2019-04-13.jpeg)
– पुण्यसागर मरहट्टा
म सम्झन्छु त्यो एकदिन, जब उनीहरू कुरा गर्दै थिए, मलाई कक्षा शुरु गर्ने चटारो थियो, “म बुझ्दिनँ किन मेरा अब्बा मलाई डाक्टर बनाउन चाहन्छन् ? मेरी अम्मी यो मेरो पीडा बुझ्छिन् तर बोल्न सक्दिनन् । उनको बुर्काबाट चियाउने आँखा त्यसै भन्छन् ।”
नुसरत आफ्नो बह एडिसनलाई पोख्दै थिई । समृद्धिले ‘अँ त नि’ भन्न के खोज्दै थिई, आफ्टरनुन रिसेसको फाइनल बज बजिगो ।
नुसरत, एडिसन, समृद्धि, रोज, माइरा ! यी पाँच पक्षी ब्रायन हकिङ्ग्स एलिमेन्ट्री स्कुल रिजाइनाका । यी घरि यता भुर्र, घरि उता भुर्र उड्दै कक्षा १ देखि सँगसँगै अहिले ७ कक्षा पढ्ने भइसके । काखीलगायतका सेपमा वैंश उम्रिएको छ, त्यसैले यदाकदा स–साना कुरामा खित्खिताउने, कुत्कुताउने गर्छन् । अचेलको भाषामा बिन्दास यी चिचिली चेलीहरूका कथा छन्, व्यथा छन् र अभिव्यक्त गर्ने शैली छन् ।
नुसरत पाकिस्तानीमूलकी छोरी हो । उसका अब्बा सरकारी इन्जिनियर हुन् । अम्मी आफ्नै घरमा शिशु स्याहार केन्द्र चलाउँछिन् । उनीहरूको घरमा नमाज अनिवार्य छ । अम्मीको डे–केयरमा आउने एक हिन्दू बच्चा वेदका ड्याडीले एकपल्ट कम्प्लेन गरेको याद छ नुसरतलाई, “सानो बाबु वेद फुर्सद भयो कि रुमाल ओच्छ्याएर घुँडा मारेर बसिहाल्छ !”
नुसरत दुवै कुरो बुझ्दिन । नमाज किन अनिवार्य हो ? वा वेदले रुमाल ओच्छ्याएर घुँडा मारेर नमाज पढेको नक्कल ग¥यो त के भो ? अथवा उसले नमाज पढेकै भए पनि के बिग्रिन्छ ? नुसरत ‘क्वेस्चन बैंक’ हो भन्दा फरक पर्दैन । नुसरतको तर सबैभन्दा पेचिलो प्रश्न त उही हो— मलाई अब्बा किन डाक्टर बनाउन चाहन्छन् ?
एडिसन सबैभन्दा बढी क्यानेडियन हो । उसका बाबुका पुर्खा आयरल्यान्डतिरबाट र आमाका पुर्खा जर्मनीतिरबाट पानीजहाज चढेर सन् १८८० तिरै क्यानडा आएका हुन् रे ! उसलाई ठूलाठूला बुट्टा भएका रंगीन चहकिला लुगा लगाउन मन पर्छ । चाइनिज खान मन पर्छ । बलिउड डान्स क्लास जोइन गरेकी छ । उनीहरूका झुन्डकी सबैभन्दा ढड्डु एडिसन नै छे । पढाइमा सबैभन्दा तेज पनि उही होली । उसँग प्रश्न कम, जवाफ धेरै छन् । झुन्डका बाँकी चारका प्रश्नका उमेरजन्य उत्तर ऊसँग हाजिर छन् भन्दा पनि हुन्छ । बाबुआमा त के गर्छन्, थाहा छैन तर दुवै सोमबारदेखि शुक्रबारसम्म व्यस्त रहन्छन् । एउटा प्रश्नले भने उसलाई पनि ऐंठन हुन्छ— म ठूली भएर के बन्छु ?
