site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकता : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई कम्युनिस्ट आन्दोलनको एकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले एकताको निम्ति सही नीति, सिद्धान्त र कार्यदिशा आवश्यक पर्ने बताए । नीतिबिनाको एकताको औचित्य नरहने जिकिर गरे । साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकता भएको बताए ।

नेपाल आज समाजवादी क्रान्तिको रूपान्तरणको युगमा रहेको र होसियारीपूर्वक अघि बढ्नुपर्ने खाँचो रहेको उल्लेख गरे ।

"एकताको निम्ति सही नीति, सही सिद्धान्त, सही कार्यदिशा आवश्यक पर्दछ । नीतिबिनाको एकता सम्भव हुँदैन । के नीतिमा हामी एकताबद्ध हुन्छौँ, कस्तो कार्यदिशा र सिद्धान्तको आधारमा एकताबद्ध हुन्छौँ भन्नेकुरामा चिन्तनमनन गरेर साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्नु आजको आवश्यकता हो," उनले भने । 

खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्