site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पहाडवारिको कथा

– रजत थापा


पातलो कुहिरो लागेको छ । म हजुरबासँग बसेर आगो ताप्दै छु । भान्साघरबाट धूवाँ उठ्दै छ ।

ऊ पछाडिबाट बिस्तारै आउँछे । मलाई मामाहरूले जिस्काउँदा सुनेको थेगो ‘के छ थापा सरकार ?’ भनेर धकेल्छे । म बलेको परालतिर हुत्तिन्छु । दुइतै हात त्यतै गाडिन्छन् । म पीडाले कराउँछु, “ऐया !”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ऊ रुन थाल्छे ।

० ० ०

घाम चर्को छ । बिस्तारै हावा चलिरहेको छ । बारीपछाडिको खेतमा धानका बाला झुलिरहेछन्— अबेर राति पढ्दा कोही निद्राले झुलेजस्तो ।

सानै थियौं हामी, दुबैलाई ट्वाइलेटमा बस्न डर लाग्ने । एउटा आँपको रुखमुनि ऊ बस्थी, अर्को रुखमुनि म ।

“तिमीलाई थाहा छ, हामी यहाँ बस्दा आँपको बोटलाई मल हुन्छ नि !” ऊ हाँस्छे ।

“कसले भन्या ?”

“हजुरआमाले ।”

ऊ बोलिरहन्छे, म सुनिरहन्छु । अचान्नक उसलाई के सुर चल्छ कुन्नि, “तिम्रो सु गर्ने ठाउँ किन न काटिएको मेरो जस्तो ?”

म लाजले रातो हुन्छु । ‘खै थाहा छैन’ भनेर हतार–हतार उठ्छु ।

“म आज सजिमा दिदीलाई सोध्छु है,” भन्दै ऊ पनि उठ्छे ।

० ० ०

पानी पर्ने छाँटकाँट छ । मजस्तै बिदामा आएका उसका मामाका छोरीहरूले हाम्रो बारीको सबै अम्बा टिपेर लागिसके । म काँचो अम्बा भए पनि खान्छु भनेर जुर्मुराउँछु तर हाँगा भेट्टाउनै सक्दिनँ । रुन थाल्छु । उनीहरूले मलाई बार्दलीबाट गिज्याउँछन् । म झन् रुन्छु । हजुरआमाले उनीहरुलाई हकार्नुहुन्छ । ऊ यहाँ भएकी भए मसँगै अम्बा खान खोज्दी हो ।

० ० ०

बिदा सकिएर घर फर्किन लाग्दा ऊ मसँगै जाने भनेर औधि रुन्छे । मेरो सर्टको बाहुला समाएर बसिरहन्छे । उसलाइ कति फकाएपछि रुन्चे आँखाले हात हल्लाउँछे ।

म सोच्छु— म यतै बस्न किन मिल्दैन ? खेत जोतेको देखेकै छु । हलो समातेर ठेलेपछि गोरु हिँडिहाल्छ । बैलगाडा हाँक्न पनि आउँछ । गोरुको पुच्छर समातेर तान्ने त हो । धेरै उपद्रव ग¥यो भने लठ्ठीले हिर्काउने त हो । हजुरबालाई खेतमा सघाउन सकिहाल्छु । फेरि ऊ पनि त यहीँ छे । भाँडाकुटी खेलिरहन किन मिल्दैन ? ऊ माटो र घाँसको खाना पकाउँछे, म आँपको पात पैसा कमाएर उसलाई दिन्छु । यसैगरी बसिरहन मिल्दैन ?

हजुरबा भन्नुहुन्छ, “तँ किसान बन्नु हुँदैन । पढेलेखेर ठूलो हाकिम बन्नुपर्छ ।”

० ० ०

उसको घरमा कोलाहल छ आज । उसको बुवाको अनुहारमा पीडा, लाज र रिसको भाव एकसाथ आइरहेछ । आमा त रुँदै छिन् । साह्रै नरमाइलो छ । आमाछेउ बसेर ऊ पनि रुन लागेकी छ । मलाई घरमा राखेर हजुरआमा त्यतै पुग्नुभएको छ । म बार्दलीबाट चियाउँदै छु उसको घरतिर । उसैलाई हेर्दै छु । ऊ पनि मलाई हेर्छे केहीबेरी अनि मन्द मुस्कुराउँछे ।

उसको घरमा के भएको होला ? आज घाम मजाले लागे पनि दिन अँध्यारोजस्तो भएको छ । हुन त घाम मन नपराउने ममात्रै हो, उसलाई त आकाश खुलेको मन पर्छ ।

हजुरआमालाई सोधें, “उसको घरमा के भएको हो ?” केही नबोली एक कचौरा दूध–चिउरा मेरो अगाडि राखिदिनुभयो । साँझ ऊ हाम्रो घर आई ।

“तिम्रो घरमा के भएको हो ?” मैले हतार–हतार सोधें ।

“मैले मान्छेहरूले बोलेको सुन्या, सजिमा दिदी त पोइल गा’को हो रे !”