समृद्धि त नेपाली चेली भइहाली— नामैले थाहा भइहाल्छ । पाँचमध्ये फुच्ची, खिरिली, तेजिली र फुर्फुरे त उही हो । यो ग्रुपको मियो नै उही भन्दा केही बिग्रिन्न । समृद्धिका बाबा एक इन्डियन रेस्टुरामा हेड–सेफ छन् । मामु डे–केयर सेन्टरमा काम गर्छिन् । बाबासँग उतिसारो भेट हुन्न समृद्धिको । कहिलेकाहीँ त लाग्छ— मामु, भाइ सञ्जोग र ऊमात्रै छन् घरमा । गएको दशैंमा चाहिँ बाबा १० दिन बिदा लिएर बस्नुभयो, जमरा राख्नुभयो, टीका लगाइदिनुभयो । टीकाको दिनमा उनीहरूको घरमा ठूलो जमघट भयो । अंकल, आन्टीहरूले जमेर रक्सी, मासु खानुभयो, नाच्नु पनि भयो, छाद्नु पनि भयो । त्रिलोक अंकल र विश्वम्भर अंकल त त्यतिले नपुगेर कुटाकुटसमेतमा झर्नुभयो । समृद्धिलाई मान्छेहरू किन रक्सी खान्छन् ? छाद्ने गरी किन खान्छन् ? अझ बढी— रक्सी खाएपछि कुटाकुट किन गर्छन् ? जस्ता प्रश्नले खेदिरहन्छन् ।
रोजका आमा–बाबा सुडानको नरसंहारका कारण रोज र उसको दाजु हेन्ड्रिकलाई पोल्टोमा च्यापेर भागेका शरणार्थी हुन् रे ! बाबा उता कुनै चर्चका पास्टर थिए रे ! यता आउन चर्चकै कारण सम्भव भएको भन्थे । अहिले पनि कुनै च्यारिटीमा काम गर्छन् क्यारे । उसको ममीको भने एउटा किराना दोकान छ, पस्क्वा र ड्युड्नि इन्टरसेक्सनमा । हेन्ड्रिक हाइस्कुल सक्ने तरखरमा छ । उसको घरमा अधिकांश समय हेन्ड्रिक, उनीहरूको ड्याडी र रोजमात्र हुन्छन् । सन्डे चर्च जाँदा भने चारै जना सँगै जान्छन् । हेन्ड्रिक बेलाबेला झर्किन्छ, उसलाई औंसी–पुर्ने लागेको जस्तो हुन्छ । रोज बुझ्दिन— दाजु किन चिड्चिडो हुन्छ ? के हाइस्कुल यस्तै तनावजन्य हुन्छ ? वा यो उमेरजन्य हो ? कि साँच्चै जीवन हाइस्कुलपछि तिर्मिराउने हुन्छ ? रोज तर आफूचाहिँ बिन्दास छे । जोडजोडले हाँस्छे । कहिलेकाहीँ लाग्छ— रोज कुरो बुझ्दिन र त्यसैले बेस्सरी हाँस्छे । कुरो त किन नबुझ्नू ? प्रश्न भने उसका पनि छन् ।
यो झुन्डको अन्तिम पात्र माइरा भियतनामीमूलकी हो । सबैभन्दा सानी, क्युट अनि नाजुक माइरा नै हो जस्तो लाग्छ । उसलाई भियतनामी भाषा त के हो थाहा छैन तर ऊ गत वर्ष मात्र हानोई पुगेर आएकी छे र आफूलाई भियतनामको लडाइँ, अमेरिकाको हार, लाखौं भियतनामीको पलायनजस्ता कथाका विज्ञ मान्छे । स्वाभाविक छ— भर्खरै घुमेर आएकी पैतृक थलोको ज्ञान उसलाई हुने नै भयो । त्यसमाथि सोसल स्टडिजमा मैले उनीहरूलाई ‘भियतनाम वार’ बारे भर्खरै पढाएको पनि हुँ । माइराका बाउ–आमा डाउनटाउन रिजाइनामा एक रेस्टुराँ चलाउँछन्— भियत फोस ! लन्चको समयमा भीडभाड हुने गर्छ त्यहाँ । राइस भेर्मिसेल सुपको लागि सस्काचेवनभरिको प्रख्यात ठाउँ हो भनेथे उसका बाबाले एकबाजी म त्यहाँ जाँदा । माइराकी दिदी मलिन्डा सिभिल इन्जिनियरिङ तेस्रो वर्षकी विद्यार्थी हो । फुर्सदमा लन्च हावरमा बाबा–आमालाई सघाउन रेस्टुराँ पुग्छे रे मलिन्डा ! उसको अंग्रेजी राम्रो छ, त्यसैले ग्राहक उसलाई त्यहाँ पाउँदा खुशी हुन्छन् रे ! एक युक्रेनीमूलको केटा अलेगसँग अफेयर छ मालिन्दाको । त्यो कुरामा आमासँग सधैं लाप्पा पर्छ रे ! ‘तँ भियतनामी केटासँग आफ्नो जीवन सुखद पाउँछेस्’ भन्छिन् रे आमा ! मलिन्डाको कुरो त थाहा भएन, माइराको खुल्दुली त्यसैमा छ— अलेगसँग बाँचे पनि अर्को कुनै आफूजस्तै भियतनामीसँग बाँचे पनि मलिन्डा आफू खुशी हुन्छे भने त्यसमा आमा नाखुस हुनुपर्ने कुरो के छ ?
