
काठमाडौं । लगानी बोर्डले भारतीय साझेदारीमा नेपालमा खाने तेल उद्योग स्थापना गर्न दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको लगानी बोर्डको ६४औँ बैठकले भारतीय लगानीमा खाने तेल उद्योगको स्थापनाको काम प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
भारतको विनायक आयल इन्डस्ट्रिजले नेपाली व्यवसायी राइसा टिबडेवालासँगको साझेदारीमा साढे ६ अर्ब रुपैयाँ लगानीमा खाने तेल उद्योग सञ्चालन गर्न लागेको छ ।
विनायक आयलको तर्फबाट नेपाली व्यवसायी टिबेडवालले लगानी बोर्डमा उद्योग स्थापनाका लागि प्रस्ताव पेस गरेका थिए । उद्योग पूर्वाधार बनाउन ६ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित उद्योगमा बहुमत स्वामित्व भारतीय कम्पनी विनायक आयलको हुने भएको छ । नेपालमा स्थापना हुने उद्योगमा विनायक आयलको ६७ प्रतिशत र बाँकी ३३ प्रतिशत टिबडेवालको स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ ।
तेल उद्योग मधेस प्रदेशको राजधानी जनकपुरमा खोल्न लागिएको छ । प्रस्तावित तेल उद्योगमा लगानी गर्ने विषयमा विनायक र टिबडेवालाबीच आपसी समझदारी (एमओयू) भइसकेको छ । उद्योगले नेपालमा तेल उत्पादन गरेर भारतमा निर्यात गर्ने लक्ष्य लिएको छ ।
विनायकले आगामी सन् २०२९ देखि उद्योग सञ्चालनमा ल्याउने योजना बोर्डमा पेस गरेको छ । काम सुरु गरेको चार वर्षभित्र तेल उत्पादन थाल्ने योजना उद्योगको छ । नेपालमा हाल २७ खाने तेल उद्योग सञ्चालनमा छन् । ती उद्योगमा ५५ अर्ब रुपैयाँ लगानी भएको नेपाल वनस्पति घिउ तेल उत्पादक संघले जनाएको छ ।
देशका विभिन्न स्थानमा पाम आयल, सनफ्लावर, सोयाबिन र तोरी प्रशोधन गर्ने उद्योग सञ्चालनमा छन् । नेपालबाट निर्यात वस्तुमा सबैभन्दा शीर्ष स्थानमा खाने तेल रहेको छ । तेल उत्पादनमा ठूला व्यावसायिक घरनाको लगानी छ ।
नेपालमा तेल उत्पादनका लागि कुनै पनि कच्चा पदार्थ पर्याप्त मात्रामा उत्पादन हुँदैन । नेपालले इन्डोनेसिया, युक्रेन, रसिया, मलेसियालगायत विभिन्न देशबाट सनफ्लावर, तोरी, पाम र भटमासजस्ता कच्चा तेल आयात गरी नेपालमा प्रशोधन गर्दै आएका छन् । तेल उत्पादनमा केएल दुगड, त्रिवेणी, शिवशक्तिलगायत ग्रुपको ठूलो लगानी छ ।