site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । 
नामः काजीमान तामाङ
ठेगाना: हेम्जा–१ कास्की
पेसा : नर्वेमा र्याफ्टिङ गाइड 
कसुर : नर्वे लगिदिन्छु भन्दै ९ जनालाई ठगी

नर्वे जान भन्दै ठीक्क परेका खोटाङका दिनेश राईले प्रहरी कार्यालय धाउन थालेको एक वर्ष बित्यो । प्रहरी कार्यालय धाइरहे पनि उनको गुनासो सुनुवाइ भएको छैन  । दुई पटक वैदेशिक रोजगार विभाग पनि गए । एक पटक बौद्ध प्रहरी चौकी गए । पटकपटक महानगरीय प्रहरी परिसर काठमाडौं धाए । तर, पनि उनको गुनासो सुनुवाइ भएको छैन । 
‘प्रहरीबाट केही हुँदैन’ भन्दै दिक्क मानेर बसेका राईलाई उनीसँगै ठगिएका सिन्धुपाल्चोकका धनकुमार राईले अपराध महाशाखामा गएर कारबाही प्रक्रिया अघि बढाउने सुझाव दिए । त्यसपछि उनीहरू पुगे टेकुस्थित महाशाखामा । 
नर्वेमा र्याफ्टिङ गाइडको काम गर्ने काजीमान तामाङले धनकुमार राई र दिनेश राईलाई मात्र होइन, उनीहरूसहित ९ युवालाई नर्वे लैजाने भन्दै ५ लाखका दरले रकम उठाएका थिए । उठाएको रकमले काठमाडौंको चुनदेवीमा घर बनाएर बसेका तामाङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्यो । 
सन् २००४ देखि नर्वेमा काम गर्दै आएका तामाङलाई नर्वेली सरकारले गएको वर्ष देश निकाला गरेको थियो । उनले नेपाल फर्केर ९ युवालाई ठगेर घर बनाएको प्रहरी अनुसन्धानबाट खुल्यो । 

यसरी फसे नौ युवा
भिजिटिङ भिसामा नर्वे लैजाने र कुकको तालिम दिलाइदिने भन्दै काजीमान तामाङले नर्वेबाट ‘इन्भिटेसन लेटर’ मगाए । ललितपुरमा रहेको नर्वेली दूतावासको कन्सुलरमा डकुमेन्ट फर्वाड गर्न लगाए । डकुमेन्ट फर्वाड भएपछि आधा रकम मागे । युवाहरुले पनि ढुक्क भएर दूतावासमार्फत प्रक्रिया गरेकाले ५ लाखका दरले रकम दिए । 
एम्बेसीमा अन्तर्वार्ता दिन जाने दश जना भए । दूतावास कर्मचारीले ती सबैको एउटै पत्र देखे । यो प्रक्रियामा ठगी हुन सक्ने अनुमान गरेका कर्मचारीले अनुसन्धान गर्दै जाँदा पत्र नक्कली भेटे । यतिञ्जेलसम्ममा तामाङ फोन बन्द गरी फरार भइसकेका थिए ।
९ जनाबाट ठगी गरेको रकम लिएर तामाङ काठमाडौंमा घर बनाउन थाले । तामाङले बौद्धका राजेश लामालाई प्रयोग गरी ठगी गरेको खुल्यो । ‘दश जनाको कोटा छ । ९ जना अन्य व्यक्ति खोज, एक जना तिमी जाऊ’ भन्दै तामाङले ९ जनाबाट लामामार्फत रकम उठाएका थिए । 
“एक वर्षसम्म तामाङलाई हामीले कहाँ पो खोजेनौँ, हामीलाई फसाएर घर बनाउन थालेको रहेछ,” महानगरीय अपराध महाशाखा पुगेका पीडित धनकुमार राईले भने, “नर्वे जाने रहरले ब्याजमा ऋण निकालेर दिइयो । उसले घर बनाएछ आफ्नो भने बिल्लीबाठ भयो ।”
महाशाखा पुगेका राजेशले बाह्रखरीसँग भने, “तामाङ मेरो पुरानो साथी हो, नर्वे जाने–आउने गथ्र्यो, उताबाट देश निकाला गरिएको रहेछ, मलाई त्यो कुरा थाहा भएन । नौ जना खोज, एकजना तिमी आफैँ जाऊ, नर्वेमा मालामाल पैसा कमाइन्छ भनेर गफ दियो । घर बनाउने पैसा उठाउन मलाई प्रयोग गरेको रहेछ । आज हामीलाई चाहिँ घर न घाटको बनाइदियो ।”
तामाङको ठगी गर्ने तरिका निकै चलाखीपूर्ण भएको महानगरीय अपराध महाशाखा ठगी छानबिन शाखाका इञ्जार्च प्रहरी निरीक्षक गोविन्द पन्थी बताउँछन् । “नक्कली कागजपत्र देखाएर एम्बेसीमा प्रक्रिया गर्न लगाएछ, साँचो रहेछ भनेर केटाहरूले ढुक्कले पैसा दिए,” पन्थीले भने, “नक्कली कागजपत्र देखाएर रकम उठाएर फरार हुनेहरुको बिगबिगी छ ।”
विदेश भन्दैमा आँखा चिम्लेर रकम दिन नहुने प्रहरी निरीक्षक पन्थी सुझाउँछन् । भन्छन्, “पैसा दिनुअघि राम्रोसँग बुझ्नुपर्छ । पैसा खर्च गर्दैमा विदेश पुगिन्छ भन्ने छैन ।”

यसरी फस्छन् नर्वेको नाममा
भिजिटिङ भिसामा नर्वे लैजाने र कुकको तालिम दिलाइदिने भन्दै काजीमान तामाङजस्ता अन्य दलालले पनि नर्वेबाट ‘इन्भिटेसन लेटर’ मगाउँछन् । नर्वेली दूतावासको कन्सुलरमा डकुमेन्ट फर्वाड गर्न लगाउँछन् । डकुमेन्ट फर्वाड भएपछि आधा रकम माग्छन् । दूतावासबाट प्रक्रिया गरेका कारण ढुक्क भएर युवाहरु नर्वे जान पाइने भइयो भन्ने सोचेर आँखा चिम्लेर पैसा बुझाउँछन् ।   
दूतावासमा अन्तर्वार्ता दिन जाँदा त्यहाँका कर्मचारीले एउटै पत्र देखेपछि नक्कली भएको अनुमान गर्छन् । कागजात नक्कली प्रमाणित भएपछि नर्वे जाने सपना चकनाचुर हुन्छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७३  १७:११
प्रतिक्रिया दिनुहोस्