आज मैले यी सबै किन लेख्दैछु भने आज सन् २००९ अप्रिल ३ तारिख । मैले जीवनको एउटा अध्याय समाप्त गरेर अर्को इनिङ शुरु गरेको पहिलो दिन । हिजोसम्म म मिस्टर गुटाम । नाम त मेरो शरण गौतम हो, सन् १९८० को अन्तिम वर्षतिर नै क्यानडा आएँ, एजुकेसनमा मास्टर्स डिग्री सकें । यतै विद्यालय पढाउने रहर लाग्यो, केही संघर्षपश्चात् एलिमेन्ट्री विद्यालयको शिक्षक हुने मौका पाएँ । पढाएँ । ६३ वर्षको उमेरमै रिटाएरमेन्ट लिने विचार गरें । गत मार्च १७ देखि २७ तारिखसम्म यी पाँच चेलीहरूलाई मैले मेरा कथाका पात्र हुन सक्छन् कि भनेर हेरेको हुँ— उनीहरूको मौखिक सहमतिमा । ‘मैले अवकाश लिएर जाँदाजाँदै तिमीहरूको जिज्ञासा के हुन सक्छ ?’ भन्ने अनुरोधमा उनीहरूले निम्न प्रश्न बनाएर ल्याएका रहेछन्—
१. मेरो करिअरसम्बन्धी निर्णयमा मेरा अभिभावकले हस्तक्षेप गर्नु हुन्छ कि हुँदैन ? हुन्छ भने किन ? हुँदैन भने पनि किन ?
२. करिअर छनोटमा मेरो व्यक्तित्व जरुरी हुन्छ कि हुँदैन ?
३. सम्पत्ति कमाउनु एउटा कुरा, त्यसलाई सदुपयोग गर्नु अर्को कुरा भनेको के हो ?
४. ईश्वर छ भने द्वन्द्व किन छ ? किन मान्छेहरू आफ्नो थातथलो छोड्न बाध्य हुन्छन् ?
५. हुर्किंदै गएका छोराछोरीका बाबुआमाले राय दिने हो कि निष्कर्ष ?
यी चेलीहरूले यस्ता प्रश्न दिए कि मैले उनीहरूलाई दिने जवाफ थिएन । म, मेरो सामाजिक परिवेश, मेरो हुर्काइ यी आदि–इत्यादि कुराहरूले मलाई हरेक प्रश्न कठिन थिए ।
म आफू दिनको चार घण्टा आतेजाते गरेर स्कुल गएको मान्छे । बाले पढ्नु पर्छ भनेको पनि थाहा छ, काकाहरूले कान जर्काएको पनि थाहा छ । पढ्ने बेलामा लुकेर खेल्ने हुँदा खुट्टो मर्काएको पनि थाहा छ । एकोहोरो लेठन लगाएर पढेको मैले, स्कुलमा बल खेल्ने हुँदा चड्कन पाएको छु, साथीभाइले ‘तँ पढ्, खेल्न नआइज’ भनेको अझै सम्झन्छु । यी चेलीहरूको जस्तै उमेर हुँदो हो मेरो, मेरा सपनाहरू थिए रवीन्द्रनाथ टैगोर बन्ने, लेखनाथ पौड्यालको झैं कविता लेख्ने । बाको ‘इन्जिनियरको बा’ हुने सपना पूरा गर्न मैले ठसठस कनेर साइन्स पढें, पहिलो वर्षमैं लोप्रिएँ । आमाले भनेको सम्झिन्छु, “एकबाजी झाम्टे ( एक्जाम्टेड) परेर क्यै हुन्न सरने, मुन लार पढ्, पार लाउलास् ।”
म भन्थें, “आमा ! बाका लागि मैले इन्जिनियर बनिदिनुपर्ने किन ?”
