काठमाडौं । गत भदौ १२ गते दिउँसो साढे १ बजे बा ५१ प १२१ नम्बरको रातो ‘आर वान फाइभ’ मोटरसाइकलले त्रिवि शिक्षण अस्पतालअगाडि बाटो काट्दै गरेका तुलबहादुर गुरुङलाई ठक्कर दियो । तीव्र गतिमा रहेको मोटरसाइकलको नम्बर कसैले याद गर्नै भ्याएनन् । सडकमा बजारिएका तुलबहादुरलाई उपचारका लागि शिक्षण अस्पताल लगियो ।
भागेको मोटरसाइकलका बारेमा महानगरीय ट्राफिक महाशाखामा रिपोर्ट गरियो । तर, मोटरसाइकलको रंगबाहेक अरु केही याद थिएन प्रत्यक्षदर्शीलाई । ट्राफिक प्रहरीले त्यो दिनको सीसीटिभी फुटेज हेर्यो, तर केही पत्ता लागेन । सीसीटिभी फुटेजबाट लिइएका २० वटा रातो रंगका ‘आर वान फाइभ ५’ मोटरसाइकलको फोटो बोकेर ट्राफिक महाशाखाको टोली यातायात व्यवस्था विभाग पुग्यो ।
त्यहाँ पनि पत्ता लागेन । त्यसपछि टोली आर वान फाइभ मोटरसाइकल बेच्ने कम्पनी यामाहा पुग्यो । कम्पनीले डिलरमा पठायो । डिलरमा रातो रंगको आर वान फाइभ किन्नेहरूको विवरण हेरियो । २० दिनको अनुसन्धानपछि मोटरसाइकलको नम्बर प्लेट खुल्यो । तर, त्यो मोटरसाइकल कता छ भन्नेबारेमा कुनै सूचना प्रहरीले पाएन ।
अनुसन्धान गर्दै जाँदा ठक्कर दिएर भाग्ने मोटरसाइकल काठमाडौंको मध्य बानेश्वरमा बस्ने बाँकेकी सृजना सिंहको घरमा भेटियो । मोटरसाइकल चालक मोहित बस्नेत भने नेपालगन्जतिर भागिसकेका रहेछन् । बस्नेतकी आफन्त सिंहले पीडित गुरुङलाई एक लाख रुपैयाँभन्दा बढी दिएकी रहिछन् ।
अर्को घटना हो बाँसबारीको । मंसिर ४ गते बाँसबारीस्थित गंगालाल अस्पतालअगाडि बा ६८ प ६१ नम्बरको स्कुटरलाई बा ६८ प १००१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर भाग्यो । स्कुटर चालक गणेश गुरुङ घाइते भए । प्रत्यक्षदर्शी र सीसीटिभी फुटेजका आधारमा ट्राफिक प्रहरीले करिब एक सातापछि चालकलाई पक्राउ गरी पीडितलाई क्षतिपूर्ति दिलायो ।
गत असोज १ गते काठमाडौंको बौद्ध टुसालमा बा ५६ प ९३०२ नम्बरको मोटरसाइकलमा सवार प्रेमप्रसाद श्रेष्ठलाई बा ७४ प ३९१५ नम्बरको स्कुटरले ठक्कर दियो । मोटरसाइकल चालक श्रेष्ठको खुट्टा भाँच्चियो । भागेको स्कुटरलाई ट्राफिक प्रहरीले एक महिनापछि बौद्धबाट नियन्त्रणमा लिएर घाइते श्रेष्ठको उपचारमा लागेको एक लाख ६० हजार रुपैयाँ क्षतिपूर्ति दिलाइदियो ।
ट्राफिकको भाषामा ‘हिट एन्ड रन’ भनिने यस्ता घटना काठमाडौंमा दैनिकजसो भइरहन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७२/०७३ मा ४४६ वटा यस्ता घटनाको उजुरी परेको थियो । तीमध्ये २२५ वटामात्र कारबाहीमा परे । १४० वटा सवारीसाधन अझै भेटिएका छैनन् ।
गएको साउन यतामात्र १८४ वटा सवारी साधनले ठक्कर दिएर भागेको महाशाखामा उजुरी परेको छ । यीमध्ये १४७ वटालाई प्रहरीले नियन्त्रणमा लिएर पीडितलाई क्षतिपूर्ति दिलाएको छ । ५७ वटा सवारी खोजीमै छन् ।
“तीव्र गतिमा दौडिने र ठक्कर दिएर भाग्नेको संख्या बढेको छ,” महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्याल भन्छन्, “दुर्घटना गराएर भाग्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन धेरै चरण पार गर्नुपर्छ । ठक्कर दिएर भाग्नेलाई पनि र घाइतेलाई अस्पताल पुर्याउनेलाई पनि कारबाही हुने कानुनी व्यवस्था सच्याउनुपर्छ ।” दुर्घटना गराएर भाग्ने सवारी चालकलाई कडा कारबाही नभएसम्म यो समस्या यथावत् रहने उनको भनाइ छ ।
अर्याल गुनासो गर्छन्, “ठक्कर दिएर भागेको सवारीसाधन नियन्त्रणमा लिन कम्ता दुःख छैन । सडकमा पर्याप्त सीसीटिभी छैनन्, भएकाबाट पनि भिडियो स्पष्ट आउँदैन । अझ ठक्कर दिएर भाग्ने सवारी तीव्र गतिमा हुने भएकाले उनीहरूको दृष्य स्पष्ट हुँदैन । ट्राफिकलाई अनुसन्धान गर्न निकै मुस्किल छ ।”
उपत्यकामा रातको समयमा काम गर्ने सीसीटिभी छैनन् । त्यसमाथि सडक बत्ती पनि नबल्दा ट्राफिकलाई भागेको सवारी पहिचान गर्न चुनौती हुने गरेको छ ।