काठमाडौं । “माइक्रोमा अटेसम्मका प्यासेन्जर राख्दा यी ट्राफिकलाई केको टाउको दु्खाइ होला ? माइक्रोलाई अब ट्याक्सी बनाएर छाड्ने भए । अब माइक्रो चलाएर खान सकिँदैन,” रत्नपार्क–लगनखेल रुटमा चल्ने माइक्रोका चालकको भनाई यस्तो थियो, “बसले जति पनि मान्छे राख्न पाउने, तर माइक्रोले सिटभन्दा बढी एक जना राख्यो भने पनि एक हजारको चिट काट्ने, यो त अति नै भयो ।”
उपत्यकाभित्र चल्ने माइक्रो बसमा कम्पनीले राखेभन्दा बढी सिट राखेर यात्रु चढाउँदा सास्ती भएको धेरै गुनासो बढेपछि यातायात व्यवस्था विभागले त्यसरी चलाउने माइक्रो चालकलाई कारवाही गर्न ट्राफिकलाई परिपत्र गरेको छ ।
परिपत्रपछि ट्राफिक प्रहरीले पनि सिटभन्दा बढी यात्रु राख्ने माइक्रोलाई धमाधम कारवाही गरिरहेको जनाएको छ ।
अब माइक्रोले सिट क्षमताभन्दा एक जना पनि बढी राखेर चलाउन नपाउने ट्राफिक प्रहरीको भनाई छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाभित्र चल्ने एकाधबाहेकका माइक्रो सञ्चालकले यसरी सिट थपेर कोचाकोच यात्रु राख्ने, त्यतिमात्र नभएर उभ्याएर पनि यात्रा गराउने गरेको पाइएपछि कारवाहीको दायरामा ल्याइएको हो ।
“सवारी साधनमा उल्टो सिट राखेर चलाउनै पाइँदैन, यसरी चलाउँदा यात्रुलाई कष्ट हुने मात्र हैन विभिन्न खालका समस्याहरु आउँछन्,” महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी प्रकाश अर्यालले भने, “उपत्यकाभित्र चल्ने माइक्रो बसले मनोमानी तरिकाले उल्टो सिट राखेर यात्रुलाई कोच्ने गरेका कारण माइक्रोमा यात्रा गर्ने यात्रुलाई निकै कष्ट भएको थियो, अब यसको अन्त्य हुँदैछ ।”
चालकभन्दा पछाडि महिलालाई सिट छुट्याइएको हुन्छ । ३–४ जना अट्ने सिटको अघि फलामको डण्डी राखेर त्यतिनै मानिस राखेर माइक्रोले यात्रुलाई जबर्जस्ती यात्रा गराइरहेको पाइएपछि कारवाहीको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
“यसरी यात्रा गर्दाको समस्या मात्र हैन, आमुन्ने सामुन्ने जुधेर बस्नुपर्दा श्वासप्रश्वासबाट सर्ने रोग समेत सर्न सक्छ,”डीआइजी अर्यालले भने ।
ट्राफिक प्रहरीका अनुसार माइक्रो चालकले १० जनाको क्षमता भएको माइक्रोमा १८ देखि २० जनासम्म यात्रु राख्ने गरेका छन् ।
तस्बिर, सिताराम हाछेथु, प्रहरी निरीक्षक