काठमाडौं । काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना वर्सेनी बढ्दै गएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा काठमाडौं उपत्यकामा मात्र सडक दुर्घनामा ६४ जनाको मृत्यु भएको छ ।
महाशाखाको तथ्याकं अनुसार आर्थिक वर्ष २०७२/७३ मा काठमाडौं उपत्यका भित्र मात्र १ सय ६६ जनाले ज्यान गुमाएका थिए ।
१० वर्षको अवधिमा सवारी दुर्घटनामा परि उपत्यका भित्र मृत्यु हुनेको सङख्या १ हजार ४८७ पुगेको छ ।
यी हुन् सवैभन्दा बढी सवारी दुर्घटना हुने स्थान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्रका २३ स्थानलाई सवैभन्दा बढी दुर्घटना हुने जोखिम स्थानमा राखेको छ ।
महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालका अनुसार, तीन जिल्ला मध्ये राजधानी काठमाडौं सवैभन्दा बढी सवारी दुर्घटना हुने गरेको छ ।
यसमा पनि उपत्यकाको थानकोट र कलंकी क्षेत्र सवैभन्दा बढी दुर्घटना हुने स्थान हुन् । त्यस्तै काठमाडौंमा हुने अधिकांश दुर्घटना माइतिघर, गौशाला, गोगंबु, चावहिल, बौद्ध, बुढानिलकण्ठ, एरपोर्ट, सुकेधारा, कालिमाटी, सितापाइला, महाराजगञ्ज, मिनभवन लगायत क्षेत्रमा भएका छन् ।
ललितपुरको जावलाखेल, सानेपा, ग्वार्को, सातदोवाटो पनि बढी दुर्घटना हुने स्थान हुन् । त्यस्तै भक्तपुरको सल्लाघारी लगाएत हाइवे क्षेत्रमा बढी दुर्घटना हुन्छ ।
“सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक लागेर मात्र हुँदैन,” महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकास अर्याल भन्छन्,“ ट्राफिक त कानुन कार्यान्वयन गराउने निकाए हो ।”
ट्राफिक देखेपछि मात्र नियम लागु गर्ने प्रचलन रहेको उनको गुनासो छ । सडकमा नियमको वास्ता नगर्ने चालकका कारण सडक दुर्घटना हुने गरेको उनको तर्क छ । उनले थपे,“सडक दुर्घटना न्यूनीकरण गर्न सडक प्रयोगकर्ताले पनि उत्तिकै ध्यान दिनु पर्छ ।”