
काठमाडौं । नेपालकै अग्रणी डिजिटल भुक्तानी सेवाप्रदायक फोनपेले ‘फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’ सार्वजनिक गरेको छ । देशभरका विश्वविद्यालयस्तरीय विद्यार्थीहरूलाई लक्षित गर्दै ल्याइएको यो कार्यक्रमले डिजिटल साक्षरता, फिनटेकमा नवीनता र सामाजिक प्रभावमा युवाहरूलाई सशक्त बनाउने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको एक विशेष पाटो ‘टाइम टु टिच ब्याक’ रहेको कम्पनीले जनाएको छ । यसको माध्यमबाट सहभागी विद्यार्थीहरूलाई आफ्ना अभिभावक र समुदायका वृद्ध सदस्यहरूलाई डिजिटल वित्तीय सेवा प्रयोग गर्न सिकाउन प्रोत्साहित गरिने कम्पनीको भनाइ छ । यसले पुस्ताबीचको डिजिटल दूरी घटाउन सघाउने अपेक्षा गरिएको छ ।
देशभरबाट १७० भन्दा बढी टिमले आवेदन दिएका थिए । तीमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ७५ टिम, अर्थात् १५० विद्यार्थी छनोटमा परेका छन् । उनीहरूले आफ्ना कलेज तथा प्रदेशको प्रतिनिधित्व गर्दै आठ हप्तासम्म चल्ने यो यात्रामा संलग्न हुनेछन् ।
कार्यक्रमको अवधिमा विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन गर्ने, आफ्ना कलेज तथा समुदायमा सचेतना अभियान सञ्चालन गर्ने, वृद्ध पुस्तासँग सहकार्य गर्दै डिजिटल समावेशिता फैलाउने र नेपालकै अग्रणी फिनटेक कम्पनी एफवानसफ्ट ग्रुपमा इन्टर्नसिपको अवसर समेत पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“हामी युवाको शक्ति र परिवर्तन ल्याउने क्षमतामा विश्वास गर्छौं । स्टुडेन्ट एम्बेसडर कार्यक्रममार्फत हामी विद्यार्थीहरूलाई डिजिटल संसारमा सफल हुन आवश्यक उपकरण दिन चाहन्छौँ,” फोनपेकी मार्केटिङ प्रमुख सलिना नकर्मीले भनिन्, “उनीहरूले सिकेको ज्ञान आफ्ना पुराना पुस्तासँग बाँडून् भन्ने हाम्रो चाहना हो । यो नेतृत्व निर्माणको अभियान हो, जसले अरूलाई पनि अगाडि बढाउँछ ।”
छनोटमा परेका विद्यार्थीहरू काठमाडौं उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न कलेजबाट आएका छन् ।