site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सात हजार पाइला हिँड्नाले मात्र कसरी रोगको जोखिम कम गर्न सकिन्छ ?

काठमाडौं । पछिल्ला वर्षमा नेपाललगायत विश्वका धेरै देशमा क्यान्सर, मधुमेह र मुटुरोगको जोखिम तीव्र रूपमा बढेको छ । इन्टरनेसनल डाइबिटिज फेडरेसनले नेपालको कुल वयस्क जनसंख्यामध्ये ७.७ प्रतिशत मानिसमा मधुमेह भएको उल्लेख गरेको छ । यस्ता दीर्घकालीन रोगको मुख्य कारण सक्रिय जीवनशैली नअपनाउनु हो ।

धेरै मानिसमा शारीरिक गतिविधि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को निर्धारित मापदण्डभन्दा पनि कम छ । यसैबीच, मेडिकल जर्नल लान्सेटमा प्रकाशित एक रिपोर्टले धेरै आशा जगाएको छ ।

केही समयअघिसम्म विशेषज्ञ हल्का व्यायाम, योग र लामो दूरीसम्म हिँड्ने वा दौडने कार्यले धेरै स्वास्थ्य जोखिम कम गर्छ भन्ने विश्वास गर्थे । तर, हालैका दुई रिपोर्टमा दैनिक केवल सात हजार कदम हिँड्नाले धेरै दीर्घकालीन रोगको जोखिम कम गर्न सकिने दाबी गरिएको छ ।

यो सन्दर्भमा लान्सेटमा प्रकाशित रिपोर्टमा दैनिक सात हजार कदम हिँड्न किन जोड दिइएको छ ? विश्व स्वास्थ्य संगठनको मापदण्ड के हो ? दैनिक सात हजार कदम हिँड्नाले स्वास्थ्य समस्या कसरी र कति कम गर्न सकिन्छ ? धेरै हिँड्नाले के फाइदा हुन्छ ? र, कम हिँड्नु किन हानिकारक छ ? भन्ने विषय जान्नु महत्त्वपूर्ण छ ।

लान्सेटको प्रतिवेदनमा सात हजार कदम हिँड्नेबारे के जानकारी छ ?
‘डेली स्टेप्स एन्ड हेल्थ आउटकम्स इन एडल्ट्स : अ सिस्टमैटिक रिव्यु एन्ड डोज–रिस्पोन्स मेटा एनालिसिस’ शीर्षकमा लान्सेटमा प्रकाशित रिपोर्टमा एक लाख ६० हजार व्यक्तिमा गरिएका ५७ अध्ययनलाई उद्धृत गर्दै दैनिक मानवीय गतिविधिको विश्लेषण गरिएको छ । यसमा दैनिक सात हजार कदम हिँड्नु स्वास्थ्यलाई राम्रो राख्ने एक मापदण्ड अर्थात् बेन्चमार्क भएको पत्ता लाग्यो । यसले स्वास्थ्य लाभ लिनका साथै प्राप्त गर्न सकिने लक्ष्य पनि हो । विशेष गरी यदि यसको तुलना १० हजार कदमको बेन्चमार्कसँग गरिन्छ, जसलाई वैज्ञानिक अध्ययनमा ठोस प्रमाण छैनन् ।

यो अध्ययन अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीले गरेको हो । यसमा दैनिक सात हजार कदम गम्भीर स्वास्थ्य खतरा विशेष गरी क्यान्सर, डिमेन्सिया, र मुटुरोगहरूबाट जोगाउन प्रभावकारी छ भन्ने पत्ता लाग्यो । 

यो अध्ययनको नेतृत्व गर्ने युनिभर्सिटी अफ सिड्नीकी महामारी विशेषज्ञ मेलोडी डिङका अनुसार, यसले धेरै रोगको जोखिम कम गर्छ । यदि, कुनै रोग छैन भने पनि यो शारीरिक प्रणालीलाई फाइदा पुग्ने मापदण्ड हो । उनले दैनिक सात हजार कदमभन्दा कम हिँड्नाले केही स्वास्थ्य लाभ कम हुने भनेकी छन् । जबकि, सात हजार कदमभन्दा बढी हिँड्नाले ती स्वास्थ्य लाभ धेरै बढ्दैनन्, बरु केवल सानो वृद्धि मात्र हुन्छ ।

