
काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’ नेपाल प्रदर्शनपछि अहिले अष्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । अष्ट्रेलियाका मेलवर्न, सिड्नी, एडलेड र ब्रिस्वेनमा अहिलेसम्म १० शोभन्दा धेरै प्रदर्शन भएको ‘बुलबुल’ अझै केही शो प्रदर्शनको तयारीमा छ ।
“प्रत्येक शो हाउसफुल भएपछि अझै पनि चलचित्र देखाउन माग त्यहाँ बस्ने नेपालीले गरिरहनु भएको छ । त्यसैले थप शो पनि देखाउने तयारी भइरहेको छ । स्पेशल स्क्रिनिङका लागि ‘बुलबुल’की मुख्य पात्र स्वस्तिमा खड्कालाई बोलाएका छन् । स्वस्तिमा गएपछि थप शो पनि हुनेछ,” निर्देशक विनोद पौडेलले भने, “स्क्रिनिङ भएका शो सोल्डआउट भएको देखेपछि अन्य सिटीमा पनि चलचित्र स्क्रिनिङ गर्न माग भइरहेको छ । सकेसम्म मनोज (अधिकारी)जीले देखाउने व्यवस्था मिलाइरहनु भएको छ ।”
अष्ट्रेलियामा प्रति शो तीन सय दर्शकले चलचित्र हेर्न सक्ने पौडेल बताउँछन् ।
कतार, अमेरिका, नर्वेलगायतका देशमा ‘बुलबुल’ प्रदर्शनको तयारी भइरहेको छ । ‘बुलबुल’ले नेपाल बाहिरबाट लगानीको करिब ५० प्रतिशत उठाउने निर्देशकको भनाइ छ ।
“अष्ट्रेलियामा ‘बुलबुल’ रिलिज भएपछि त्यहाँबाट आएको प्रतिक्रियाले मलाई बल्ल चलचित्र रिलिज भएको जस्तो लागिरहेको छ,” निर्देशक पौडेल भन्छन्, “त्यहाँबाट प्राप्त प्रतिक्रियाले राम्रो चलचित्र बनाउन सके ढिलो चाडोँ त्यसको प्रतिफल राम्रो आउनेरहेछ ।”
विनोद पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य भूमिकामा छन् ।