
काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० लाख सहयोग संकलन भएको छ । यही २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ–२०७६’ बाट उक्त रकम संकलन भएको हो ।
चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् ।
“कार्यक्रमबाट २० लाख र गायक प्रकाश पौडेल दाईले राख्नु भएको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैँया सहयोग प्राप्त भएकोमा निकै हर्षित छौं,” धुर्मुसले भने ।
कार्यक्रममा धुर्मुस सुन्तलीले हाँस्य प्रस्तुती दिएका थिए भने गायक पुष्पन प्रधान, गायिका मेलिना राई लगायतका कलाकारहरुले समेत प्रस्तुती दिएका थिए ।