स्वास्थ्य जोखिम कम गर्न डब्ल्यूएचओको मापदण्ड के छ ?
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डमा स्वास्थ्य जोखिम कम गर्न हिँड्नेभन्दा पनि शारीरिक गतिविधि विशेष गरी व्यायाममा बढी जोड दिइएको छ । डब्ल्यूएचओले यसनिम्ति निर्देशनपनि जारी गरेको छ । वयस्कले हरेक हप्ता कम्तीमा १५० मिनेट मध्यम वा ७५ मिनेट तीव्र व्यायाम गर्नुपर्छ । यो जुनसुकै तरिकाले हुनसक्छ— पौडी खेल्ने, हिँड्ने, दौडने, साइकल चलाउने वा अरू कुनै । अर्थात्, डब्ल्यूएचओको मापदण्ड केवल हिँड्ने वा दौडनेमा सीमित छैन ।

के १० हजार कदमको मापदण्ड हावादारी हो ?
यो अध्ययनको नेतृत्व गर्ने डाक्टर डिङले १० हजार कदमको मापदण्ड स्वास्थ्य क्षेत्रमा निकै प्रचलित भएता पनि यो प्रमाणमा आधारित नभएको स्पष्ट गरिन् । १० हजार कदमको सिधा अर्थ हुन्छ हरेक दिन आठ किलोमिटर हिँड्नु । तर, यो मानिसको उचाइ, शारीरिक बनावट, हिँड्ने गति आदिमा निर्भर हुन्छ । यस्तो अवस्थामा सबैले १० हजार कदमको मापदण्ड पूरा गर्नेछन् र त्यसपछि स्वास्थ्य लाभ लिनेछन् भन्ने अपेक्षा गर्नु उचित होइन ।

हिँड्ने क्रममा लामो कदम र गति स्वास्थ्य गतिविधिका हिसाबले ठूलो कारक मानिन्छ । स्वास्थ्य लाभका निम्ति १० हजार कदमको मापदण्डको सुरुआत सन् १९६० को दशकमा एक मार्केटिङ अभियानका कारणले भएको  बताइन्छ । सन् १९६४ को टोक्यो ओलम्पिकको समयमा पेडोमिटर (कदमहरूको संख्या मापन गर्ने उपकरण) बनाउने एक ब्रान्ड म्यानपो–केईको लन्च भएको थियो । म्यानपो–केईको अर्थ हो, १० हजार कदम मापन गर्ने मिटर । यो ब्रान्डको नाम भाइरल भएपछि ओलम्पिकबाटै १० हजार कदमको स्वास्थ्य मापदण्डको चर्चा सुुरु भयो । र, हेर्दाहेर्दै यो एक अनौपचारिक दिशानिर्देश बन्यो । धेरै फिटनेस ट्रयाकर र एपले अझै पनि १० हजार कदमको लक्ष्यलाई नै मापदण्डका रूपमा देखाउँछन् ।

सात हजार कदमको मापदण्डमा स्वास्थ्य विशेषज्ञ के भन्छन् ?
लन्डनको ब्रुनेई युनिभर्सिटीका स्वास्थ्य विशेषज्ञ डा. डेनियल बेलीका अनुसार, यो नयाँ अध्ययन केवल एक मिथक हो । पाँच हजारदेखि सात हजार कदमलाई बढी यथार्थपरक र प्राप्त गर्न सकिने लक्ष्य मानिनुपर्छ । अस्ट्रेलियाको युनिभर्सिटी अफ मेलबर्नको सेन्टर फर हेल्थ, एक्सरसाइज एन्ड स्पोर्ट्स मेडिसिनका निर्देशक किम बेनेलको पनि यस्तै  धारणा छ । बेनेलका अनुसार,  १० हजार कदमको मापदण्ड प्रमाणमा आधारित छैन । अर्थात्, स्वास्थ्य लाभ प्राप्त गर्न १० हजार कदम नै हिँड्नुपर्छ भन्ने जरुरी छैन । कम कदम पनि फाइदाजनक हुन्छ । बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०५:४३
प्रतिक्रिया दिनुहोस्