“के हो त्यो भनेको ?”

“भागेको रे ! माझी दाइसँग । अब तिनीहरू सँगै बस्ने होला,” ऊ बिस्तारै बोली ।

“अनि कहिले फर्किनुहुन्छ सजिमा दिदी ?”

“खै, अब त आउँदिन होला । बाबा साह्रै रिसाउनु भा’छ । आमा पनि रोको’रोइ हुनुहुन्छ,” उसले रुन्चे स्वरमा भनी ।

० ० ०

दिउँसो । सबै सुतेका छन् । परेवाहरू पनि एकनासले घुरिरहेका छन् । चर्को घाम छ बाहिर । ऊ भ¥याङ उक्लेर माथि म पल्टेको कोठामा आइपुग्छे । उसको हातमा ठूलो डायरीजस्तो केही छ ।

“मेरो मम्मी–बाबाको बिहे हेर्ने ?” डायरी खोल्छे । उसले एल्बम ल्याएकी रै’छे ।

“हेर न कस्तो राम्रो—राम्रो फोटो छ । मचैं कुनै फोटोमा पनि छैन,” ऊ न्यास्रो मानेर भन्छे ।

“म पनि मेरो मम्मी–बाबाको बिहेको फोटोमा छैन भन्या !”

“पख, हामी बिहे गरेर टन्नै फोटो खिच्नुपर्छ है !” दुवै जना हाँस्छौं ।

० ० ०

लुगा पनि नफेरी म उसको घरतिर दौडिएँ । उसको आँगन सुनसान थियो ।

“हजुरआमा, सुमन काँ गा’छे ? ताल्चा लाग्या छ त उसको घरमा !”

“उसलाई त बोडर्स गर्दिसके बाबु काठमान्डूमा । अस्ति चैततिर गई ऊ । बा–आमा खेततिर गा’होलान्, त्यै भएर घरमा कोइ छैन ।”

“ऊ कहिले आउँछे अब ?”

“दशैंतिर आउली नि !”

मन खल्लो भएर आयो । मेरा अब साथी पनि कोही थिएन । मामाहरू भोगटेबजार सरिसक्नुभा’थ्यो । मामाघरमा म, हजुरआमा र हजुरबा मात्र ।

भोलिपल्ट हजुरबाको साइकल पछाडि बसेर बजार गएँ, मामाहरुलाई भेटें । बरफ खाएँ अनि क्रिमवाला बिस्कुट पनि । बेला–बेला सोच्थें— दशैंमा सुमनलाई पनि बजार घुमाउँछु ।

साँझ घर फर्किंदा उसको घरमा पाहुना आएको जस्तो भान हुन्थ्यो ।

“हजुरआमा सुमन आएकी हो ?”

“हैन बाबु, उसका मामाका छोरीहरू, गर्मी बिदामा आएका ।”

० ० ०

पिङ खेल्न जाँदा सजिमा दिदीलाई एकाएक देख्दा अनौठो लाग्यो ।

“तपाईं त मोटाउनुभएछ दिदी ।”

सजिमा दिदी मुस्कुराइन्, “सन्चै छौ भाइ ? कहिले आयौ ?”

“हिजोमात्र, सुमन नआउने भै है ?”

“अँ, बा–आमा सबै जना काठमाडौं सर्नुभएछ ।”

“कता जानुभाथ्यो ? कहिले आउनुभयो ? तपाईं अब गाउमै बस्ने हो ?”

“माझीले केही महिना काठमाडौं राख्यो, अब इन्डिया जान्छ रे कमाउन ! त्यै भएर मलाई गाउँमै ल्यायो ।”

“सुमनले तपाईं पोइल गा’को भन्थी, किन जानुभाको ?”

