-1743324048.jpg)
काठमाडौं । नीति तथा कार्यक्रममा समावेश विषयलाई बजेटमार्फत सम्बोधन गर्न सांसदहरूले सरकारलाई सुझाव दिएका छन् । उनीहरूले नागरिकमा विश्वास पैदा गर्ने गरी काम गर्न आग्रह गरेका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनीहरूले नीति तथा कार्यक्रम र वार्षिक बजेटबीच समन्वय हुनुपर्ने बताए ।
एमाले सांसद ठाकुरप्रसाद गैरेले छलफलका क्रममा आएका सुझाव समेत समेटेर नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिए । नागरिकका आकांक्षा पूरा गर्न नसक्दा सरकार र व्यवस्थाप्रति प्रश्न उठ्न थालेको भन्दै उनले जनताले राज्यबाट बलियो आडभरोसा खोजेको बताए । संघीयता बलियो बनाउने गरी विधेयक अघि बढाउन उनले सुझाव दिए ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संविधान संशोधनका बारेमा नीति तथा कार्यक्रममा ठोस कार्ययोजना प्रस्तुत नगरेको उल्लेख गरे । उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।
माओवादी सांसद महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीयको भूमिकाको आधार सरकारको नीति तथा कार्यक्रममा नरहेको बताए । यसले संघीयतालाई कमजोर बनाउने खतरा बढाएको उनले जिकिर गरे । उत्पादनशील क्षेत्रमा लगानी, रोजगारी सिर्जनाका साथै आयात प्रतिस्थापनका लागि ठोस कार्यक्रमको समेत अभाव देखिएको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले विगतमा पटकपटक दोहोरिएका नीति तथा कार्यक्रमका योजना हालसम्म लागु नभएको बताए ।