहिले कमेडी बेसका चलचित्र मन पराउँछन् । इन्डियामा अक्षयकुमार एक्सन ओरियन्टेड हिरो हो तर उसले ह्युमरलाई कति धेरै प्राथमिकता दिएको छ । अमिताभ बच्चनले पनि कतिवटा चलचित्रमा हँसाउनु भएको छ । मान्छे हलमा जाँदा मनोरञ्जन गर्न मन लाग्छ । कसरी मनोरञ्जन गर्नेभन्दा हाँसो जस्तो पवित्र चिज अरु केही छैन । त्यसमा कति अश्लिलताको सहारा कति लिने भन्ने हो । चलचित्र बनाउने तरिका आ–आफ्नै हुन्छ । तर हामीले त्यस्तो सहारा केही पनि लिएका छैनौं । हाम्रो चलचित्रमा भल्गर भनेर जसले जे सुकै भनेपनि केही छैन । प्रियंका कार्कीको डान्सलाई लिएर केही कुरा आएका छन् तर त्यो पनि भल्गर छ भन्ने लाग्दैन । सम्पूर्ण परिवार बसेर चलचित्र हेर्न सकिन्छ । हास्यव्यङ्ग्य हाम्रो क्षेत्र हो । हाम्रो इमेज त्यही हो । त्यसैले हामीले साहारा हाम्रोपन (हास्यव्यङ्ग्य)को लिनै पर्छ । 

ट्रेलर हेरेपछि ‘दाल भात तरकारी’ लाउड छ कि भन्नेमा धेरैको शंका छ, कसरी आश्वस्त पार्नुहुन्छ दर्शकलाई ?
हेरेपछि आश्वस्त हुनुहुन्छ । झगडाबाट कथा सुरु हुन्छ । झगडा त लाउड भैहाल्छ नि । सानो स्वरले कसले झगडा गर्छ र ?

गत वर्ष ९६ चलचित्र रिलिज भए, त्यसको ५ प्रतिशतले पनि लगानी सुरक्षित गर्न सकेनन् । निर्माताहरु पलायन भइरहेका छन् । दर्शकमा नेपाली चलचित्रप्रति वितृष्णा पैदा भइसक्यो । सिंगल थिएटरको व्यापार चौपट भएर बन्द हुने अवस्थामा आइपुगे । किन नेपाली चलचित्रले दर्शकको ध्यान खिच्न सकेनन् ?
संख्यात्मक रुपमा चलचित्र धेरै बने । चलचित्रका दुईचारवटा व्रान्ड अरु पनि स्थापित हुनु पर्यो । जस्तो ‘छक्का पञ्जा’ भन्नेबित्तिकै दर्शक हलमा जान्छन् त्यस्तै अरु ब्रान्ड पनि चाहियो । थोरै ब्रान्ड मात्रै भएर पुगेन । महसञ्चार होला, प्रदीप भट्टराईको ‘जात्रा’ होला, ‘ए मेरो हजुर’को पनि ब्रान्ड बन्यो । यस्ता ब्रान्ड कम्तिमा १० वटा बने भने बजार थेग्न सकिन्छ । राम्रा चलचित्र बने भने त हलमा दर्शक आइहाल्छन् नि ।

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १३:२५
प्रतिक्रिया दिनुहोस्