
सप्तरी । सप्तरीमा सवारी दुर्घटनामा सोमबार (साउन २६) एक युवकको मृत्यु भएको छ । एक दम्पती घाइते छन् ।
शम्भुनाथ नगरपालिका–८, पोखरियास्थित भित्री सडकखण्डमा ट्याम्पो रिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ–२, कनकपटीका अन्दाजी २४ वर्षीय अजयकुमार चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा ट्याम्पो चालक शम्भुनाथ–८, पोखरियाका ४५ वर्षीय मणिलाल मण्डल र उनकी ४० वर्षीया पत्नी आशादेवी घाइते छन् । स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको ट्याम्पो रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । रासस