
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडीएल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तथा ऋणीलाई कर्जा तिर्न ३५ दिन समय दिएको छ ।
समितिको कार्यालयलले सूचना प्रकाशित गरी सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी र जमानिकर्तालाई ऋण चुक्ता गर्न भनेको हो । तोकिएको समयभित्र दायित्व भुक्तान नगरे बैंक खाता, राहदानी र अचल सम्पत्ति रोक्का गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
सहकारी रकम अपचलन मुद्दालगायत अन्य कानुनी कारबाही अघि बढाउने कार्यालयले चेतावनी दिएको छ । बचतकर्ता सदस्य र साहुहरूलाई लिनुपर्ने रकम माग दाबी गर्न भनेको छ ।
यसअघि समितिको कार्यालयले वचतकर्तालाई ३५ दिनभित्र अनलाइनमार्फत रकम दाबी गर्न भनेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आईडीएल यमुना सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समितिलाई लेखी पठाएको थियो ।
सोहीअनुसार समितिको कार्यालयले ऋण असूलीका साथै दायित्व भुक्तानीको प्रक्रिया अघि बढाएको छ ।
आईडीएल यमुना हाम्रो सहकारीमा ३० हजारभन्दा बढी बचतकर्ताको आठ अर्ब रुपैयाँ बचत रहेको छ । सहकारी समस्याग्रस्त घोषणा भएपछि बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा छ । वचतकर्ताको भुक्तानी भएको छैन ।
आईडीएल युमना आधा दर्जन सहकारी गाभिएर बनेको संस्था हो । २०८० असारमा हाम्रो सगरमाथामा आईडीएल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था एक आपसमा गाभिएर (मर्ज) गरेर आईडीएल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका नाममा कारोबार गर्न सहकारी विभाबाट स्वीकृति लिएका थिए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रहेका आईडीएल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती थिए । सहकारीको बचत हिनामिना गरेर फरार भएका उप्रेतीलाई गत असारमा प्रहरीले पक्राउ गरेको थियो । उनी हाल प्रहरी हिरासतमा छन् ।
उप्रेती नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिव समेत थिए । बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले उनलाई जिम्मेवारीबाट हटाएको थियो ।