
काठमाडौं । अर्घाखाँचीमा श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका–३, शिस्रेका ३८ वर्षीय रामु कुमाललाई श्रीमती मेखमायाले हत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुुर मल्लका अनुुसार, आइतबार (असार १) राति सुतिरहेका आफ्ना श्रीमान्लाई २७ वर्षीया मेखमायाले दाउ प्रहार गरेर हत्या गरेका हुन् ।
प्रहरीले हत्याका आरोपी मेखमायालाई बिहान नै पक्राउ गर्न सफल भएको छ । उनले हत्या स्वीकार गरिसकेकी छन् । सुतिरहेका श्रीमान्को टाउकोमा दाउ प्रहार गरेर हत्या गरेकी थिइन् । प्रहरीको अनुसन्धानका क्रममा तनहुँकी मेखमाया र रामु कुमालको बिहे गएको चैत महिनामा मात्रै भएको थियो ।
दुवैजनाको यो दोस्रो विवाह थियो । तर, विवाहदेखि नै मनमुटाव हुँदै आएका मेखमायाले भने आइतबार बिहान श्रीमान्को हत्या गरेका हुन् । प्रहरीको अनुसन्धानका क्रममा उनीहरूबीच शारीरिक सम्बन्धका कारण मतभेद हुँदै आएको र त्यही विषयमा विवाद हुँदा घटना हत्यासम्म पुगेको हो ।
‘‘आफ्नो चाहना नहुँदा समेत श्रीमान्ले पटक–पटक सम्बन्ध राख्न खोज्नु हुन्थ्यो । राति सुत्न पनि दिनुहुँदैन थियो । त्यही विषयमा विवाद भएको हो । पहिला श्रीमान्ले मलाई मार्छु भनेर दाउ ल्याउनु भयो । तर, सुतेपछि मैले टाउकोमा प्रहार गरेर हत्या गरे,’’ पक्राउ परेकी मेखमायाले प्रहरीसित भनिन् ।
प्रहरीले मेखमायाको साथबाट हत्या गर्न प्रयोग भएको दाउ समेत बरामद गरेको छ ।