“नकरा, तेरा बाउले सुन्लान् र खर्चबर्च नपाउलास्,” आमा अत्याउँथिन्, म आत्तिन्थें ।
मैले येनकेन प्रकारेण आईएस्सी पार लगाएँ । ऊबेला इञ्जिनियर हुन अहिलेझैं दुम्कीको घडेरी बेचेर पनि पाइन्नथ्यो । बाको सपना पूरा गर्न नसकेको मैले कुन मुखले घर फिर्नू ? काठमान्डूमै ट्युसन पढाउन थालें । पढाउन रस बस्न थालेपछि ताहाचलमा बीएड पढ्न थालें । स्थायी शिक्षक बनेपछि सास भरेर गाउँ फर्किएँ, बालाई ढोग गरें । बाले सोधे, “भइस् त सरने इनिजनियर ?”
“मैले सकिनँ बा । म हाइस्कुलको विज्ञान शिक्षक भएँ,” भनेको मात्र के थिएँ, बाले ‘ई खा’ भनेर लोप्राइदिए । आमाको मुखसमेत नहेरी फरक्क फर्केको म बा बितेपछि एकबाजी दुम्की त गएँ तर उनको सपनाले उलुकउलुक भइरह्यो, फर्केर नजाने निधो गरें । मलाई बाको डर सधैं लागिरह्यो । तत्कालै काठमान्डू आएर शिक्षा मन्त्रालयको छात्रवृत्तिमा युनिभर्सिटी अफ अल्बर्टामा एमएड गर्न आएको, उत्कृष्ट जनिएँ । पीएचडी गर्ने मौका पनि जुरेको थियो, त्यही छेक आमा बित्नुभो । तर, माया लागेर पनि गइनँ । काठमान्डूमै पढाउँदा रश्मिला नहर्की मेमसँग माया बसेर बिहे गरियो । जात काढिइसकेका थिए समाजले, उतै भाइ भतिजाले किरिया गरे । सम्पत्ति बाँडचुँड गरे । म यतै बसें ।
देख्नु भो नि ! यति जटिल प्रश्नका जवाफ दिनेमा दरिएको मसँग अनुभव त थिए, सप्तरंगी प्रश्नका ठेट जवाफ थिएनन् । मैले यी पाँचै पक्षीलाई बोलाएँ र नोटबुकमा नोट गरें । नुसरत रेडियो जर्नालिस्ट भएर काम गर्न चाहन्छे । एडिसन इस्ट इन्डियन म्युजिकोलोजीको प्रोफेसर बन्न चाहन्छे । समृद्धि पुलिस अफिसर, रोज स्कुल टिचर र माइरा समाजसेवी ।
फाइल नेम नै करिब–करिब विस्मृत भइसकेको मेरो यो डायरीको टिपोट पढ्नुको मेरो कारण छ । किनभने आज सन् २०१९ अप्रिल ६, मलाई एउटा इमेलले झस्कायो । मेरा ती पाँच पक्षी मसँग भेट गर्न चाहन्छन् रे ! इमेल पठाउनेको नाम थियो समृद्धि हमागेन (हुमागाईंलाई त्यसरी उच्चारण गर्ने गर्छन् यतातिर) जेफर्सन । नेपाली चेलीको सांस्कृतिक अन्तरघुलन भएछ भनेर सोचें ।
‘भिक्टोरिया एभेन्युको मोक्षिज ग्रिलमा आजै ठीक ५ः३० बजे आइपुग्नू’ भन्ने निम्तो थियो । अलिकति दचक, अलिकति गर्वानुभूतिसँगै गएँ । समृद्धि कुरिरहेकी रहिछे । माइरा आइपुगी र मलाई कसिलो अँगालो मारी । आफ्नो बिजनेस कार्ड दिई— माइरा ह्नोङ शर्मा, बीएसडब्ल्यू, कम्युनिटी कन्सल्टेन्ट, मिनिस्ट्री फर सोसिअल वेलफेयर ।
कोट फुकालेर बस्न थालेकी थिई माइरा, रोज आफ्नो स्वभावजन्य उन्मुक्त हाँसोसँगै आइपुगी र भनी, “मिस्टर गुटाम, यु आर स्टिल योङ । ओह माइ गड !” फेरि एक पहर हाँसो हाँसी र बिजनेस कार्ड निकाली— रोजालिन न्डुङ्ग्रो हुसैन, मेकानिकल इन्जिनियरिङ टेक्नोलोजिस्ट, शेल क्यानडा ।
हस्याङफस्याङ गर्दै आइपुगेकी नुसरत विचरी त सीबीसी रेडियोको लोगोअंकित युनिफर्ममै थिई । हिजाब थियो टाउकोमा तर लोगो पनि थियो । अरू सबै विवाहित थिए । मैले नुसरतलाइ सोधें, “तिमी न डाक्टर भैछेउ न विवाह गरिछेउ । नुसरत केही समस्या त छैन नि ?”
