
काठमाडौं । नेपाली कांग्रेसको वाग्मती प्रदेश संसदीय दलको चुनाव आज हुँदै छ । २०७९ पुस १३ मा इन्द्र बानियालाई हराएर संसदीय दलको नेता निर्वाचित भएका तामाङ मंगलबार अविश्वास प्रस्तावबाट हटाइएका थिए ।
लामालाई हटाएपछि अर्को नेता चुन्न संसदीय दलको चुनाव हुन लागेको हो । आजको चुनावमा पनि वाग्मती प्रदेशको सभापति रहेका बानियालाई उनै तामाङले चुनौती दिने तय भएको प्रदेश सांसद गोविन्द लम्सालले जानकारी दिए ।
मंगलबार अविश्वास प्रस्तावमा निर्णय हुँदा बानियासहितको अविश्वास प्रस्तावका पक्षमा २२ र लामाको पक्षमा १५ सांसद उभिएका थिए । खुला रूपमा जाहेर गर्दा दबाब र प्रभावले काम गरेको भन्दै तामाङले गोप्य मतदानमा वास्तविक परीक्षण हुने बताएका थिए ।
लामा पक्षका सांसदहरूले चार मत बढिसकेको भन्दै लामा पुनः संसदीय दलको नेता निर्वाचित हुने दाबी गरेका छन् । संविधानअनुसार संसदीय दलको नेता फेर्दैमा सरकार फेरिने अवस्था नरहेको बुझेपछि सांसदहरूले लामालाई नै समर्थन गर्न लागेको उनीहरूको दाबी छ ।
बानिया पक्षले भने संसदीय दलको चुनावमा २२ मतबाट बढेर २५ मत पुग्ने दाबी गरिरहेको छ ।