
काठमाडौं । फ्राइडे रिलिजमा शुक्रबार (आज) दुईवटा चलचित्र प्रदर्शनमा आउँदैछन् । नेपाली चलचित्रले राम्रो व्यापार गर्न नसकिरहेका बेला अपेक्षा गरिएका चलचित्र नै आपसमा जुधिरहेका छन् ।
अपेक्षा गरिएका निर्देशक र रुचाइएका कलाकारका चलचित्र एकै दिन रिलिज हुँदा ब्यापारमा त्यसको असर प्रत्यक्ष देखिँदै आएको छ । तर चलचित्र एकै दिन रिलिज हुँदा बक्स अफिसमा पर्ने प्रवाहलाई नजरअन्दाज गर्दै आज चलचित्र ‘ए मेरो हजुर–३’ र ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिज भएका हुन् ।
‘ए मेरो हजुर–३’मा अनमोल केसी र सुहाना थापा फिचर्ड छन् भने ‘यात्राः अ म्युजिकल भ्लग’मा सलिनमान बाँनिया र जान्वी बस्नेत छन् ।
‘ए मेरो हजुर–३’ चलचित्रमार्फत अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यू गराउँदै छिन् । चलचित्रमा अनमोल र सुहानासँगै अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल लगायत कलाकारको पनि अभिनय छ । ‘ए मेरो हजुर–३’लाई झरना थापाले निर्देशन गरेकी छन् । यो चलचित्र म्युजिकल लभ स्टोरी हो ।
‘यात्राः अ म्युजिकल भ्लग’मा सलिनसँगै डेब्यू गर्ल मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, जयनन्द लामा, रेअर राई, देशभक्त खनाल, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल लगायतले अभिनय गरेका छन् ।
सम्राट शाक्यको डेब्यू निर्देशन रहेको चलचित्र म्युजिकल जर्नीमा आधारित मुभी हो ।