शायद यो नितान्त निजी प्रश्न थियो तर म यी चेलीहरूसँग यति सोध्ने हैसियतवाला थिएँ । ऊ झर्किन र भनी, “मिस्टर गुटाम, मैले विद्रोह गरें । डाक्टरी पढिनँ किनभने त्यो मेरो व्यक्तित्वसँग मिल्दैनथ्यो । मलाई उन्मुक्त उडान मन पर्छ । मलाई अर्काको दुःखपीडा देखेर मन दुख्छ, म त्यसैले अब्बा–अम्मीसँग बितरागी भएँ । मलाई थाहा छ हाम्रो माया दोहोरो छ तर न उनीहरूले त्यो देखाउने बल गरे न मैले रहर । मेरो सपना पूरा गर्न म उडें गुँड छोडेर । एक्लै छु, मेरो हिजाब छ मसँग, यो मेरो पहिचान हो । यही हिजाबकै कारण मलाई कसैले प्रेम गर्छ गरोस्, घृणा गर्छ गरोस् । म यति व्यस्त छु कि मैले म एक्लो छु भन्नेसम्म सम्झिन फुर्सद पाउँदिनँ ।”
एडिसन बर्कली पटेल सबैभन्दा अन्तिममा आइपुगी । हरियो चुडिदार लेहेंगा लगाएर । शिष्टाचारवश मलाई नमस्कार गरी । मैले ‘आऊ बस सँगै’ भनें । बसालें र सोधें, “एडिसन, तिमीहरूको प्रश्न मैले सँगालेर राखेको छु र सपनासमेत । म आनन्दित छु, तिमीहरूको उडान त्यतै छ । अब तिमी नै भन— तिमीहरूको प्रश्नको जवाफ के हो ?”
विदूषी हो नि एडिसन त, दार्शनिक जवाफ दिई, “एकबारको जुनी हो, सपना पनि आफ्नै, लक्ष्य पनि आफ्नै । कुबाटो लाग्नु हुन्न, कुभलो चिताउनु हुन्न । लाइफ इज नट म्याथम्याटिक्स, इट्स फिलोसोफी । तपाईं सपनालाई लखेट्नुस्, नजिक पुग्नुहुनेछ । भेट्नु भो, खुशी हुनुहुनेछ । नजिक पुग्नुभो, रमाइलो मान्नुहुनेछ । कमसेकम आफ्नो निर्णयमा पछुताउनुहुने छैन ।”
समृद्धिको पर्सनल इमेलमा उनको पोजिसन खुलेको थिएन । एडिसनले नै बताइदिई, “हेर्नुस् न, यो समृद्धि सपनालाई खेद्दै अघि नबढेकी हुन्थी भने अहिले कन्स्टेबल समृद्धि हमागेन जेफर्सन हुन सक्थी ? किमार्थ सक्दिनथी । त्यसैले मलाई त लाग्छ— हाम्रा आफ्ना सपना मूल्यवान छन्, जसरी बाबुआमाका सद्भाव, स्नेह र मार्गनिर्देशन स्तुत्य ।
मनभरि, पेटभरि स्वाद भरेर म फर्किएँ । आज साँच्चै रिजाइनामा घामसमेत मीठो छ ।
(अप्रिल ६, २०१९)