काठमाडौं । चीनको राष्ट्रिय सुरक्षा निकायले दुर्लभ खनिज सामग्रीको तस्करीविरुद्ध कडाइ गरिरहेको जनाएको छ ।
यो घोषणा बेइजिङ र वासिङ्टनबीच अमेरिकी कम्पनीहरूलाई कम्प्युटर चिप र इलेक्ट्रोनिक्स उत्पादनका लागि यिनै सामग्रीहरू चीनबाट सहजै प्राप्त होस् भन्ने सहमति भएको केही हप्तापछि आएको हो ।
शुक्रबार सरकारी मिडिया ग्लोबल टाइम्समा प्रकाशित रिपोर्टअनुसार, राज्य सुरक्षा मन्त्रालयले विदेशी जासुसी र गुप्तचर निकायहरूले चिनियाँमूलका दुर्लभ धातुहरू पुनः प्याकेजिङ, पुनः लेबलिङ र सामान्य वस्तुहरूमा लुकाएर चोरी गर्न सहयोग गरिरहेको खुलाएको छ ।
केही अवस्थामा दुर्लभ खनिजहरू लुकाएर सोल्डर पेस्ट, सिरामिक टाइल्स, प्लास्टिकको सामान वा बोतलको पानीमा मिसाएर सामान्य वस्तु जस्तै घोषित गराएर निर्यात भइरहेको बताइएको थियो ।
जाँचअनुसार चिनियाँहरूले उच्चस्तरीय प्रविधि जस्तैः इलेक्ट्रिक सवारीसाधनको ब्याट्रीमा प्रयोग हुने सामग्रीहरूको निर्यातमा गरिएको नियन्त्रण उल्लंघन गर्न शिपिङ तथा डेलिभरी च्यानलहरूको दुरुपयोग गरिरहेका पत्ता लगाएका थिए ।
केही समय अघि रोयटर्सले थाइल्यान्ड र मेक्सिको हुँदै अमेरिकातर्फ दुर्लभ पृथ्वी खनिजहरू ट्रान्ससिपमेन्ट भइरहेको तथ्य सार्वजानिक गरेको थियो ।
चीनले सन् २०२५ को अप्रिलमा सात प्रकारका दुर्लभ खनिज तत्व र चुम्बकहरूलाई निर्यात नियन्त्रण गरिने सूचीमा राखेको र निर्यात लागि विशेष अनुमति जारी गर्दै आएको छ ।
हालै लागु गरिएको एक राष्ट्रिय ट्याकिङ प्रणालीले यस्ता वस्तुहरूको अन्तर्राष्ट्रिय कारोबार भइरहेको उजागर गर्ने प्रक्रिया सुरू गरेको पनि बताइएको छ ।
चीनले यो प्रक्रियालाई राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य भएको जनाएको छ र अमेरिकासँग व्यापार सम्बन्धलाई सन्तुलित बनाउन आग्रह गरेको छ । यसमा विशेषगरी सेमिकन्डक्टर निर्यातमा केही छुट दिएर पारस्परिक रूपमा सहयोग प्राप्त गर्न चाहेको बिषय पनि यसमा समावेश भएको बताइएको छ ।