“तिमी अहिले बुझ्दैनौ भाइ, ठूलो भएसि आफैं बुझौला,” सजिमा दिदीले क्षितिजतिर हेरिरहिन् । पिङ बिस्तारै हल्लिरहेको थियो । अरू केटाकेटीहरू तँछाडमछाड गर्दै थिए ।

“साँझ हाम्रो घर आऊ है, म मोमो बनाएर ख्वौचु तिम्लाई,” भन्दै सजिमा दिदी उठिन् ।

रातुखोलाको बगरमा उभिएर उत्तरतिर हेर्दा अलि–अलि पहाडहरु देखिन्थ्ये । त्यही पहाडपारि नै काठमान्डू छ जस्तो लाग्थ्यो । हजुरबाको साइकल चलाउन सक्ने भए त म सुमनलाई भेट्न गइहाल्थें ।

० ० ०

बादल लागेको छ, पानी पर्दिनू नि । तर नाइ, नपरोस् । पासपोर्ट भिज्छ ।

एक लहरै उभिएका छन् मान्छेहरू । कोही आफ्नो, कोही अरूको पासपोर्ट निकाल्न । कोही पनि चिनेका देखिन्नन् । नदेखिऊनन् पनि ।

० ० ०

ऊ त्यसपछि कहिल्यै गाउँ फर्किइन । कैयन् गर्मी बिदाहरू आए, गए— ऊ आइन ।

म कि त सजिमा दिदीसँग गफ गरेर बस्थें, कि त खोला पुगेर पहाडहरू हेरेर बसिरहन्थें । हजुरबाको हनुमान चालिसा पूरै याद गर्न भ्याएको थिएँ । खोजेको साथी नभेट्दा मन बहलाउन के–के गर्छ है मान्छे ?

सुमनको आँगन सुनसानै हुन्थ्यो तर मेरो मनमा उसको आकृति कहिल्यै पनि धमिलिन पाएन । मलाई उसलाई बिर्सन मन नै थिएन ।

० ० ०

स्नातकोत्तर भ्याउन्जेल घरवरिपरिका धेरै साथी बाहिर गइसकेका थिए । बाआमा पनि ‘बाहिर जाने भए जाँदा हुन्छ’ भन्ने सुरमा हुनुहुन्थ्यो । मलाई भने नेपालमै केही गरूँ भन्ने लागिरहन्थ्यो । बाले ‘जसो जे भए पनि पासपोर्ट बनाइराख्’ भनेर धेरै पटक भनेपछि मैले पनि फर्म भरें ।

० ० ०

“सुमन गिरी !” कसैले अगाडिबाट बोलायो ।

आफ्नो पालो कुरिरहेको म त्यो नाम सुन्दा कुनै गहिरो सपनाबाट ब्युँझेझैं भएँ । जिन्स, टिसर्ट लगाई ज्याकेटजस्तो केही कम्मरमा बाँधेकी, काँधमा ब्याग अनि कालो चश्मा लगाएकी एक युवती काउन्टरतिर लागेको देखें ।

मेरी सुमन नै हो ऊ ? मेरी सुमन गिरी ?

पासपोर्ट लिइसकेर ती युवती बाहिर निस्किइन् । म लाइनबाट हतार–हतार निस्केर उनीतिर हानिएँ ।

“सुमन !”

उनी पछाडि फर्किइन् ।

“भोगटेको हो तपाईं ?”

“अँ हो नि ! तपाईंलाई चैं चिनिनँ नि मैले !”

“म सागर, सागर थापा ।”

“ए,” ऊ एकछिन चुप लागी !

उसले चिनिनछे । मेरो मन चर्कियो ।

“तपाईं पनि त्यतैको हो ?”

“अँ । म पनि भोगटेको स्कुलमा पढ्या हो । तिमी काठमान्डू गयौ नि पछि ।”

“ए, ए,” भन्दै हाँसी ऊ । उसले अझै मलाई चिन्न नसकेको कुरा उसका आँखा र अप्ठ्यारोलाग्दो हँसाइमा प्रस्टै देखिन्थ्यो ।

“पासपोर्ट निकाल्यौ त ? बाहिर जान लागेको हो ?” सोधें ।

“अँ । अब दुई महिनाजतिमा युरोप जाँदै छु ।”

“ए ! ल ल शुभकामना । अनि शुभयात्रा,” मैले मुस्कुराउँदै भनें ।

“धन्यवाद ! तिमीलाई पनि शुभकामना । भेटेर खुशी लाग्यो,” भन्दै ऊ हिँडी ।

म गाउँ फर्किने बसको अन्तिम सिटमा गएर बसें । आँखा रसाए ।

बस गुड्दै गर्दा बाटोमा पहाडहरू देखिए । सुमन तिनै पहाडपारि गएकी थिई धेरै पहिला ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  ०८:३५
प्रतिक्रिया दिनुहोस्